'तीजलाई अधिकारमुखी आन्दोलनसँग जोडेर लैजानुपर्छ' | Khabarhub Khabarhub

‘तीजलाई अधिकारमुखी आन्दोलनसँग जोडेर लैजानुपर्छ’


१४ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

रूपन्देही– जेलैमा हो जेलैमा, चरी जेलैमा, मै छोरी रुँदै रुँदै बेसी मेलैमा’ विष्णु माझीको स्वर रहेको यो तीज गीत यहाँका होटल र पार्टी प्यालेसमा निकै घन्कियो । निकै चर्चामा रहेको यो गीतमा पछिल्लो एक महिना बजारका पार्टी प्यालेसमा नाच्ने र रमाउनेको सङ्ख्या उल्लेख्य थियो । घरसँगै कार्यालयको पनि जिम्मेवारी भएका महिला यस्ता कार्यक्रममा देखिए । 

तीज आउनु एक महिना अघिदेखि नै बुटवल र भैरहवाका होटल तथा  पार्टी प्यालेस कार्यक्रमका लागि बुकिङ भएका थिए । सरकारी र गैरसरकारी सङ्घ संस्थाले पनि संस्थागतरूपमै तीज कार्यक्रमको आयोजना गरे । बजारका साँघुरा घरमा जमघट हुन साह्रै गाह्रो हुने भएकाले पनि होटल र पार्टी प्यालेसमा तीज मनाउने क्रम बढेको हो भन्छन्, बुटवल लक्ष्मी नगरकी माया पाठक ।

‘अहिले महिला घरको काम गरेर अफिस पनि जानुपर्ने हुन्छ । यस्तो अवस्थामा घरमा चेलिबेटी बोलाएर समय दिन पनि गाह्रो । घरको काम गर्ने की नाच्नेगाउने, अब त पार्टी प्यालेस जानुको विकल्प छैन । यसलाई  नराम्रो मान्न हुँदैन,’ उनले भने । सभ्य तरिकाले जहाँ बसेर पनि चाड मनाउन मिल्ने उनको बुझाइ छ ।

तीजमा माइती पक्षले चेलीलाई माइत बोलाउँछन् । माइती नहुनेका दिदीबहिनीलाई मावली र आफन्तले बोलाउने गर्छन् । चेलीबेटी बोलाउने र खुवाउनेक्रम जनै पूर्णिमादेखि सुरु हुन्छ ।

नाचगानको क्रम भने साउने सङ्क्रान्तिबाटै सुरु हुन्छ । त्यसपछि नागपञ्चमी, जनैपूर्णिमा र कृष्ण जन्माष्टमीमा पनि नाचगान गर्ने परम्परा छ । कृष्ण जन्माष्टमीको अघिल्लो दिन पनि चेलीबेटीलाई माइती पक्ष तथा आफन्तले बोलाउने र दर खाने चलन छ । विशेष गरी हरितालिका तीजमा चेलीबेटीको जमघट हुन्छ ।

पहिले पहिले चेलीबेटी जम्मा भएर आफ्ना पीर, व्यथा र बेदना गीतको माध्यमबाट व्यक्त गर्ने परम्परा रहे पनि अहिले भने बजारमा कलाकारले ल्याएका गीत बजाएरै नाच्ने क्रम बढ्दै गएको छ ।

‘अहिले बसेर नाच्ने गाउने भन्ने चलन हराइसक्यो । कसले गीत निकाल्नु कसले मादल बजाउनु ? सबैलाई नआउने भएकाले गीत बजाएरै नाच्छौँ । मन परेका गीत बजायो नाच्यो । यही नै सजिलो लाग्न थाल्यो’, बुटवल जितगढीकी गीता आचार्यले भने ।

वास्तवमा जन्मघर छोडेर माइतीमा जम्मा भएका चेलीले आफ्नो सुख दुःख  गीतबाटै व्यक्त गर्ने रमाइलो पर्व हरितालिका तीज हो । जन्मघर छोडेर कर्मघर जाँदाको अनुभव तथा माइतीप्रति गुनासा तथा अपेक्षा गीतबाटै प्रस्तुत गरिन्थ्यो । तर, अहिले पुराना भाका सुनिन छाडेका छन् । पुराना आँगन चौताराको ठाउँ पार्टी प्यालेसले लिएपछि पुराना भाका पनि नयाँ गीत र रचनामा बदलिएका छन् भन्छन्, प्राध्यापक इन्दिरा आचार्य ।                   

