विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१२ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज १२ भदौ, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार अगष्ट २८, २०२२ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन्:

भारतीय नवनियुक्त प्रधानन्यायाधीशद्वारा सपथ ग्रहण

भारतका नवनियुक्त प्रधानन्यायाधीश उदय उमेश ललितले सपथ ग्रहण गरेका छन् ।

तत्कालीन प्रधानन्यायाधीश एनभी रमणले अवकाश पाएको भोलिपल्ट उनले सपथ ग्रहण गरेका हुन् ।

उनलाई राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रपति भवनमा सपथ गराएकी थिइन् । यससँगै उनी भारतको ४९ औँ प्रधानन्यायाधीश बनेका छन् ।

उनको कार्यकाल आगामी नोभेम्बर ८ सम्म मात्रै रहने भएको छ । झण्डै तीन महिने कार्यकालमा उनले तीन कामलाई प्राथमिकता दिने बताए ।

अवकाश प्राप्त प्रधानन्यायाधीशलाई बिदाई गर्न आयोजित कार्यक्रममा नवनियुक्त प्रधानन्यायाधीश ललितले मुद्दालाई सरलीकृत गर्ने, छिटो छिटो टुङ्ग्याउने र पारदर्शी बनाउने जानकारी दिएका थिए ।

उनी न्यायाधीश हुनु अघि भारतमा चर्चित अधिवक्ता थिए । अधिवक्ता मध्येबाट न्यायाधीश हुँदै प्रधानन्यायाधीश हुने उनी दोस्रो व्यक्ति हुन् ।

बलात्कारीलाई रिहा गरेको भन्दै प्रदर्शन

मुस्लिम महिला बिल्किस बानोलाई सामूहिक बलात्कार गरेको आरोपमा आजीवन कारावासमा परेका ११ जनालाई रिहा गर्ने सरकारको निर्णयको विरोधमा भारतभर विरोध प्रदर्शन भएको छ । सन् २००२ मा गुजरात राज्यमा भएको धार्मिक दंगामा उनको परिवारका १४ सदस्यको पनि मृत्यु भएको थियो ।

ती पुरुष १५ वर्षको जेल सजायपछि रिहा भएका थिए । महिला र पुरुषले बलात्कारीलाई रिहा गर्ने निर्णय फिर्ता लिन सरकारलाई आग्रह गर्दै नाराबाजी गरेका थिए ।

भारतीय फिल्म स्टार र महिला अधिकार अभियानकर्ता शबाना आजमीले राजधानी दिल्लीमा एएफपीसँग भनिन, ‘बिल्किस बानो र उनको परिवारलाई जे भयो त्यो हामीले हेर्न सक्दैनौँ ।’

प्रदर्शनमा विद्यार्थीहरूको पनि सहभागिता छ । ‘यो कुरूपता र पितृसत्ता यति बढेको छ र यो बिन्दुमा सामान्य बनाइएको छ कि अब बलात्कार मानिसहरूको लागि सामान्य छ’, विद्यार्थी प्रदर्शनकारी अदितीले भनिन् ।

१०० भन्दा बढी सेवा निवृत्त निजामती कर्मचारीहरूले भारतका प्रधानन्यायाधीशलाई पत्र लेखेर बलात्कारीहरूको रिहाइले सबै महिलाहरूको सुरक्षामा नकारात्मक प्रभाव पार्ने जनाएका छन् । भारतले आफ्नो स्वतन्त्रताको ७५ औँ वर्षगाँठ मनाउँदै गर्दा गुजरात सरकारले १५ अगस्टमा दोषीहरूलाई रिहा गर्ने निर्णय गरेको थियो ।

एउटा भाइरल भिडियोमा गोधरा जेलबाहिर पुरुषहरू लाइनमा बसेका देखिएका छन् भने आफन्तहरूले उनीहरूलाई मिठाई दिएर सम्मान प्रकट गर्न खुट्टा छोएका छन् ।

इजिप्टमा बेहुली पढ्ने विद्यालयमा आगजनी गरेको आरोपमा एक जना पक्राउ

बेहुली पढ्ने विद्यालयमा आगजनी गरेको आरोपमा इजिप्टमा एक जनालाई पक्राउ गरिएको छ । बेहुलीले यस वर्षको परीक्षामा अनुत्तिर्ण हुने थाहा पाएपछि विद्यालयको कन्ट्रोल रुममा आगो लगाउने २१ वर्षीय युवक पक्राउ परेका हुन् ।

इजिप्टको राजधानी कायरोको उत्तरमा रहेको मेनुफिया प्रान्तमा ती व्यक्ति पक्राउ परेका हुन् । दोषीलाई प्रहरीले जेल चलान गरेको छ र घटनाबारे अनुसन्धान भइरहेको छ ।

