लामो पुलमा आगन्तुकको भीड « Khabarhub

लामो पुलमा आगन्तुकको भीड


१२ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

बागलुङ – फुर्सद झिकेर घुमघाममा निस्केका ३० जना पोखरेलीले शनिबार बागलुङलाई गन्तव्य बनाए । छोटो दूरीको यात्राका लागि उनीहरूले बागलुङ रोजेका थिए । सुरुमा प्रसिद्ध कालिका भगवतीको दर्शन गरे । दोस्रो रोजाइमा भने ‘गण्डकी गोल्डेन ब्रिज’लाई पारे ।

पाँच सय ६७ मिटर लामो उक्त झोलुङ्गे पुलले बागलुङ नगरपालिका–१ बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्छ । पछिल्लो समय बागलुङ भित्रने जो–कोहीलाई सो पुलले लोभ्याउने गर्छ । मानिसहरू रुचिपूर्वक पुल हेर्न पुग्छन् ।

धेरैले तरेरै रमाइलो लिन्छन् । नसक्नेले चाहिँ हेरेरै चित्त बुझाउँछन् । पुल तर्दा हलुका डर लागे पनि रोमाञ्चक अनुभव भएको यात्रामा सहभागी रेश्मा ढुङ्गाना बरालले बताए। पुल छेउछाउको दृश्यले पनि आकर्षित गरेको उनको भनाइ छ ।

पवित्र कालीगण्डकी नदीमाथि बनेको उक्त पुलबाट देखिने प्राकृतिक सौन्दर्य पनि मनमोहक छ । ‘सिङ्गल स्पाम’तर्फ देशकै लामो सो झोलुङ्गे पुल एक सय ६५ मिटर अग्लो छ । पर्वतको फलेबासदेखि आएका किशोरीहरू पनि मध्याह्नपख पुलमा रमाइरहेका देखिन्थे ।

तस्वीर लिन र ‘टिकटिक’ बनाउन तँछाडमछाड थियो । नाम बताउन नचाहने पनि उनीहरूले यति लामो झोलुङ्गे पुल पहिलोपटक तरेको सुनाए । चाडबाडको बिदा पारेर घुम्न निस्केको उनीहरूको भनाइ थियो । बागलुङ–१ का वडाध्यक्ष जयबहादुर केसीले बिदा पर्दा पुलमा दैनिक सयौँ पर्यटकको भीड लाग्ने गरेको बताए ।

‘कालिका भगवतीको दर्शन गर्न आउने अधिकांश पुल पनि हेर्न आइपुग्छन्, पोखरालगायत ठूला सहर र बाहिरी जिल्लाबाट पनि पर्यटक आउन थालेका छन्’, उनले भने, ‘पुल आसपासमा सौन्दर्यीकरण गर्ने र अरु पूर्वाधार थप्न सके अझ धेरै पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।’

छेउमै रहेको सहिद उद्यानले केही मात्रामा भए पनि पुलको आकर्षण बढाएको उनको भनाइ छ । पुल बनेपछि सर्वसाधारणको आउजाउ सहज हुनुका साथै पर्यटकीय गतिविधि बढेको हो । स–साना रेष्टुराँ, खाजाघर खोलेर स्थानीयवासी आयआर्जनमा जोडिएका छन् । होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले पुल बनेपछि बागलुङले नयाँ गन्तव्यस्थल पाएको बताए ।

‘लामो पुलले नयाँ पर्यटकीय आकर्षण थपेको छ, बाहिरबाट पर्यटक पनि आइरहेका छन्’, उनले भने, ‘पहिले रातिको समयमा पुलमा झिलीमिली बत्ती बल्थ्यो, अहिले त्यो नहुँदा सौन्दर्य केही घटेजस्तो भएको छ ।’

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास विभाग, सस्पेन्सन ब्रिज डिभिजन कार्यालयमार्फत रु १२ करोड २२ लाखको लागतमा उक्त पुल बनेको हो । अध्यक्ष चोखालले आन्तरिक पर्यटक बागलुङ आउने दिनभर घुम्ने र साँझ फर्कने गरेको स्थितिलाई फेर्नुपर्ने धारणा राखे ।

– रामबहादुर थापा (रासस)

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ८ : २४ बजे

विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित

काठमाडौं – आईसीसी पुरुष टी–२० विश्वकपको अभ्यासमा रहेको नेपाली राष्ट्रिय

डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं– डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

पर्यटकको रोजाइमा सुनसरीको वेतना सिमसार

मोरङ– सुनसरीको इटहरी चोकदेखि १६ किलोमिटर पूर्वतर्फ गएपछि हरियो वनले

फ्रान्समा १५ वर्ष मुनिका बालबालिकामाथि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध

काठमाडौं – फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले १५ वर्षमुनिका बालबालिकामाथि सामाजिक

केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल