जनकपुरधाममा सीताराम विवाह महोत्सव धुमधामसँग मनाइँदै | Khabarhub Khabarhub

जनकपुरधाममा सीताराम विवाह महोत्सव धुमधामसँग मनाइँदै


१२ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पौराणिक प्रचलनअनुसार मधेस प्रदेशको राजधानी जनकपुरधाममा आज सीताराम विवाह महोत्सव मनाइँदै छ । जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले विशेष महोत्सवका रूपमा विवाह महोत्सव मनाउने गरेका हुन् । महोत्सवमा सहभागी हुन अहिले लाखौँ श्रद्धालु भक्तजनले जानकी मन्दिरलगायत यहाँस्थित देवालयमा आज बिहानैदेखि पूजाअर्चना गरिरहेका मन्दिरका महन्थ रामतपेश्वर दासले बताए ।

उनका अनुसार सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासीले महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्यरूपमा उपस्थित हुने विश्वासले हर्ष र उल्लासका साथ प्रतिछायाँ जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुने गर्दछन् ।

मैथिल साहित्यकार डा राजेन्द्र विमल भन्छन्, “संस्कृतिअनुसार विवाह महोत्सव मनाइने क्रममा राम मन्दिर र जानकी मन्दिरबाट राम सीताको प्रतिमालाई सुसज्जित डोलीमा राखेर रङ्गभूमिमा लगी स्वयम्बर र परीक्षण विधि सम्पन्न गर्ने र जानकी मन्दिरमा ल्याएर विवाह संस्कार सम्पन्न गरिन्छ । सो अवसरमा निस्किने भगवानको डोला शोभायात्रामा सहभागी हुनेले महोत्सव दैवी विवाह भएको अनुभव गर्दै आफूलाई धन्य सम्झन्छन् ।”

राजर्षी जनक, जानकी र याज्ञवल्क्यको पुण्यभूमि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा बर्षेनि मार्ग शुक्ल पञ्चमीमा राम जानकी विवाहपञ्चमी मेला आयोजना गरिन्छ ।

आश्विन पूर्णिमाका दिन अयोध्याका राजा दशरथका जेठा छोरा श्रीरामचन्द्रले शिव धनुष उठाएर ताँदोमा बाण चढाउँदा भाँचिएपछि मार्गशुक्ल पञ्चमीमा राम जानकीको शुभविवाह भएको प्रसङ्ग सीतोपाख्यानमा उल्लेख छ । उक्त विवाह भएको खुसियालीमा सम्झनास्वरूप जनकपुरधाममा प्रत्येक वर्ष विवाह पञ्चमी पर्व मनाउने परम्परा रहेको हो ।

राम र जानकीको स्वयंवर भएको भनिएको रङ्गभूमि १२ बिघा मैदानमा विवाह पञ्चमीका दिन जनकपुरधामस्थित राम मन्दिरबाट जन्तीसहित भगवान् रामको डोला नगर परिक्रमा गर्दै ल्याउने र जानकी मन्दिरबाट बाजागाजा र लावालस्करका साथ जानकीको डोला लगेर स्वयंवर गरिन्छ । त्यसपछि दुबै डोला नगरको परिक्रमा गर्दै जानकी मन्दिरमा पुगी मिथिलाको संस्कृतिअनुसार वैवाहिक कार्यक्रम सम्पन्न गरिन्छ ।

त्रेता युगमा मिथिलाका राजा जनकले सीता स्वयंवर आयोजना गर्दा देशदेशान्तरका सयौँ राजा र राजकुमार उपस्थित हुन पुगेको ऐतिहासिक तथा पौराणिक मान्यता छ । अहिले पनि हिन्दूको आस्थाको केन्द्रका रूपमा रहेको जनकपुरधामलगायत भारतबाट आएका लाखौँ श्रद्धालु डोला नगर परिक्रमा, दर्शन तथा पूजापाठ गर्न उपस्थित हुन्छन् ।

जनकपुरधाममा हरेक महिनाको पूर्णिमाका दिन, चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम रामचन्द्रको जयन्ती मनाउन र वैशाख शुक्ल नवमीमा जानकी प्राकट्य महोत्सवका उपलक्ष्यमा पनि यहाँ मेला लाग्ने गर्दछ । त्यस्तै श्रावण शुक्ल तृतीयादेखि पूर्णिमासम्म झुला महोत्सव तथा फागुन शुक्लपक्षका बेला पन्ध्र दिवसीय मिथिला पञ्चकोसी परिक्रमा (जनकपुरधामदेखि पाँच कोशको दूरीमा रहेको जानकीको बाल लीलासित सम्बद्ध ठाउँहरूको परिक्रमा) तथा उक्त परिक्रमाको अन्त्यमा फागु पूर्णिमाका दिन जनकपुरधामको अन्तरगृह परिक्रमा पनि आयोजना गरिन्छ । ती सबै उत्सव र पर्वमध्ये राम जानकी विवाह महोत्सव भने बढी श्रद्धा, निष्ठा, उत्साहका र भव्यतापूर्वक मनाइन्छ ।

वैवाहिक समारोहको पूर्वाङ्गस्वरूप मार्गशुक्ल द्वितीयाका दिन अयोध्याबाट साधुसन्तसमेतको एउटा जन्तीको डफ्फा (बाराती समूह) लाई जनकपुरधाम आइपुगेपछि स्वागत गरिन्छ । अयोध्याबाट आउने जन्तीलाई यसअघि नै नेपाली सीमामा प्रवेश गर्नासाथ मटिहानी, जलेश्वर, पिपरा, लादोबेला र जनकपुरधाममा स्वागत गरिन्छ ।

तृतीया तिथिमा राममन्दिरमा जानकी मन्दिरबाट साधुसन्त र नगरका प्रमुखको उपस्थितिमा तिलकोत्सव (कुरा छिन्ने काम अर्थात् वाग्दान) सम्पन्न हुन्छ । त्यसको भोलिपल्ट चतुर्थी तिथिमा मिथिला परम्पराअनुसार कन्यापक्षका तर्फबाट गरिने ‘मटकोर’ कर्म गङ्गासागरमा पुगेर निर्वाह गरिन्छ । पञ्चमी तिथिमा राममन्दिरबाट श्रीरामचन्द्रको डोला बाजागाजाका साथ नगरपरिक्रमा गर्दै रङ्गभूमि मैदानमा पुग्दछ । त्यहाँ पहिलेदेखि नै जानकी मन्दिरबाट जानकी माताको मूर्ति सुसज्जित मण्डपका साथ मन्दिरका महन्त, साधुसन्त र समाजका प्रबुद्ध नागरिक सम्मिलित सरियाती दल (घरगाउँले समूह वा माइती पक्ष) द्वारा स्वागत अभिवादन गरिन्छ ।

त्यसपछि राम मन्दिरबाट पुगेको डोलालाई जानकी मन्दिरबाट पु¥याइएको मण्डपद्वारा पाँचपटक परिक्रमा गराएर श्रीरामचन्द्रलाई पुष्पहार अर्पण गरी राम मन्दिरबाट मण्डपतर्फका महन्थबाट जानकीलाई स्वयंवर गरिन्छ । स्वयंवरपछि राम मन्दिरको डोला लावालस्करका साथ राममन्दिर फर्कंन्छ र त्यसै रात वैवाहिक कार्यक्रम सम्पन्न हुन्छ ।

सीताराम विवाह पञ्चमीका अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आज शुभकामना सन्देश जारी गर्दै विवाह पञ्चमीका अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिइएको जानकारी दिए ।

सप्ताहव्यापी मनाइने विवाह महोत्सवको मुख्य दिन आज परेकाले प्रदेश सरकारले विगत वर्षजस्तै सार्वजनिक बिदा दिएको हो । विवाह महामहोत्सवमा आउने तीर्थयात्रीहरूको बसोबास तथा भीड व्यवस्थित गर्न विद्यालयहरूमा सार्वजनिक बिदा दिइएको छ ।

तीर्थयात्रीको सुविधाका लागि जनकपुरधाम जयनगर ब्रोडगेज रेल सेवालाई विस्तार गरेर आजदेखि तीन पटक सञ्चालनमा ल्याइएको छ । विवाह पञ्चमीको एक दिन अगाडि आजदेखि रामकलेवासम्म प्रत्येक दिन तीनपटक रेल सञ्चालन गर्ने नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले जानकारी दिए ।

कम्पनीले मङ्सिर ११, १२ र १३ गते भारतको सिमानामा गर्ने जयनगर रेल्वे स्टेसनबाट कुर्थासम्म बिहान ८ः३०, १२ः३० र दिउसो ३ः३० बजे जनकपुरधामका लागि प्रस्थान गर्ने जनाएको छ । यसैगरी जनकपुरधामबाट बिहान १०ः४५, १ः४० र ५ः१५ बजे जयनगरका लागि रेल छुट्ने उनले जानकारी दिए । जनकपुरधामको कुर्थादेखि जयनगरसम्म ३५ किलोमिटरमा ब्रोडगेज रेल सेवा सञ्चालन गरिएको हो ।

रेल सेवाले भारतबाट आउने तीर्थयात्रीलाई जनकपुरधाम आउनका लागि निकै सहयोग मिलेको भए पनि महोत्तरी जिल्लाको भिट्ठामोड नाकाबाट आएका तीर्थयात्रीका लागि पर्याप्तमात्रामा बस सेवाको व्यवस्था नभएका कारणले तीर्थयात्री कष्टपूर्ण यात्रा गर्न विवश देखिन्छन् ।

थोरै बस सेवा सञ्चालन भएकाले यात्रीले पर्याप्त सेवा नपाएर दुःख भोग्नु परिरहेको दुखेसो तीर्थयात्रीले गरेका छन् । कतिपय यात्रा भिट्ठामोडबाट जनकपुरधामका लागि पैदल नै हिँडेको देखिन्छ ।

अहिले विवाह महोत्सवमा सहभागी हुन आउने पर्यटकका कारण जनकपुरका होटल, लज र धर्मशाला भरिभराउ हुनाका साथै स्थानीय सङ्घसंस्थाले ठाउँठाउँमा बासका लागि पन्डाल निर्माण गरेका छन् । विषेशगरी नेपाल तथा भारतको विभिन्न स्थानबाट ठूलो सङ्ख्यामा तीर्थयात्री जनकपुरधाम आउनेक्रम विगत दुई दिनदेखि जारी छ ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ३ : ०० बजे

झापाको झिलझिलेमा सवारी दुर्घटना, तीनजनाको मृत्यु

झापा– झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा तीन

अपहरणमा परेका एकजनाको सकुशल उद्धार, पाँच अपहरणकारी पक्राउ

जनकपुरधाम– धनुषाको ढल्केबरबाट अपहरणमा परेका एकजनाको प्रहरीले सकुशल उद्धार गरेको

पिसाब पोल्ने समस्या छ ? यी उपाय अपनाउनुस्

काठमाडौं– सामान्यतया कम पानी पिउने मानिसमा पिसाब पोल्ने समस्या बढी

भानुमा औद्योगिक ग्राम निर्माण गरिँदै

तनहुँ– तनहुँको भानु नगरपालिकामा औद्योगिक ग्राम निर्माणको प्रक्रिया सुरु भएको

तनहुँको पराशर मार्गमा कालोपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाको गौरवको आयोजनामा रहेको पराशर मार्गमा पक्की