सीमा क्षेत्रमा कोरोना सङ्क्रमण बढ्दो « Khabarhub

सीमा क्षेत्रमा कोरोना सङ्क्रमण बढ्दो


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी–भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर बढ्दै गएको छ । यहाँ हाल दिनहुँ कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ ।

विगत १५ दिनयता प्रदेशमा सात हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भइसकेको छ । स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार गत पुस २८ गतेदेखि हालसम्म सात हजार ३१८ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा सङ्क्रमणका कारण थप सात जनाको ज्यान गएको निर्देशनालयले जनाएको छ ।

पुस २८ गतेसम्म यस प्रदेशमा ४९ हजार ४७९ जनामा सङ्क्रमण देखिएकामा हाल त्यो सङ्ख्या बढेर ५६ हजार ७९७ पुगेको छ । मृतक ६१४ जना रहेकामा हाल बढेर ६२१ जना पुगेको छ । भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन तीव्ररुपमा फैलिएसँगै त्यसको प्रभाव यस प्रदेशमा पनि देखिएको हो । हाल यहाँका नाकाबाट फर्किने अधिकांशमा कोरोना सङ्क्रमण देखिन थालेको छ । भारतसँगका यहाँका झुलाघाट, पुलघाट, जौलजिवी, दत्तु, खलङ्गा, गड्डाचौकी र त्रिनगर नाकाबाट स्वदेश फर्किनेको क्रम बढेको छ ।

भारतका विभिन्न शहरमा प्रतिबन्ध लगाइएका कारण त्यहाँ कार्यरत नेपाली नागरिक स्वदेश फर्किन थालेका छन् । साथै माघी पर्वमा पनि बढीजसो गाउँ फर्किएकाले सङ्क्रमणदर बढेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशीले जानकारी दिए । उनले भने, ‘परीक्षण बढेकाले सङ्क्रमणदर पनि बढेको देखिएको छ, माघी र भारतका केही शहरमा लकडाउन भएकाले नेपाली कामदार घर फर्किएकाले सङ्क्रमणदर बढेको हो ।’

भारतमा ओमिक्रोनको सङ्क्रमण तीव्ररुपमा फैलिरहेकाले यहाँका नाकामा स्वास्थ्य जाँचमा कडाइ गरिएको छ । यस प्रदेशमा मङ्गलबार चार जनामा ओमिक्रोन पुष्टि भइसकेकाले सीमानाकामा थप कडाइ गरिएको जोशीको भनाइ छ । उनले भने, ‘सीमानाकामै हेल्थ डेस्क स्थापना गरी एन्टिजेन परीक्षणमार्फत परीक्षणको काम भइरहेको छ, सङ्क्रमितलाई आइसोलेसनमा राख्ने गरिएको छ । साथै भारतबाट आउनेलाई नाकामै खोप लगाउने प्रबन्धसमेत मिलाएका छौँ ।’

सीमा नाकामा थप प्रभावकारी ढङ्गले स्वास्थ्य परीक्षण र होल्डिङ सेन्टरको प्रबन्ध गरिएको र विगतकोभन्दा थप सबल व्यवस्थापनका लागि स्वास्थ्यको टोली खटाइएको छ । यसका साथै कोभिड–१९ सम्र्पक व्यक्ति जोशीका अनुसार कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि कोरोनाविरुद्धको खोप अभियानलाई बढाइएको छ । प्रदेशका सबै स्थानीय तहमा हाल कोरोनाविरुद्धको खोप अभियान जारी छ ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म चार लाख ७३ हजार २९७ जनाको कोरोना परीक्षण गरिएकामा ५६ हजार ७९७ जनामा सङ्क्रमण भइसकेको छ । सङ्क्रमणकै कारण यस प्रदेशमा ६२१ जनाको ज्यान गएको छ । प्रदेशका विभिन्न आठ प्रयोगशालामार्फत पीसीआर परीक्षण र प्रदेशका सबै जिल्लामा एन्टिजेनमार्फत परीक्षण कार्य जारी छ ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ९ : ३० बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु