नयाँ वर्षमा नगरा बजाइने | Khabarhub Khabarhub

नयाँ वर्षमा नगरा बजाइने


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ–काठेखोला गाउँपालिका–४ तङ्ग्राममा निर्माणाधीन लोकबाजा सङ्ग्रहालयमा रहेको नगरा (दमाहा) सालैपिच्छे नयाँ वर्षका दिन बजाइने भएको छ । २८० किलोको सो नगरलाई वर्षको एकपल्ट वैशाख १ मा बजाइने भएको हो ।

सङ्ग्रहालय बनाइरहेको गाउँमैत्री अक्षयकोषले त्यसलाई ‘देशकै ठूलो’ नगरा भनेर दाबी गर्दै आएको छ । अक्षयकोषका अध्यक्ष हेमराज आश्रमका अनुसार शनिबारको आम भेलाले नयाँ वर्षका दिन दिउँसो १२ बजे नगरा बजाउने निर्णय गरेको हो ।

नगरा बज्नुअघि चैत मसान्तको मध्यरात १२ बजेदेखि १२ घण्टासम्म अखण्ड सङ्र्कीतन गरिने अध्यक्ष आश्रमले बताए । ‘अखण्ड सङ्र्कीतन लगत्तै नयाँ वर्षको सन्देशसहित नगरा बजाउन सुरु हुन्छ’, उनले भने । नगरा स्थानीय परियार समुदायभित्रैबाट बजाउने गरी थिती बसालिने अक्षय कोषले जनाएको छ । त्यसका लागि दुई जना ‘नगर्ची’ छनोट हुनेछन् । त्यो परम्परा उनीहरुका सन्ततीमा सर्दै जाने उनले बताए । नगरा बजाउने ‘गज’ श्रीखण्डको हुने जनाइएको छ ।

सो दिन नयाँ वर्षको सुखद् कामनासहित नगरामा दानदक्षिणा अर्पण गर्न सकिने प्रबन्धसमेत मिलाइने भएको छ । सो भेटी रकममध्ये ५० प्रतिशत नगर्चीलाई र ५० प्रतिशत अक्षय कोषमा रहनेछ । अक्षय कोषमार्फत त्यो रकम कल्याणकारी कार्यमा खर्च गरिनेछ । नयाँ वर्षबाहेक अन्य कुनै पनि दिनमा सो नगरा नबज्ने अक्षय कोषले जनाएको छ । नगरा अवलोकन भने अघिपछि पनि गर्न सकिनेछ । अक्षय कोषले गत असारमा सो नगरा निर्माण गरेको थियो । स्थानीय कालिगढले १८ दिन लगाएर नगरा बनाएका थिए ।

रु पाँच लाखमा बनेको नगरामा २२२ किलो तामा र १५ किलो फलाम प्रयोग भएको छ । सात फिट गोलाइ रहेको नगरलाई मोड्न एक हजार ४०० फिट छालाको तुना लागेको थियो । नगरालाई चाहिने भैँसीको छाला भारतको बिहारबाट ल्याइएको थियो । परम्परागत आरान प्रविधिबाट नगरा बनाइएको हो । नगरा निर्माणमा कालिगढ रवीलाल, जरसिंह विकले तामा र लालबहादुर किसान, जगबहादुर र सरबहादुर विकले छालाको काम गरेका थिए ।

नगरा बनाउँदा कालिगढ र सहयोगीसमेत गरी ५० जना खटिएका थिए । अध्यक्ष आश्रमले मल्लकालमा बनेको काठमाडौँ, हनुमानढोकामा रहेको नगराको गोलाइ साढे ६ फिट मात्र रहेकाले यहाँ निर्मित नगरा ‘देशकै ठूलो’ रहेको बताए । यहाँको नगराको गोलाइ सात फिट र उचाइ छ फिटभन्दा केही बढी छ ।

कला, सङ्गीत र साहित्यको संरक्षणमा क्रियाशील अक्षयकोषद्वारा निर्माणाधीन सङ्ग्रहालयमा नगराले सांस्कृतिक र पर्यटकीय आकर्षण थपेको छ । यसले नेपाली मौलिक लोकवाद्ययन्त्रप्रति सम्मान र संरक्षणको सन्देश पनि दिएको छ । सङ्ग्रहालय निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट गत आवमा प्राप्त रु १० लाख बजेटमध्येबाट रु पाँच लाख नगरामा खर्च गरिएको थियो । बाँकी पाँच लाख सङ्ग्रहालय भवन बनाउन खर्च गरिएको अक्षय कोषले जनाएको छ ।

सङ्ग्रहालयको संरचना निर्माणसँगै लोकबाजा सङ्कलनका लागि चालू आर्थिक वर्षमा पनि प्रदेश सरकारबाट रु ५० लाख बजेट विनियोजन भएको छ । विसं २०६६ मा स्थापित अक्षय कोषले नेपालसहित विश्वभरका लोकबाजाको सङ्ग्रह गर्ने योजना बनाएको छ ।

हालसम्म नेपाली र पश्चिमेली गरी २५ प्रकारका लोकबाजा सङ्ग्रह गरिसकिएको अक्षय कोषले जनाएको छ । सङ्ग्रहालय भवनको पहिलो तलामा नेपाली, दोस्रोमा विदेशी लोकबाजा र तेस्रोमा नेपालको परम्परागत संस्कृति झल्काउने वेशभूषा र सामग्रीको सङ्ग्रह रहने अध्यक्ष आश्रमले बताए ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ४ : ०० बजे

भारतीय प्रधानमन्त्री मोदी मौरिसस भ्रमणमा

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने औपचारिक भ्रमणका

२०३० सम्म भारतमा प्रविधिको बजार ३ खर्ब ५० अर्ब डलर पुग्ने रक्षामन्त्री सिंहको दाबी

काठमाडौं – भारतीय रक्षामन्त्री राजनाथ सिंहले सन् २०३० सम्म आफ्नो

फ्रान्सेली नागरिकलाई नेपाल भ्रमण गर्न मन्त्री पाण्डेको आग्रह

पेरिस – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले

सन् २०२६ मा भारतको जीडीपी ६.५ प्रतिशतले बढ्ने पूर्वानुमान

काठमाडौं – आगामी वर्ष सन् २०२६ मा भारतको वास्तविक कुल

समाजवादी मोर्चाले चैत १५ गते गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने

काठमाडौं – समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा गणतन्त्रको पक्षमा