काठमाडौं– रुसले कृष्ण सागरस्थित नौसैनिक आधारको सुरक्षा गर्न डल्फिन तैनाथ गरेको विवरण सार्वजनिक भएको छ ।
युनाइटेड स्टेट्स नेभल इन्स्टिच्युट (यूएसएनआई) ले तयार पारेको एक प्रतिवेदनमा रुसी नौसेनाले क्राइमिया प्रायद्वीपको सेभास्टोपोल नौसैनिक अड्डामा दुईवटा सैन्य डल्फिन राखेको उल्लेख छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २४ फेब्रुअरीमा घोषणा गरेको ‘विशेष सैन्य कारवाही’ थालेयता डल्फिनलाई त्यहाँ सारिएको जनाइएको छ ।
डल्फिनलाई युक्रेनी विशेष बलविरुद्ध ‘काउन्टर–डाइभर अपरेसन’ को लागि रुसले प्रयोग गर्न सक्ने युएसएनआईले जनाएको छ ।
युक्रेनी विशेष फौजले बन्दरगाहमा क्षति पुर्याउन सक्ने अनुमानमा डल्फिन परिचालन गरिएको बताइएको छ ।
रिपोर्टअनुसार सेभास्टोपोल बन्दरगाहमा धेरै रूसी नौसेना युद्धपोतहरू तैनाथ गरिएका छन् । यसअघि उत्तरी जलसेनाको आधारमा रुसले बेलुगा ह्वेल र सिलहरू राखेको दाबी गरिएको थियो । बेलुगा ह्वेलहरू ‘समुद्री जासुसी’ को रुपमा प्रयोग हुन्छन् ।
सन् २०१८ मा सिरियाली युद्धका क्रममा रुसले तारतुसको नौसेना आधारमा पनि डल्फिन प्रयोग गरेको बताइएको थियो ।
प्रतिक्रिया