उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिँदै « Khabarhub

उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिँदै


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- देशभरका निर्वाचन अधिकृतको कार्यालयबाट आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिँदैछ। शुक्रबार साँझ प्रकाशित अन्तिम नामावलीअनुसार उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्न लागिएको हो ।

यही वैशाख ११ र १२ गते उम्मेदवारी मनोनयन दर्ता गराएर मनोनयन फिर्ता नलिएका उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन अधिकृतले उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेछन् । राष्ट्रिय मान्यता प्राप्त छ वटा राजनीतिक दलका उम्मेदवारलाई मतपत्रको क्रमसङ्ख्या १ देखि ६ सम्म कायम निर्वाचन चिह्न प्रदान गरिने आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।

मतपत्रमा पहिलो क्रममा नेकपा (एमाले) को ‘सूर्य’, दोस्रोमा नेपाली कांग्रेसको ‘रुख’, तेस्रोमा नेकपा (माओवादी केन्द्र) को ‘गोलाकार हँसिया हथौडा’, चौथोमा जनता समाजवादी पार्टीको ‘छाता’, पाँचौँमा लोकतान्त्रिक समाजवादी पार्टीको ‘साइकल’ र छैठौँमा नेकपा (एकीकृत समावादी) को ‘कलम’ चिह्न रहेको छ ।

यस्तै राष्ट्रिय मान्यता प्राप्त नगरेका तर आयोगमा दर्ता भएका दलका उम्मेवारलाई सम्बन्धित पार्टीको निर्वाचन चिह्न र स्वतन्त्र उम्मेदारलाई मतपत्रमा रहेको चिह्नबाट छान्न लगाइने अर्यालले बताए। उम्मेदवारको मनोनयन फिर्ता लिन शुक्रबार अपराह्न ५ बजेसम्मको समय तोकिएको थियो । स्थानीय तह सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएकामध्ये करिब चार हजारले आफ्नो उम्मेदवारी फिर्ता लिएको आयोगले जनाएको छ ।

यही वैशाख ३० गते हुने निर्वाचनका लागि ९५ हजार २५३ पुरुष र ५७ हजार ९६७ महिला गरी कूल एक लाख ५३ हजार २२० जनाको उम्मेदवारी कायम भएको छ । नगर प्रमुखमा तीन हजार २४९ पुरुष र २६८ महिला गरी तीन हजार ५१७, उपप्रमुखमा ६०७ पुरुष र एक हजार ५६८ महिला गरी दुई हजार १७५, गाउँपालिका अध्यक्षमा तीन हजार १४९ पुरुष र १९८ महिला गरी तीन हजार ३९२ तथा उपाध्यक्षमा ६१६ पुरुष र एक हजार ७९१ महिला गरी दुई हजार ४०७ जनाको उम्मेदवारी टुङ्गो लागेको छ ।

यसैगरी वडाध्यक्षमा ३४ हजार ३५० पुरुष र एक हजार ५० महिला गरी ३५ हजार ४००, महिला सदस्यमा २६ हजार ५७५, महिला दलित सदस्यमा २३ हजार ९६२ तथा सदस्यमा ५३ हजार २३७ पुरुष र दुई हजार ५५८ महिला गरी ५५ हजार ७९५ जनाको उम्मेदवारी कायम भएको आयोगले जनाएको छ ।

७५३ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, छ हजार ७४३ वडाध्यक्ष, सोही सङ्ख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८३ सदस्य गरी कूल ३५ हजार २२१ सदस्यका लागि निर्वाचन हुँदैछ ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  १ : २९ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी