नारायणगढ–मुग्लिन सडक : १७ ठाउँ उच्च जोखिममा « Khabarhub

नारायणगढ–मुग्लिन सडक : १७ ठाउँ उच्च जोखिममा


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- नारायणगढ–मुग्लिन सडक खण्डका १७  ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात ठाउँमा साना ठूला पहिरो खसिसकेका छन् । डिभिजन सडक कार्यालय भरतपुरका ई सागर कार्कीका अनुसार चार किलो, नाम्सी पुल, तीन नम्बर पुल, २६ किलो, २० किलो, १५ किलो, जुगेडी बजार नजिकैको कविलास जाने बाटो उच्च जोखिममा देखिएका छन् ।

 ती ठाउँमा यसवर्ष पहिरो खसेर दुःख दिइरहेका छन् । तीमध्ये नारायणगढबाट ३१ किलोमिटर मुग्लिन तर्फ नाम्सी पुलमा धेरै समस्या आएको छ । त्यहाँ पुल निर्माण गर्दा काटिएको भित्तोबाट पहिरो खसेर समस्या आएको कार्कीले जानकारी दिए। त्यसका अतिरिक्त सेती दोभान, कालिखोला, सिमलताल लगायतका १० ठाउँ जोखिममा रहेका छन् । ती १७ ठाउँमा गत वर्ष पहिरो खसेको थियो ।

कतिपय ठाउँमा सुख्खा पहिरो समेत खसेर दुःख दिएको कार्की बताउँछन् ।  राजधानी प्रवेश र बाहिरिने यो मुख्य  सडकमा एक दिनमा १० हजार बढी सवारीसाधन आवागमन गर्ने गर्दछन् । सडक पुनः निर्माणको काम सकिए पनि  सडक माथिका पहिरो जोखिम क्षेत्रको व्यवस्थापन हुन नसक्दा पहिरोको जोखिम कायमै रहेको हो । डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी शिव खनालले सडक विस्तार र पुल निर्माणको काम एकै पटक नहुँदा समस्या भएको बताए।

उहाँले भन्नुभयो “मुख्य रूपमा पुल बनाउँदै गरेका ठाउँमा बढी समस्या देखिएको छ ।” ती ठाउँमा भित्ता काटिएकाले पहिरो खसेको हो । सो सडक खण्डमा निर्माण गरिँदै रहेको १९ पुलमध्ये चार वटाको निर्माण पूरा भएर हस्तान्तरण भइसकेको छ, भने १४  निर्माणको अन्तिम चरणमा रहेको छ । एउटा निर्माण सुरु हुने प्रक्रियामा छ । नेपाल भारत क्षेत्रीय व्यापार तथा यातायात परियोजना अन्तर्गत नारायणगढ–मुग्लिन सडकको ३६ किलोमिटर सडक विश्व बैंकको सहयोगमा विस्तारको काम गरिएको थियो । सन् २०१५ को अप्रिलमा ठेक्का सम्झौता भई रु दुई अर्ब ९० करोड खर्च गरी तीन वर्ष लगाएर सडक विस्तार गरिएको हो ।

 सोही क्रममा ३१ ठाउँका पहिरो नियन्त्रणका काम गरिएको थियो । अधिकांश ठाउँमा भित्तो काटिएको थियो । जसमध्ये सात ठाउँमा महत्त्वका साथ पहिरो रोक्ने काम गरिएको थियो । पहिरो रोक्ने कामका लागि मात्र रु ४० करोड खर्च भएको छ । सडक विस्तारका क्रममा काटिएका भित्तो र ग्रामीण क्षेत्रमा जानका लागि खनिएका सडकका कारण धेरै ठाउँमा पहिरोले दुःख दिने गरेको थियो । यस वर्ष पुलका कारण तासिएको भित्तोबाट समेत पहिरो खसेको हो ।

सो सडकमा वर्षातको समयमा पटक–पटक पहिरो खसेर दुःख दिने गरेको छ । नारायणगढ– मुग्लिन र पृथ्वी राजमार्गले धेरै दुःख दिएपछि चितवन, धादिङ र तनहुँका प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा अधिकारी, डिभिजन सडकका प्रमुखसहितका सरोकारवालाको संयुक्त बैठक बसेर पूर्व तयारीका योजनासमेत तय गरिएको छ । पहिरोको उच्च जोखिम भएका क्षेत्रमा उपकरण र जनशक्ति तयारी अवस्थामा राख्ने निर्णय गरी कार्यान्वयनमा ल्याइएको छ ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख डिभिजन इञ्जिनीयर बाबुराम सापकोटाका अनुसार पहिरो पन्छ्याउन हरेक वर्ष कम्तीमा रु १३ लाख खर्च हुने गरेको तथ्याङ्क छ । हाल सो सडकमा पहिरो पन्छाउनका लागि स्काभेटर सहितको प्राविधिक टोली २४ सै घण्टा सडकमा नै खटिएको छ ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  १ : ४८ बजे

धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित

बाँके– बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान

कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको