विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम « Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

आज वैशाख १८, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार मे १, २०२३ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

उज्बेकिस्तानमा संविधान सुधारको पक्षमा मतदान : निर्वाचन आयोग

मध्य एसियाली मुलुक उज्बेकिस्तानका मतदाताले राष्ट्रपति शावकत मिर्जियोयेभलाई सन् २०४० सम्म सत्तामा रहिरहन सक्नेगरी गरिएको संवैधानिक परिवर्तनको पक्षमा मतदान गरेको त्यहाँको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार करिब ९० प्रतिशत मतदाताले सुधारको समर्थन गरेका छन् । त्यहाँ आयोजित जनमत सङ्ग्रहमा करिब ८५ प्रतिशत मतदाता सहभागी भएको बताइएको छ । मतदानको नतिजाबारे प्रतिक्रिया जनाउँदै अधिकारवादी समूहहरूले सरकारको अधिनायकवादी प्रवृत्तिले असहमतिका लागि ठाउँ सीमित गरेको बताएका छन् ।

तत्कालिन शासक इस्लाम करिमोभको सन् २०१६ मा मृत्युपछि ६५ वर्षीय मिर्जियोयेभ राष्ट्रपति बनेका थिए । तीन करोड ५० लाख जनसङ्ख्या भएको भूपरिवेष्ठित मुलुकमा संविधान संशोधनले शासन व्यवस्था र जीवनस्तरमा सुधार ल्याउने उनको भनाइ छ ।

तर पर्यवेक्षकहरूका अनुसार मिरजियोयेभलाई मुस्लिम बहुल देशमा सबैभन्दा बढी फाइदा पुग्ने अपेक्षा गरिएको छ ।

प्रस्तावित परिवर्तनले राष्ट्रपतिको कार्यकाल पाँच वर्षबाट बढाएर सात वर्ष पुर्‍याउनेछ र उनलाई थप दुई कार्यकाल सेवा गर्न सक्ने आधार मतदानबाट मिलेको छ । यस संशोधनसँगै उनले सन् २०४० सम्म आफ्नो कार्यकाल लम्ब्याउन सक्नेछन् ।

द्वन्द्व समाधानका लागि राष्ट्रसङ्घीय प्रतिनिधि सुडान जाँदै

सुडानमा देखिएको ‘अकल्पनीय’ परिस्थितिलाई समन्वय गरी सामान्य पार्न संयुक्त राष्ट्रसङ्घीय दूतलाई त्यहाँ पठाइने भएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले राजधानी खार्तुममा सेना र सशस्त्र अर्धसैनिक बलबीच व्यापक लडाईं जारी भएपछि यो घोषणा गरेका हुन् ।

महासचिव गुटेर्रेसले सुडानमा युद्धविराम घोषणाको ७२ घण्टामा सहमतिलाई व्यापक रूपमा उल्लङ्घन गरिएको भन्ने जानकारीपछि नयाँ टाली त्यसतर्फ पठाउन निर्देशन दिएको प्रवक्ता स्टेफन दुजारिकले बताए ।

संयुक्त राष्ट्रसङ्घका आपतकालीन राहत संयोजक मार्टिन ग्रिफिथ्सले आइतबार एक छुट्टै वक्तव्य जारी गर्दै सुडानको मानवीय अवस्था बिग्रँदै गएको बताएका छन् ।

उनले भने, “रातारात अकल्पनीय तथा कहालीलाग्दो हिंसा यापन गरेका लाखौं मानिसलाई तत्काल कसरी राहत दिन सकिन्छ भनेर खोजी गर्न म यस क्षेत्रमा जाँदैछु ।”

तथापि, मानवीय कार्यालयहरू र गोदामहरूमा भएको ठूलो लुटपाटले अधिकांश आपूर्तिहरू नष्ट गरिदिएको बताउँदै उनले थप सामग्री ल्याउन र वितरण गर्न तत्काल उपायको खोजी गरिरहेको बताए । उनले भने, “त्यहाँको समाधान भनेको युद्ध रोक्नु हो ।”

