प्रयोगविहीन सार्वजनिक शौचालय | Khabarhub Khabarhub

प्रयोगविहीन सार्वजनिक शौचालय


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ- सिमखेतस्थित राजमार्ग मै ठिङ्ग उभिएको छ, एउटा सानो पक्की भवन । टाढैबाट मैलो र फोहर देखिने भवनमा लेखिएको ‘सार्वजनिक शौचालय’ ।

यी लेखिएका शब्द पनि मुस्किलले पढ्न सकिन्छ । शौचालय भवनको नजिक जाँदा वरिपरि फोहोरको डङ्गुर छ । अझभन्दा ध्रुमपान सेवनकर्ताको खुला डस्बिन नै ।

शौचालयको अगाडिपट्टि झुण्याइएको ऐना धमिलिएको छ ।  हेरिहाले पनि अनुहारै नदेखिने । ‘शौचालय फोहोर नगरौँ’ लेखिएका पोष्टर झुण्डिएको देख्न सकिन्छ ।

छ वर्षभन्दा अघि जयपृथ्वी नगरपालिकाले बनाएको सार्वजनिक शौचालय यस्तो अवस्था छ । नागरिक सैनिक सहयोग (सीआइएमआइसी) कार्यक्रमअन्तर्गत नेपाली सेना, शत्रुमर्दन गुल्म र जयपृथ्वी नगरपालिकाको संयुक्त लगानीमा २०७३ जेठ १० गते सो शौचालयको शुभारम्भ गरिएको थियो ।

सुरुआती समयमा शौचालय निर्माणले निकै श्रेय बटुलेको थियो ।  नगरपालिकाले शौचालयको आवश्यक व्यवस्थापनमा ध्यान नदिँदा शौचालय आफै फोहर बनेको हो । शौचालय भवन नजिकै पसल सञ्चालन गरेका एक पसले भन्छन्, “नगरपालिकाले सुरुसुरुमा त शौचालयको रमझम नै गरेको थियो । अहिले भने वार्षिक रुपमा पनि खुल्छ कि खुल्दैन । थाहै हुँदैन । जहिल्यै बन्द देखिन्छ । शौच गर्न खोज्ने खाजा खाने बहाना गर्दै होटेलको शौचालय प्रयोग गर्छन् ।”

सो नगरपालिकाले सिमखेतसहित अन्य दुई ठाउँमा शौचालय निर्माण गरेको छ । बाहुलीगाडको छेउमा नयाँ बन्न लागेको बसपार्कमा र चैनपुरको खुलामञ्चमा सार्वजनिक शौचालय निर्माण गरेको हो । चैनपुरस्थित खुलामञ्चमा रहेको शौचालय वरिपरि त शौच गरेर हिँड्नै नसकिने अवस्था छ । “शौचालय खोज्ने तथा घुम्न जाने पनि शौचालयको पछाडिपट्टि शौच गर्छन्”, खप्तडछान्नाका कुलप्रसाद जोशी भन्छन्, “कहिलेकाहीँ साँझपख खुलामञ्चतिर घुम्न गइन्थ्यो । अहिले त त्यहाँ नजिक दुर्गन्धले जानै सकिन्न ।” उनले नगरपालिकाले कसैको जिम्मामा दिएर शौचालय प्रयोगको शुल्कसहित तोकेर सञ्चालन गर्न सकिने बताए। “नगरपालिकाले चाह्यो भने कसैको जिम्मा दिएर पनि चलाउन सक्थ्यो तर, त्यतातिर ध्यान गएको देखिँदैन ।” उनले भने ।

नगरपालिकाले बनाएको शौचालय प्रयोगविहीन अवस्थामा छन् । सुरुमा उद्घाटन गर्दासम्म निकै प्रचार हुने तर त्यो प्रचार लामो समयसम्म टिक्दैन । जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजाल भने नगरले बनाएका सार्वजनिक शौचालयको बारे जानकार छैनन् ।उनले भने, “शौचालय अहिले कुन ठाउँमा कस्तो अवस्थामा छन् भन्ने मलाई यकिन जानकारी छैन । यो विषयमा केही दिनपछि अध्ययन गरेर मात्रै भन्न सक्छु ।”

नगरपालिकाका सूचना अधिकारी लालबहादुर थापा नगरपालिकाले बनाएका सार्वजनिक शौचालय प्रयोगमा रहेको दाबी गर्छन्। “नगरपालिकामा भएका सबै शौचालय अहिले पनि सुचारु अवस्थामै छन्”,उनी भन्छन्, “अहिले भएका सञ्चालनमै छन् बाँकी शौचालय आवश्यकताअनुसार नगरपालिकाले थप्न सक्छ ।” उनले अहिलेसम्म सर्वसाधारणलाई सार्वजनिक शौचालयमा शौच गर्न कठिनाइ नभएको दाबी गरे ।

बुङ्गल नगरपालिकाको कार्यालयभन्दा १० मिटर टाढा सार्वजनिक शौचालय छ । नगरपालिकाकै लगानीमा बनेको उक्त शौचालयको वरिपरि भने झार उम्रिएर ढोकासमेत नदेखिने अवस्थामा छ । सिस्नोको झाडीले छोपिएको शौचालय वर्षौँ पुरानोजस्तो देखिन्छ ।

नगरपालिका कार्यालयको छेउमै खोला पारिपट्टि शौचालय बनाएपछि जग्गा विवाद हुँदा प्रयोगविहीन भएको नगरपालिकाले जनाएको छ । नगरप्रमुख जयबहादुर धामीले अहिले नगरपालिकाले सार्वजनिक शौचालय नबनाएको र अब आवश्यकताअनुसार बनाउने जानकारी दिनुभयो । “अहिले हामीसँग सार्वजनिक शौचालय छैन । पहिले बनाएको शौचालय जग्गा विवाद हुँदा खासै प्रयोगमा आएन ।” उनले भने ।

शौचालय कहिलेकाहीँ त सर्वसाधारणले प्रयोग गर्ने गरेको उनी बताउँछन् । उनले भने, “यो शौचालय पनि पूर्ण रुपमा बन्द भएको त होइन । कहिलेकाहीँ जो कोहीले पनि प्रयोग गर्छन् । अब आवश्यकताअनुसार सार्वजनिक ठाउँमा सार्वजनिक शौचालय बनाउँछौँ ।” नगरपालिकाका मुख्य–मुख्य ठाउँमा आवश्यकता अनुसार सार्वजनिक शौचालय बनाउने सोच बनाएको नगरप्रमुख धामीले जानकारी दिए । “बुङ्गलमा नयाँ जनप्रतिनिधि आइसकेपछि जनताको आवश्यकताअनुसार शौचालय मात्रै नभई हरेक काम गर्नेछौँ । अहिले पनि त्यसैका लागि लबिङ गरिरहेका छौँ ।”

बुङ्गल र जयपृथ्वीमा मात्र नभई हरेक पालिकाका सहरमा कतै विद्यालयका शौचालय प्रयोग गर्ने त कतै खोलामा सर्वसाधारणले शौच गर्ने गरेका छन् ।

सरसफाइ गर्न राष्ट्रिय दिवस

बझाङमा मात्रै नभई मुलुकका अधिकांश सहरमा व्यवस्थित शौचालयको सुविधा छैन । बाहिर निस्कन पर्दा एकफेर घरको शौचालयमा शौच गरेर जाने धेरैको बानी छ । सार्वजनिक शौचालयको अभावमा कतिपयले खाजा खाने बहानामा होटेलका शौचालय प्रयोग गर्ने गरेका छन् ।

विश्व स्वास्थ्य सङ्गठनले सरसफाइ बढाउन तथा चेतना फैलाउन हरेक वर्ष शौचालय दिवस मनाउने गरेको छ । सन् २०३० सम्म दीर्घकालीन विकासको लक्ष्यमा पुग्न सङ्गठनले हरेक वर्ष नोभेम्बर १९ तारिखमा विश्व शौचालय दिवससमेत मनाउने गरिन्छ ।

संसारका हरेक बासिन्दालाई सरसफाइका स्रोत र सुविधा पुर्‍याउन दिवस मनाउँदै आएको हो । नेपाललाई ०७६ असोज १३ गते खुला दिसामुक्त देश घोषणा गरिसकिएको छ तर शौचालय प्रयोग भने प्रभावकारी रूपमा हुन नसकेको सरोकारवाला बताउँछन् । नेपालमा हेर्ने हो भने अहिले पनि विकसित सहरमा समेत शौचालय प्रयोगपछि पानी हाल्नुपर्ने सूचना टाँस गरेका भेटिन्छन् ।

सार्वजनिक शौचालयमा मात्रै नभई होटेलका शौचालयमा पनि त्यस्तै सूचना टाँस गरेका भेटिन्छन् । अहिले पनि पानी हाल्नुहोला, सफा गर्नुहोला भन्नेजस्ता सन्देश लेखिनुले एउटा सभ्यता पातलिँदै गएको बुझिन्छ ।

सङ्गठनले अहिले पनि विश्वभर करिब अढाइ अर्ब मान्छेले शौचालय प्रयोग नगरेको तथ्याङ्क सार्वजनिक गरेको छ । सङ्गठनले गरेको सर्वेक्षणअनुसार विश्वभर करिब करिब १० जनामध्ये एक जनाले अझै पनि शौचालयमा शौच गर्ने विकल्प पाएको छैन । सङ्गठनका अनुसार विश्वमा दुई अर्ब ४० करोड मानिस शौचालयको पहुँच बाहिर छन् ।

सुरक्षित शौचालयको अभावमा हुने फोहोरका कारण झाडापखाला लागेर हरेक वर्ष विश्वमा लाखौँको ज्यानसमेत जाने गरेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ११ : ३१ बजे

भोटेकोशीले बगायो लार्चाको पुल, तातोपानी नाकासँग सम्पर्क विच्छेद

काठमाडौं– अरनिको राजमार्गअन्तर्गत भोटेकोशी नदीले सिन्धुपाल्चोकस्थित लार्चाको पुल बगाएको छ

मकवानपुरको सिस्नेरीमा ३० घर बगे, खानीखेतका २८ घर डुबानमा

मकवानपुर– अविरल वर्षाका कारण आएको बाढीले इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका

सिरहामा बाढीले बगायो हुलाकी सडक

लहान – सिरहामा निरन्तर वर्षापछि खोलामा आएको बाढीले हुलाकी सडक

पहिरोका कारण तनहुँका विभिन्न सडक अवरुद्ध

तनहुँ– दुई दिनदेखि परेको अविरल वर्षाका कारण आज बिहान पहिरो

मेची राजमार्गको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध

इलाम – मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