विद्यालयमा लगाइएको आगलागीमा कोही पनि हताहत नभएको प्राप्त विवरणहरूमा जनाइएको छ । बेहुली फेल भएमा अर्को शैक्षिक सत्रमा अध्ययन गर्नुपर्ने र आफ्नो विवाह एक वर्ष स्थगित हुने भएपछि आफू आगजनीमा उत्रिएको ती युवकले बताएका छन् ।

दमकलले छिट्टै आगो निभाउन सफल भए पनि प्रधानाध्यापकको कार्यालय र केन्द्रीय प्रशासनिक भवनमा ठूलो क्षति भएको छ । आगजनीमा विद्यालयका कागजात पनि जलेर ध्वस्त भएका छन् ।

लिबियामा हिंसा अन्त्य गर्न राष्ट्रसंघको आह्वान

लिबियाको राजधानी त्रिपोलीमा राजनीतिक गुटहरूबीचको घातक झडपको एक दिनपछि राष्ट्रसंघले हिंसा अन्त्य गर्न आह्वान गरेको छ ।

झडपका क्रममा कम्तीमा २३ जनाको मृत्यु र दर्जनौं घाइते भएका त्रिपोलीको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेमा युवा हास्य कलाकार मुस्तफा बराका पनि रहेको एक अधिकारीले बताएका छन् । सन् २०११ मा नेटो समर्थित विद्रोहले तत्कालीन शासक कर्णेल मोमर गद्दाफीलाई अपदस्थ गरेपछि लिबिया अराजकतामा छ ।

राजधानीका विभिन्न स्थानमा आगलागी र विष्फोट भएका विवरण सार्वजनिक भएका छन् । हिंसामा अस्पतालहरू प्रभावित भएका छन् । भिडन्त भएको वरपरका क्षेत्रबाट मानिसहरू विस्थापित भएका छन् ।

पकिस्तानमा आएको बाढीबाट मृत्यु हुनेको संख्या १ हजार नाघ्यो

पाकिस्तानका विभिन्न भागमा परेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी एक हजारभन्दा बढीको ज्यान गएको छ भने सयौँ घाइते भएका छन् । बाढीपहिरोका कारण दशौँ हजार विस्थापित भएका छन् ।

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार पाकिस्तानमा बितेका दुई महिनामा वर्षाजन्य दुर्घटनामा परेर हालसम्म एक हजार ३३ जनाको मृत्यु भएको छ भने एक हजार पाँच सय २७ जना घाइते भएका छन् । पछिल्लो २४ घण्टामा एक सय १९ जनाको ज्यान गएको तथा ७१ जना घाइते भएका छन् ।

बलुचिस्तान, गिल्गिट बाल्टिस्तान, खैबर पख्तुनख्वा र सिन्ध प्रान्त बाढीपहिराबाट अति प्रभावित भएका छन् । बाढीपहिराले तीन हजार चार सय ५१ किलोमिटर सडक बगाएको, एक सय ४९ पुल भत्काएको, एक सय ७० पसल बगाएको, नौ लाख ४९ हाजर आठ सय ५८ घरमा क्षति भएको तथा सात लाखभन्दा बढी चौपाया मरेका छन् ।

भारतमा दुई गगनचुम्बी भवन भत्काइयो

भारतमा गैरकानूनी रुपमा निर्माण गरिएका दुई गगनचुम्बी भवन भत्काइएको छ । भारतीय अधिकारीहरुले राजधानी नयाँ दिल्ली नजिक रहेको नोइडा क्षेत्रमा निर्माण गरिएका गगनचुम्बी भवन भत्काइदिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

यी गगनचुम्बी भवनको उचाइ १०३ मिटर अर्थात् ३३८ फिट रहेको जनाइएको छ । भवन भत्काउनका लागि ३ हजार ७ सय किलो विस्फोटक पदार्थको प्रयोग गरिएको थियो ।

विस्फोटनको १० सेकेण्डमा नै ती भवनहरु ध्वस्त भएको जनाइएको छ । भवन भत्काउने क्रममा नजिकै रहेका घरको छतमा बसेर स्थानीयहरुले चिच्याएर खुशीयाली मनाएका थिए ।

भारतको सर्वोच्च अदालतले गत वर्ष नोइडा क्षेत्रमा निर्माण गरिएका अवैध भवन भत्काउने आदेश जारी गरेको थियो । यी भवनहरुले अग्नि नियन्त्रणका लागि आवश्यक सुरक्षाका उपाय अवलम्बन नगरेको पाइएको थियो ।