‘पहिले तीजमा गाइने गीतले चेलीका भावना र वेदनालार्ई समेटेका हुन्थे । माइतीप्रति चेलीको बिलौना र पीडालाई समेटेका हुन्थे । तीजका गीतले महिलामाथिको अन्याय अत्याचारका पीडालाई यसरी समेटेका हुन्थे । अबका दिनमा पनि तीजलाई अधिकारमुखी आन्दोलनसँग जोडेर लैजानुपर्छ’, आचार्यले भने ।

तीज नेपाली महिलाको महत्वपूर्ण पर्व हो । विशेष गरी हिन्दु महिलाका माझ प्राचीन कालदेखि नै लोकप्रिय रहेको तीज पर्व पछिल्लो समयमा सबै जाती र वर्गमा पनि प्रसिद्ध बनेको छ । सबै चेली जम्मा भएर सुखदुःख साटासाट गर्ने यो पर्व महिलाका लागि रमाइलो चाड हो । पछिल्लो समयमा तीज आधुनिकतातर्फ गए पनि यसको मौलिक संस्कृति बिर्सन हुँदैन भन्छन्, धर्मगुरु जनार्दन न्यौपाने । ‘अधुनिकताका नाममा हाम्रो धर्म, संस्कृति र परम्परा बिर्सनुहुँदैन । मौलिक संस्कृतिको रक्षा गर्नुपर्छ’, उनले भने ।

हिन्दु धार्मिक ग्रन्थअनुसार राजा हिमालयले छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् । उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिइकन लामो समय निराधार व्रत बसिन् । यसरी पार्वतीको कठोर बर्तको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशीर्वाद दिएपछि शिव पार्वतीको विवाह हुन पुग्यो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । सोही तिथिदेखि हिन्दु नारीले यस दीनलाई उत्सवका रूपमा मनाउन थालेका हुन् ।

संस्कृत शब्दको तृतीयाबाट बोलिचालीको भाषामा तीज हुन गएको हो । तीजलाई हरितालिका पनि भनिन्छ । ‘हरित’ को अर्थ हरण गरिएको र ‘आलिका’ को अर्थ साथी हुन्छ । भाद्र शुक्ल तृतीयाको दिन पार्वतीलाई विष्णुसँग निश्चय गरिएको विवाहबाट जोगाउन उनका खुसीले हरण गरेर लुकाएका कारण यस दिनलाई हरितालिका भनिएको हो । शिव पार्वतीको यसै दिन विवाह भएका कारण तीजलाई प्रणय दिवसका रुपमा लिइने संस्कृतिविद् राजेन्द्र आचार्य बताउँछन् ।

हिन्दु कथामा आधारित तीज अहिले पर्वका रुपमा विकसित भएको छ । पार्वतीको सिको गर्दै आफूले रोजेको वा असल पति पाउन विवाह नभएका महिला व्रत बस्न थाले । आफ्ना पतिको दीर्घायुका लागि विवाहित महिला व्रत बस्ने गर्छन् । तीजको सम्बन्ध माइतीपक्ष र गीतसँग गाँसिएको छ । 

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  २ : ४० बजे

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक बस्दैछ। बैठक दिउँसो सवा १

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं- नेपाली कांग्रेसले आज बिहान बस्ने गरि संसदीय कार्यसमिति र

जबरजस्ती करणीको जाहेरी परेपछि फरार एमाले नेता विदुर शर्मा

काठमाडौं– नेकपा एमाले दोलखाका नेता विदुर शर्मा फरार भएका छन्।

विश्वकपअघि नेपालले अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने

काठमाडौं– नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग अभ्यास खेल

देशका केही स्थानमा हावा हुरीसहित वर्षाको सम्भावना

काठमाडौं–  हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव