दार्चुला घटना : भारतीय निर्माण कम्पनीद्वारा गल्ती स्वीकार « Khabarhub

दार्चुला घटना : भारतीय निर्माण कम्पनीद्वारा गल्ती स्वीकार


१२ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

दार्चुला – सडक निर्माणका क्रममा नेपाली बालकको मृत्यु भएको घटनामा भारतीय निर्माण कम्पनीले आफ्नो गल्ती स्वीकार गरेको छ । भारतीय सडक निर्माण कम्पनी ‘गर्ग एण्ड गर्ग’ गल्ती स्वीकार गरी पीडित पक्षलाई क्षतिपूर्ति उपलब्ध गराउन तयार भएको छ ।

दार्चुलाको ब्यास गाउँपालिका–२ मा दुम्लिङमा महाकाली नदी पारीको भारतीय क्षेत्रमा शुक्रबार सडक निर्माणका क्रममा विस्फोटक पदार्थ प्रयोग गरेपछि उछिट्टिएको ढुङ्गाले स्थानीय नेपाली बालक नौ वर्षीय पवन महराको ज्यान गएको थियो । महरा महाकाली किनारमा नेपाली क्षेत्रमा हिँडिरहेका बेला उक्त घटना घटेको थियो ।

‘भारतीय निर्माण कम्पनीले गल्ती स्वीकार गरेको छ’, जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजेश शाहीले भने । उक्त घटनाबारे नेपाली पक्षले भारतीय पक्ष ९निर्माण कम्पनी० र पीडित परिवारसँग छलफल गरेको थियो ।

महाकाली किनारमा भारतले आफ्नो क्षेत्रमा सडक विस्तार गर्ने क्रममा नेपाली पक्षलाई जानकारी नदिइकन विस्फोटक पदार्थ प्रयोग गरेको थियो । भारतीय पक्षले बिनाजानकारी सडक निर्माण गर्ने क्रममा बिस्फोटक पदार्थ प्रयोग गर्दा महराको मृत्यु भएको नेपाली पक्षको आरोप छ । उक्त विषयमा दुवै पक्षबीच छलफल हुँदा भारतीय पक्षले सो घटनामा आफू जिम्मेवार रहेको स्वीकार गरेको शाहीले बताए ।

भारतीय निर्माण कम्पनी मृतक महरा परिवारका अन्य बालबालिकालाई कक्षा १२ सम्म पढाउन तथा परिवारका एक सदस्यलाई कम्पनीमा रोजगारी दिन सहमत भएको छ । निर्माण कम्पनीले रु १० लाख दिन तयार रहेको जनाए पनि मृतक महराको परिवारले अस्वीकार गरेको प्रहरी निरक्षिक शाहीले बताए ।

पीडित बालकको परिवारले भारतीय पक्षसँग १० लाख भारतीय रुपैयाँ क्षतिपूर्तिस्वरुप माग गरेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । निर्माण कम्पनी गर्ग एण्ड गर्गसित थप छलफल गरी पीडित परिवारलाई उचित क्षतिपूर्ति दिलाइने उनको भनाइ छ ।

छलफलका लागि पीडित परिवारका सदस्य, स्थानीय प्रहरी प्रशासनका प्रतिनिधिलगायतको टोलीले आज भारतको धारचुला गइ छलफल गरेको थियो । अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा बिनासूचना पटक पटक विस्फोटक पदार्थ प्रयोग गर्ने गरेकामा नेपाली पक्षले आपत्ति जनाएको थियो । अब आइन्दा यस्ता गतिविधि रोक्न नेपाली पक्षले भारतीय पक्षसित आग्रह गरेको छ । भारतीय पक्षबाट यसअघि पनि यस्ता घटना हुँदै आएका थिए । भारतले सीमा क्षेत्रमा विस्फोटक पदार्थ प्रयोग गर्दा नेपालतर्फ घरमासमेत क्षति हुने गरेको स्थानीयवासीको गुनासोे छ ।

शुक्रबार भारतीय निर्माण कम्पनीले सडक निर्माणका क्रममा विस्फोटक पदार्थ प्रयोग गर्दा बालक महराको घटनास्थलमै ज्यान जानुका साथै उनकी दिदी १४ वर्षीया सरिना घाइते भएकी थिइन् । हाल उनको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ । दुवैजना आमाबुवासँगै जङ्गलबाट घर फर्किँदै थिए । बालक महराको शव शुक्रबार राति परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको थियो ।

मृतक बालक दुम्लिङस्थित सर्वहित आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत थिए । सरिनाको खुट्टामा चोट लागेको बुवा हिक्मतले बताए । भारतीय पक्षले जानकारी नदिइकन विस्फोट गराएका कारण छोराको ज्यान गएको उहाँले बताए ।

भारतीय सडक निर्माण कम्पनी गर्ग एण्ड गर्गले भारतीय क्षेत्रमा हाल सडक चौडा बनाउँदै छ । त्यसका लागि बेला बेलामा उनीहरुले विस्फोटक पदार्थ प्रयोग गर्ने गरेका छन् । अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा कुनै पनि भौतिक संरचना निर्माणका क्रममा विस्फोटक पदार्थ प्रयोग गर्ने अवस्था आएमा एकअर्कालाई त्यसबारे जानकारी गराउनुपर्ने हुन्छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ९ : ३७ बजे

विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित

काठमाडौं – आईसीसी पुरुष टी–२० विश्वकपको अभ्यासमा रहेको नेपाली राष्ट्रिय

डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं– डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

पर्यटकको रोजाइमा सुनसरीको वेतना सिमसार

मोरङ– सुनसरीको इटहरी चोकदेखि १६ किलोमिटर पूर्वतर्फ गएपछि हरियो वनले

फ्रान्समा १५ वर्ष मुनिका बालबालिकामाथि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध

काठमाडौं – फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले १५ वर्षमुनिका बालबालिकामाथि सामाजिक

केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल