आज यस्ता छन् तपाईँले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

आज यस्ता छन् तपाईँले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्:

इस्तानुबलमा कारखानामा भएको विष्फोटमा परी तीन जनाको मृत्यु

टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा रहेको कारखानामा भएको आगलागीमा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ ।

शहरको एसियाली हिस्सास्थित तुजला जिल्लाको रासायनिक कारखानामा आगलागी भएको हो । आगलागीमा परी अरु ९ जना घाइते भएका छन् ।

घटनास्थलमा तत्कालै दमकल, एम्बुलेन्स र उद्धार टोली पठाइएको र आगो नियन्त्रणमा लिइएको उल्लेख गरिएको छ ।

विज्ञप्ति अनुसार आगलागीमा नौ जना कामदार सामान्य घाइते भए पनि अन्य तीन जनाको ज्यान गएको छ ।

आगोको कारण कारखानामा धेरै शक्तिशाली विस्फोट भएको र नजिकैका केही सवारी साधन र भवनहरूलाई क्षति पुगेको  जनाइएको छ ।

घटनाबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

रुसी ह्याकरद्वारा रोमानियाली साइटलाई लक्षित गरी साइबर हमला

रुस समर्थित ह्याकरहरूले युक्रेनको छिमेकी मुलुक रोमानियाका सरकारी वेबसाइटहरूले निशाना बनाएर साइबर आक्रमण गरेका छन् ।

रोमानियाको राष्ट्रिय साइबर सुरक्षा निकायले विज्ञप्ति जारी गर्दै रुस समर्थित ह्याकरहरूले सरकारी वेबसाइटलाई लक्षित गरी साइबर हमला गरेको जनाएको हो ।

कतारी टेलिभिजन च्यानल अल जजीराका अनुसार साइबर हमलाको श्रृङ्खलाले ‘सार्वजनिक प्रतिष्ठान एवम् निजी संस्थाहरूलाई’ लक्षित गरेको रोमानियाको साइबर सुरक्षा निकायले जनाएको छ ।

यसबाट भएको क्षतिको विवरण भने उपलब्ध गराइएको छैन । यद्यपि घटनाबारे अनुसन्धान जारी रहेको बताइएको छ ।

गत फेब्रुअरी २४ मा रुसले युक्रेनमा आक्रमण थालेदेखि विश्वभर साइबर आक्रमणको खतरा बढिरहेका बेला रोमानियाली साइटहरूलाई लक्षित गरी ह्याकरहरूको आक्रमण भएको हो ।

आपराधिक ग्याङ्गको हिंसा बढ्दै जाँदा इक्वेडोरमा आपतकाल घोषणा

आपराधिक ग्याङ्गको हिंसा बढ्दै जाँदा ल्याटिन अमेरिकी मुलुक इक्वेडोरमा आपतकालको घोषणा गरिएको छ । ग्याङ्गको हिंसा बढ्दै जाँदा इक्वेडोरको पश्चिममा रहेका तीन प्रान्तहरूमा आपतकाल घोषणा गरिएको बीबीसीले जनाएको छ ।

राष्ट्रपति गुलेर्मो लासोले आपतकालको घोषणा गर्दै इक्वेडोरको पश्चिममा रहेका तीन प्रान्तहरू गुयास, मनाबीएज्मेराल्दासमा कर्फ्यू लागू गरिने र यसका लागि हजारौं सैनिक एवम् प्रहरीलाई त्यसतर्फ पठाइने बताएका छन् ।

सो क्षेत्रमा ४ हजार प्रहरी र ५ हजार सैनिक परिचालन गरिने बताइएको छ ।

गत वर्ष राष्ट्रपति बनेयता गुलेर्मो लासोले हिंसा रोक्न आपतकालीन शक्तिको प्रयोग गरेको यो दोश्रो पटक हो । बीबीसीका अनुसार आपतकाल घोषणा गरिएका क्षेत्रमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लागू गरिनेछ ।

पछिल्ला केही समययता इक्वेडोरमा आपराधिक ग्याङ्गको हिंसामा उच्च वृद्धि भएको बीबीसीले जनाएको छ । राष्ट्रपति लासोले लागूऔषध तस्करका कारण आफ्नो मुलुकमा हिंसा बढेको बताएका छन् ।

छिमेकी मुलुकहरू कोलम्बिया र पेरुबाट अन्यत्र लागूऔषध तस्करी गर्न तस्करहरूले इक्वेडोरलाई ट्रान्जिट हबको रूपमा प्रयोग गर्दै आएको बताइन्छ ।

यसबाहेक मेक्सिकोका कुख्यात लागूऔषध तस्करहरूको पनि त्यहाँका स्थानीय ग्याङ्गसँग साँठगाँठ रहेको बताइएको छ ।

श्रीलंकाली राष्ट्रपति आफ्ना दाजुलाई प्रधानमन्त्रीबाट हटाउन राजी

श्रीलंकाली राष्ट्रपति गोताबाया रापजाक्षेले आफ्ना दाजु महिन्दा राजपाक्षेलाई प्रधानमन्त्रीको पदबाट हटाउन सहमत भएका छन् ।

श्रीलंकाका पूर्व राष्ट्रपति मैत्रिपाल सिरिसेनाले राष्ट्रपति राजपाक्षेसँगको भेटपछि प्रधानमन्त्री राजपाक्षेलाई पदबाट हटाउन राजी भएको बताएका हुन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था एपीका अनुसार यसका लागि संसद्मा प्रतिनिधित्व गर्ने सबै पार्टीलाई समेटेर राष्ट्रिय परिषद् गठन गर्न समेत राष्ट्रपति तयार भएको उनको भनाइ छ ।

गोताबाया राजपाक्षे अघि श्रीलंकाको राष्ट्रपति रहेका सिरिसेनासहित ४० सांसदहरूले यही महिनाको शुरुमा सत्तारुढ गठबन्धन परित्याग गरेको घोषणा गरेका थिए ।

यता प्रधानमन्त्री महिन्दा राजपाक्षेका प्रवक्ता रोहन वेलिविताले भने राष्ट्रपतिबाट यस्तो किसिमको सूचना नआएको र आएको खण्डमा सार्वजनिक रुपमा घोषणा गरिने बताए ।

चरम आर्थिक संकट एवम् अत्यावश्यक वस्तुको अभाव झेलिरहेको श्रीलंकामा राष्ट्रपति गोताबाया राजपाक्षे र सरकारको विरोधमा पछिल्ला केही सातायता प्रदर्शनहरू भइरहेका छन् ।

झुक्किएर पोर्न हेरेको बेलायती सांसद्को स्पष्टीकरण

एकजना बेलायती सांसदले आफूले संसद् बैठकमा झुक्किएर अश्लील चलचित्र हेरेको स्पष्टीकरण दिएका छन् ।

महिला सहकर्मीहरूको अगाडि पोर्न हेरेको आरोप लागेका सांसद निल परिसले बैठकका क्रममा झुक्किएर आफ्नो फोनमा पोर्न खुलेको बताएका हुन् ।

‘अवश्य पनि यो लाजमर्दो कुरा हो’ परिसलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ, ‘र यो मेरी श्रीमती र मेरो परिवारका लागि पनि लाजमर्दो कुरा हो ।’

झुक्किएर पोर्न हेरेको हुनसक्ने सम्भावनाबारे सोधिएको प्रश्नमा उनले भने, ‘हो, तर यसबारे पनि छानबिन हुनुपर्छ ।’

यसअघि बेलायती सञ्चारमाध्यममा एकजना सांसदले सत्तारुढ कन्जरभेटिभ पार्टीको बैठकका क्रममा महिला सहकर्मीहरूकै अगाडि पोर्न हेरेको खुलासा गरेका थिए ।

पछि ती महिला सहकर्मीले यस घटनालाई पार्टीका प्रमुख सचेतक क्रिस हिटन ह्यारिस समक्ष राखेकी थिइन् ।

घटनाबारे संसद्को मापदण्ड आयोगले छानबिन अघि बढाएको बीबीसीले जनाएको छ ।

उनले आफू दोषी भेटिए राजीनामा दिन समेत तयार रहेको बताएका छन् । हाल उनलाई कन्जरभेटिभ पार्टीले निष्कासन गरेको बताइएको छ ।