भवन भत्काएसँगै आसपास कुनै क्षति भए÷नभएकोबारे छानबिन सुरु गरिएको प्रहरीले जनाएको छ । अवैधानिक रुपमा धेरै भवनहरुको निर्माण भएपनि भारतमा भवन ध्वस्त पार्ने यस्तो कार्य निकै दुर्लभ मात्रै हुने गरेको बताइन्छ ।

ती भवन भत्काउनु अघि सो क्षेत्रमा रहेका हजारौँ मानिसहरुलाई सुरक्षित स्थानतर्फ सारिएको थियो । नजिकैका केही भवनमा भने धुलो नपसोस् भन्नाका लागि प्लास्टिकले छोपिएको थियो ।

नोइडाको ‘एपेक्स’ र ‘केयन’ टावर नाम दिइएका ती भवन भत्काउने बेला सो क्षेत्रमा ट्राफिक प्रभावित भएको थियो भने भवन भत्काइसकेपछि धुलोको मुस्लो उडेको देखिन्थ्यो ।

अग्निनियन्त्रकहरुले भवन भत्केपछि उत्पन्न धुलो कम गर्न पानीको फोहोराको प्रयोग गरेका थिए । भवन भत्काइसकेपछि सो स्थानमा ८० हजार टनको भग्नावशेष मात्र बाँकी रहेको जनाइएको छ ।

पाकिस्तानले अमेरिकालाई ड्रोन उडाउन दिएको तालिबानको आरोप

अफगानिस्तानमा आक्रमण गर्नका लागि अमेरिकलाई चालहरहित हवाई उपकरण ड्रोन उडाउन पाकिस्तानले आफ्नो आकाशको प्रयोग गर्न छुट दिएको तालिबानले आरोप लगाएको छ ।

तालिबानका कायममुकायम रक्षामन्त्री मुल्लाह मोहम्मद याकुबले पाकिस्तानी हवाई क्षेत्रबाट अमेरिकी ड्रोनहरु अफगानिस्तानतर्फ आएको बताएका हुन् ।

‘हाम्रो सूचनाअनुसार पाकिस्तानबाट ड्रोनहरु अफगानिस्तानतर्फ आइरहेका छन्, उनीहरुले पाकिस्तानी हवाई क्षेत्रको प्रयोग गरिरहेका छन्, हामी पाकिस्तानलाई आग्रह गर्छौँ, हाम्राविरुद्ध आफ्नो हवाई क्षेत्रको प्रयोग गर्न नदिनुहोस् ।’ रक्षामन्त्री मुल्लाह याकुबलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

यसबारे पाकिस्तानी विदेश मन्त्रालयले कुनै टिप्पणी नगरेको रोयटर्सले जनाएको छ । गत महिनामात्रै अफगानिस्तानको राजधानी काबुलमा अमेरिकाले गरेको हवाई आक्रमणमा आतंकवादी संगठन अल कायदाका प्रमुख आयमन अल जवाहिरीको मृत्यु भएको थियो ।

तालिबानले आफूहरुको अनुसन्धानबाट अल कायदा प्रमुख जवाहिरीको शव फेला नपरेको जनाएको थियो ।

पाकिस्तानले उक्त आक्रमणमा आफ्नो संलग्नता नरहेको एवम् यसबारे आफूहरुलाई कुनै पूर्व सूचना नभएको बताउँदै आएको छ ।

पछिल्लो समय पाकिस्तान र अफगानिस्तानमा शासन चलाइरहेको तालिबानबीचको सम्बन्धमा खटपट उत्पन्न भएको विश्लेषणबीच तालिबानले पाकिस्तानमाथि पछिल्लो आरोप लगाएको हो ।

यसअघि तालिबानले पाकिस्तान सरकार एवम् पाकिस्तानमा सक्रिय तालिबान (तहरिक ए तालिबान पाकिस्तान टीटीपी) बीच वार्तामा मध्यस्थता गरिरहेको बताइएको थियो ।

यसबाहेक गत वर्षको अगस्ट महिनामा तालिबानले शासन कब्जा गरेयता आर्थिक संकटको भुमरीमा फसेको अफगानिस्तान आर्थिक रुपमा पनि पाकिस्तानमा धेरै निर्भर रहेको बताइन्छ ।

युक्रेनको आणविक उर्जा केन्द्र नजिकका शहरमा रुसी गोलाबारी

युरोपको सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्र रहेको स्थान नजिकका शहरमा रूसले व्यापक गोबाबारी गरेको छ । ड्निपर नदीको पारिपट्टिको क्षेत्रमा रूसले रकेट र तोप आक्रमण गरेको युक्रेनी अधिकारीहरूले बताएका छन् ।

आणविक ऊर्जा केन्द्र आसपासमा भएको आक्रमणबाट केन्द्रमा क्षति हुनसक्ने र त्यसले विकिरण चुहावट निम्त्याउन सक्ने चिन्ताले उनीहरूलाई सताएको छ । रूसी सेनाले युद्ध सुरु हुनेवित्तिकै जापोरिज्जिया आणविक ऊर्जा केन्द्रलाई नियन्त्रण लिएर नदी किनाराको क्षेत्र कब्जामा लिएको थियो । युक्रेनले निकोपोल र मार्हानेट्स शहरसहितका क्षेत्रमा आफ्नो नियन्त्रण कायम गरेको छ । ती स्थान ऊर्जा केन्द्रबाट करिब १० किलोमिटर टाढा छन् ।

शनिबार अबेर भएको भारी गोलीबारीले निकोपोलका केही भागमा विद्युत आपूति ठप्प भएको ड्निप्रोपेट्रोभस्क क्षेत्रका गभर्नर भ्यालेन्टिन रेज्निचेन्कोले बताएका छन् । करिब ४५ हजार सर्वसाधारणको बसोबास रहेको उक्त क्षेत्रका प्रशासन प्रमुख येभेन येभतुसेन्कोका अनुसार रकेट आक्रमणले मार्हानेतका एक दर्जन घरमा क्षति पुगेको छ ।

आणविक ऊर्जा केन्द्र करिब ४० किलोमिटर परको माथिल्लो भागमा रहेको जापोरिज्जिया शहरमा पनि राति भएको आक्रमणमा परी दुई जना घाइते भएको नगर परिषद्का सदस्य अनातोली कुर्तेभले बताए ।

पूर्वी युक्रेनलाई रूसी र युक्रेनका रुस समर्थित पृथकतावादी सेनाले नियन्त्रण लिन खोजिरहेका छन् । गोलाबारीले ठूला र रणनीतिक रूपमा महत्वपूर्ण शहर क्रामतोर्स्क र स्लोभियान्स्कमा आक्रमण गरेको छ तर कुनै हताहति नभएको डोनेट्स्क क्षेत्रका गभर्नर पाभ्लो किरिलेन्कोले बताएका छन् ।

डोनेट्स्क क्षेत्रको अधिकांश भाग रूसी र पृथकतावादी सेनाको कब्जामा छ । डोनेट्स्कलाई रूसले सार्वभौम राज्यको रूपमा मान्यता दिएको छ ।

कोरोना अपडेट

भारत, पाकिस्तान र मलेसियामा अघिल्ला दिनका तुलनामा कारोना सङ्क्रमण दर क्रमशः घट्दै गएको छ । यद्यपि तीनवटै देशमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्यामा भने वृद्धि भएको छ ।

भारत सरकारले आइतबार सार्वजनिक गरेको विवरणअनुसार बितेका २४ घण्टामा नौ हजार चार सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा एक सय ५७ जनाको मृत्यु भएको छ ।

भारतमा हाल ८६ हजार पाँच सय ९१ जना सक्रिय सङ्क्रमित छन् । सङ्क्रमणका नयाँ बिरामी थपिएसँगै देशभर कोभिड–१९ पीडितको सङ्ख्या चार करोड ४४ लाख आठ हजार एक सय ३२ पुगेको छ ।

यसैगरी भारतको छिमेकी पाकिस्तानमा सोही अवधिमा दुई सय ७० जना नयाँ सङ्क्रमित थपिएका छन् भने तीन जनाको मृत्यु भएको छ । पछिल्लो पटक त्यहाँ दुई सय ९० जना नयाँ सङ्क्रमित थपिएका थिए ।

पाकिस्तानमा कोरोना लागेर ज्यान गुमाउनेहरूको सङ्ख्या तीस हजार पाँच सय ७४ पुगेको छ । सिन्ध प्रान्त महामारीबाट सर्वाधिक प्रभावित भएको जनाइएको छ । यसपछि पञ्जाब प्रान्त सबैभन्दा बढी प्रभावित रहेको पाकिस्तानका अधिकारीहरूले बताएका छन् । पाकिस्तानमा एकसय १८ जना बिरामीको अवस्था गम्भीर छ ।

यसैबीच, मलेसियामा कारोना भाइरसका कारण पाँच जनाको मृत्यु भएको तथा दुई हजार चार सय ९१ जना नयाँ बिरामी थपिएका छन् । पछिल्लो २४ घण्टासम्मको विवरण सार्वजनिक गर्दै त्यहाँका स्वास्थ्य अधिकारीहरूले अझै पनि देशभर ३४ हजार पाँच सय आठ जना सक्रिय सङ्क्रमित रहेका बताएका छन् ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ७ : ५९ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०