गत अप्रिल १५ मा भएको हिंसात्मक झडपमा परी ५०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो भने दशौँ हजार मानिस आफ्नो घर छाडेर देशभित्रै वा विदेशमा सुरक्षित स्थानमा जान बाध्य भएका छन् ।

“सुडानमा तीव्र गतिमा बिग्रँदो मानवीय सङ्कटलाई मध्यनजर गर्दै ग्रिफिथ्सको त्यसतर्फ जान लागेको गर्दै प्रवक्ता स्टेफन दुजारिकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सुडानका लागि राष्ट्रसङ्घीय प्रतिनिघिले तत्काल यस क्षेत्रको भ्रमण गर्नुहुनेछ ।”

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सुडानमा जुन परिमाणमा मानिसहरू हताहत भएका छन् त्यो अकल्पनीय छ । हामी निकै चिन्तित छौं ।”

ग्रिफिथ्सका अनुसार परिवारहरू पानी, खाद्यान्न, ईन्धन र अन्य वस्तुहरू प्राप्त गर्न संघर्ष गरिरहेका छन्, केहीले सबैभन्दा बढी प्रभावित क्षेत्रहरूबाट बाहिर ढुवानीको लागतको कारण स्थानान्तरण गर्न असमर्थ छन् ।

उनले भने, “स्वास्थ्य सेवा तत्कालका लागि अत्यन्तै सीमित छ, जसले रोकथाम गर्न सकिने मृत्युको जोखिम बढाउँछ ।”

सुडानको बन्दरगाहमा पाँच कन्टेनर इन्ट्राभेनस फ्लुइड र अन्य आपतकालीन सामग्रीहरू अधिकारीहरूको स्वीकृतिको पर्खाइमा राखिएको उनले बताए ।

संयुक्त राष्ट्रसङ्घद्वारा अफगानिस्तानबारे कतारमा वार्ता, तालिवान भने अनुपस्थिति

अफगानिस्तानका महिलालाई काम गर्न र बालिकाहरूलाई विद्यालय जान दिन दबाब सिर्जना गर्ने विषयमा सोमबारदेखि संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा कतारमा सुरु हुन लागेको वार्तामा तालिवान अनुपस्थित हुने भएको छ ।

संयुक्त राष्ट्रङंघका महासचिव एन्टोनियो गुटेर्रेसले दुई दिनसम्म सञ्चालन गरेको वार्तामा संयुक्त राज्य अमेरिका, चीन र रूसका साथै प्रमुख युरोपेली सहायता दाताहरू र पाकिस्तानजस्ता प्रमुख छिमेकीहरूका साथै करिब २५ देश र समूहका प्रतिनिधिहरू सहभागी छन् ।

तालिवान सरकारलाई आमन्त्रण गरिएको छैन र बैठकअघि नै प्रशासनको मान्यताको प्रश्न उठेको छ ।

सन् २०२१ को अगष्टमा सत्तामा फर्केका तालिवान शासकहरूलाई मान्यता दिने कुनै पनि कदमको विरोधमा अफगानी महिलाहरूको एउटा सानो समूहले काबुलमा सप्ताहान्तमा विरोध प्रदर्शन गरेको थियो ।

अफगान महिला समूहको गठबन्धनले आइतबार दोहा बैठकलाई लेखेको खुला पत्रमा कुनै पनि देशले औपचारिक सम्बन्धबारे विशेष विचार गर्न र यही अवस्थामा तालिवानलाई मान्यता नदिन आग्रह गरेको छ ।

संयुक्त राष्ट्रसङ्घ र संयुक्त राज्य अमेरिकाले मान्यता कार्यसूचीमा नरहेको बताउँदै आएका छन् ।