अमेरिकाले युक्रेनी फौजलाई तालिम दिँदै

अमेरिकाले युक्रेनी फौजलाई तालिम दिन शुरु गरेको छ । अमेरिकी रक्षा प्रशासन पेन्टागनका प्रवक्ता जोन किरबीले युक्रेनी सैनिकलाई जर्मनीमा रहेको अमेरिकी सैनिक आधारमा तालिम दिन थालिएको जानकारी दिएका हुन् ।

‘आज म घोषणा गर्न सक्छु कि अमेरिकाले जर्मनीका महत्वपूर्ण अमेरिकी सैनिक केन्द्रहरूमा युक्रेनी फौजलाई प्रशिक्षण शुरु गरेको छ ।’ किरबीलाई उद्धृत गर्दै कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएको छ ।

उनीहरूलाई अमेरिकाको फ्लोरिडा राज्यको नेशनल गार्डले तालिम दिने पेन्टागनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

तोपखाना प्रणाली, रडार प्रणाली र बख्तरबन्द गाडीको उपयोगबारे प्रशिक्षण केन्द्रित रहेको बताइएको छ ।

यद्यपि अमेरिकाले तालिम दिने युक्रेनी सैनिकको संख्या भने केबल ५० को हाराहारीमा रहेको अल जजीराले जनाएको छ ।

युक्रेनमा गर्भनिरोधक चक्की बाँड्न थालियो

युक्रेनमा जारी युद्धका क्रममा बलात्कारका घटना बढ्न थालेपछि गर्भनिरोधक चक्की वितरण थालिएको छ । रुसी आक्रमणबाट सबैभन्दा प्रभावित क्षेत्रमा ३ हजारजति गर्भनिरोधक चक्की वितरण गरिसकिएको बीबीसीले जनाएको छ ।

अन्तर्राष्ट्रिय परिवार नियोजन महासंघले स्थानीयहरूलाई वितरण गर्न स्वयंसेवकहरूलाई चक्की उपलब्ध गराएको हो । महासंघकी क्यारोलाइन हिक्सनले जनाएअनुसार गर्भनिरोधक चक्कीले प्रभावकारी काम गर्न समय अत्यन्त महत्वपूर्ण हुन्छ ।

‘गर्भ रोक्नका लागि पाचौँ दिनसम्म मात्र यो चक्कीले प्रभावकारी काम गर्न सक्छ ।’ हिक्सनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

‘त्यसैले लैङ्गिक हिंसाको पीडित हो भने तपाई यो चक्की जतिसक्दो छिटो लिनुपर्छ, किनभने बलात्कारका कारण रहेको गर्भ अत्यन्त पीडादायी हुन्छ ।’ उनले भनिन् ।

यसबाहेक यो संस्थाले गर्भपतन गराउने चक्की पनि युक्रेनतर्फ आपूर्ति गरेको बताइएको छ । यस्तो चक्की २४ साता सम्मको अनिच्छित गर्भधारणमा प्रभावकारी हुने बीबीसीले जनाएको छ ।

पछिल्लो समय रुसी फौजमाथि युक्रेनमा यौन र बलात्कारलाई युद्धमा हतियार बनाएको भन्ने आरोप लागिरहेका बेला गर्भनिरोधक र गर्भपतन गराउने चक्की वितरण गरिएको हो ।

काबुल आक्रमणको राष्ट्रसंघद्वारा निन्दा

संयुक्त राष्ट्रसंघले अफगानिस्तानको राजधानी काबुलमा रहेको सुफी मस्जिदमा शुक्रबार भएको ‘घातक विस्फोट’ को निन्दा गरेको छ । विस्फोटमा कम्तिमा १० जनाको मृत्यु भएको छ भने १५ भन्दा बढी घाइते भएका छन् ।

शहरको पश्चिममा दारुलमान क्षेत्रमा अवस्थित खलिफा साहिब मस्जिदमा भएको विस्फोट राजधानी र प्रान्तहरूमा सर्वसाधारणलाई निशाना बनाई भएका शृङ्खलाबद्ध आक्रमणहरूमा सबैभन्दा पछिल्लो घटना हो ।

संयुक्त राष्ट्रसंघको समाचारका निकाय युएन न्युजका अनुसार स्थानीय अस्पतालहरूले धेरै हताहतिको आँकडा प्रस्तुत गरेका छन् । जसमा दर्जनौं मारिएका र घाइते भएका छन् । ती मध्ये धेरै बालबालिकाहरू छन् ।

गैर सरकारी संस्थाद्वारा सञ्चालित एउटा अस्पतालले मात्र २० जनाभन्दा बढी पीडितहरूलाई भर्ना लिएको थियो, जसमध्ये दुईजनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

‘रमजानको पवित्र महिनाको अन्तिम शुक्रबार भएको विष्फोट अफगानिस्तानका जनताका लागि अर्को पीडादायी प्रहार हो जो निरन्तर असुरक्षा र हिंसाको सामना गरिरहेका छन्’ अफगानिस्तानमा संयुक्त राष्ट्रसंघ मानवीय संयोजक रमिज अलकबारोभले एक विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘आफ्नो दैनिक रोजीरोटी, प्रार्थना, विद्यालय वा बजार जाँदा वा कामको बाटोमा जाँदा नागरिकहरूलाई अन्धाधुन्ध रूपमा निशाना बनाइनु अनुचित हो’ उनले थपे ।

यसअघि बिहीबार उत्तरी अफगानिस्तानको मजार–ए–शरीफ सहरमा दुईवटा मिनी बसहरूमा भएका छुट्टाछुट्टै विस्फोटमा कम्तिमा नौ जनाको मृत्यु भएको थियो । घटनामा अरु १५ जना घाइते भएका थिए ।

अलकबारोभले नागरिक र मस्जिदहरू लगायत नागरिक पूर्वाधारहरू विरुद्ध प्रत्यक्ष आक्रमण गर्न अन्तर्राष्ट्रिय मानवीय कानूनले कडा रूपमा निषेध गरेको पनि स्मरण गराएका छन् ।

पाकिस्तानमा प्रहरी अधिकारीको हत्या

पाकिस्तानमा अज्ञात बन्दुकधारीले प्रहरी अधिकारीको हत्या गरेका छन् । पाकिस्तानको दक्षिणी वजिरिस्तान जिल्लाको प्रशासनिक केन्द्र वाना शहरमा प्रहरी उपरीक्षकको हत्या भएको हो ।

हत्या भएका प्रहरी उपरीक्षकको नाम अस्लम जावेद रहेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ । अखबारका अनुसार रमाजानको ब्रत तोडेपछि बाटोमा हिँड्दै गर्दा उनीमाथि अज्ञात बन्दुकधारीले गोली प्रहार गरेका थिए ।

नम्बर प्लेट बिनाको कारमा आएका बन्दुधकारीहरूले उनलाई शहरको पिर सुल्तान मस्जिदनजिकै गोली हानेको जनाइएको छ । घटनास्थलमै उनको मृत्यु भएको डनले जनाएको छ ।

चिकित्सकहरूका अनुसार उनको टाउकोमा दुई गोली लागेको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पाकिस्तानमा पछिल्लो समय हिंसात्मक घटना बढ्दै गइरहेको बताइन्छ ।

 

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ९ : ०८ बजे

स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण

सिरहा– सिरहाको गोलबजार नगरपालिका-१० वडा कार्यालयले स्थानीयस्तरमा स्वास्थ्य सेवा प्रवाहमा

व्यवस्था ठीक छ, नेताहरूको आचरण ठीक भएन : कोइराला सशांक

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. सशांक कोइराला नवलपरासी पूर्व निर्वाचन

सिमकोट छिट्टै राष्ट्रिय सडक सञ्जालसँग जोडिने छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्ला सदरमुकाम सिमकोट केही दिनमा

राष्ट्रसङ्घीय क्षेत्रीय मन्त्रिस्तरीय सम्मेलनमा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्रसङ्घीय क्षेत्रीय

ग्यास बुलेट र ट्रक ठोक्किँदा दुई जना घाइते 

चितवन– पूर्व पश्चिम राजमार्ग अन्तर्गत टिकौली जङ्गलमा ग्यास बुलेट र