संयुक्त राष्ट्रसङ्घका उपमहासचिव अमिना मोहम्मदले गत महिना दोहाको बैठकले तालिवान सरकारलाई ‘सैद्धान्तिक मान्यता’ दिने ‘सानो कदम’ पत्ता लगाउन सक्ने बताएकी थिइन् ।

संयुक्त राष्ट्रसङ्घले उक्त टिप्पणीको गलत व्याख्या गरिएको जनाएको छ । कुनै पनि देशले तालिबान प्रशासनसँग औपचारिक सम्बन्ध स्थापित गरेका छैनन् र संयुक्त राष्ट्रसङ्घको सदस्यता संयुक्त राष्ट्रसङ्घको महासभाले मात्र तय गर्न सक्छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेर्रेस दोहा पुग्नुअघि उनको कार्यालयले महिला तथा बालिकाको अधिकार, समावेशी शासन, आतङ्कवाद र लागूपदार्थको ओसारपसारविरुद्ध लड्नका लागि तालिबानसँग कसरी सहकार्य गर्ने भन्ने विषयमा अन्तर्राष्ट्रिय समुदायभित्र साझा समझदारी हासिल गर्ने उद्देश्यले उक्त बैठक आयोजना गरिएको जनाएको छ ।

फिलिपिन्स सैन्य मञ्चन गर्ने स्थल बन्ने छैन : राष्ट्रपति मार्कोस

फिलिपिनी राष्ट्रपति फर्डिनान्ड मार्कोसले आफ्नो अमेरिका भ्रमणका क्रममा अमेरिकी समकक्षी जो बाइडेनसँग सोमबार हुन् भेटवार्ताअघि फिलिपिन्सलाई सैन्य कारबाहीका लागि ‘स्टेजिङ पोस्ट’ बन्न नदिने बताएका छन् ।

फिलिपिन्स र यस क्षेत्रका सहयोगी राष्ट्रहरूले चीनको बढ्दो आक्रामकता र विवादित पानी, टापुहरू र किनारहरूमा चीनको व्यापक दाबीको सामना गर्न चाहन्छन् । यसैका लागि मनिलाले हालै वासिङ्टनलाई थप फिलिपिनी सैन्य अखडाहरूमा पहुँच प्रदान गरेको छ ।

‘फिलिपिन्सलाई अन्य कुनै पनि देशले संलग्न गराउने कुनै पनि उत्तेजक कार्यलाई हामी प्रोत्साहन गर्ने छैनौंर’, मार्कोसले आइतबार वासिङ्टन जाने क्रममा विमानमा पत्रकारसँग भने ।

‘हामी फिलिपिन्सलाई कुनै पनि प्रकारको सैन्य कारबाहीका लागि ‘स्टेज पोस्ट’ को रूपमा प्रयोग गर्न दिने छैनौँ ।’

फिलिपिन्सको तटरक्षक बलको जहाजसँग ठोक्किएपछि दक्षिण चीन सागरमा ‘उत्तेजक र असुरक्षित आचरण’ रोक्न अमेरिकाले चीनलाई आग्रह गरेपछि मार्कोसको यो भ्रमण हुन लागेको हो ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले शनिबार भने, ‘हामी बेइजिङलाई आफ्नो उत्तेजक र असुरक्षित आचरणबाट अलग रहन आग्रह गर्दछौँ’। मनिला र वासिङ्टनबीच सन् १९५१ मा भएको पारस्परिक प्रतिरक्षा सम्झौता छ ।

अप्रिल २३ को घटना दुवै पक्षको हताहती निम्त्याउन सक्ने दुर्घटना नजिकको घटना थियो, ”फिलिपिन्सको राष्ट्रपति भवनले जारी गरेको विज्ञप्तिमा मार्कोसले भने । ‘हामी यही कुराबाट बच्न चाहन्छौँ,’ उनले थपे ।

फिलिपिन्सका नेताले यसै वर्षको सुरुमा बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग दक्षिण चीन सागरमा अतिव्यापी दाबीसँग सम्बन्धित विषयमा ’प्रत्यक्ष सञ्चार संयन्त्र’ स्थापना गर्न भएको सहमतिलाई पालना गर्न चीनलाई आग्रह गरेका छन् ।

मार्कोसका अनुसार मनिलाले आफ्नो टोली गठन गरेको छ भने बेइजिङले यस सम्बन्धमा अझै कुनै कदम चालेको छैन ।

बेइजिङले दक्षिण चीन सागरको लगभग सम्पूर्ण भूभागमा आफ्नो सार्वभौमिकता दाबी गर्दै आएको छ र अन्तर्राष्ट्रिय अदालतको फैसलालाई ‘बेवास्ता’ गरेको छ ।

मार्कोसले चीनलाई समुद्रमा फिलिपिन्सको अधिकारकुण्ठित हुन नदिने बताउँदै आएका छन्, र रक्षा सम्बन्धलाई मजबुत बनाउन अमेरिकातर्फ आकर्षित भएका छन् ।

गत महिना फिलिपिन्सले चार वटा सैन्य अखडाको पहिचान गरेको थियो, जसमा पाँच वटा विद्यमान स्थलका अतिरिक्त अमेरिकी सेनाको पहुँच हुनेछ । जसमध्ये एउटा विवादित स्प्राट्ली टापु नजिक र दुई वटा ताइवानको सामना गर्नुपर्ने छ ।

मेक्सिकोमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु

मेक्सिकोको पश्चिमी राज्य नायरिटकाे राजमार्गमा पर्यटक बस पल्टिँदा करिब १८ जनाको मृत्यु भएको छ । साथै उक्त दुर्घटनामा ३३ जना घाइते भएका स्थानीय अधिकारीले सोमबार जानकारी दिएका छन् ।

नायरिट राज्यका महान्यायाधिवक्ताको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार, ‘शनिबार राति १५ मिटर गहिरो खाल्डोमा गाडी खस्दा त्यसमा सवार ११ महिला र सात पुरुषको मृत्यु भएको छ भने घाइतेलाई राज्यका तीन वटा अस्पतालमा उपचारका लागि पठाइएको हो ।’

पर्यटक बस जालिस्कोको ट्लाजोमुल्कोबाट नायरिटको समुद्री किनारको गन्तव्य ग्वायाबिटोसतर्फ गइरहेको समयमा दुर्घटनामा परेको जलिस्को राज्यका गभर्नर एनरिक अल्फारोले पुष्टि गरे ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ७ : ५९ बजे

कांग्रेसको महाधिवेशनबारे शंकर तिवारी : हुने छाँट देखिएन, विशेष महाधिवेशनतिर जाऔँ

काठमाडौं- नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले पार्टी केन्द्रले तत्काल

आगो, हिटर र गिजरको प्रयोगमा सावधानी अपनाऔँ : स्वास्थ्य मन्त्रालय 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर बाल्दा

चिसोका कारण एक सातादेखि जनजीवन प्रभावित

जलेश्वर– पछिल्लो एक सातायतादेखि चिसो अत्यधिक बढेसँगै जिल्ला सदरमुकाम जलेश्वरसहित

ओलीको स्थान हदबारे सरकारका प्रवक्ता भन्छन् : चुनावका सबै उल्झन हटाइन्छ

काठमाडौं- सरकारले फागुन २१ गते हुन लागेको निर्वाचनको वातावरण बनाउन

काठमाडौंको नगरसभामा उपप्रमुख डंगोलले भनिन्- जनमुखी नीति तथा कार्यक्रम ल्याएका छौँ

काठमाडौं- काठमाडौं महानगरपालिकाको १५औँ नगर अधिवेशनमा उपप्रमुख सुनिता डंगोलले महानगरको