‘केन्द्रीय कारागार’ व्यवस्थापनमा चुनौती  « Khabarhub

 ‘केन्द्रीय कारागार’ व्यवस्थापनमा चुनौती 


१८ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कारागारको क्षमताभन्दा बढी कैदीबन्दी हुँदा काठमाडौँको जगन्नाथदेवलमा रहेको देशकै सबैभन्दा पुरानो ‘केन्द्रीय कारागार’  व्यवस्थापनमा चुनौती बन्दै गएको छ । विसं १९७१ मा ४३ रोपनी क्षेत्रफलमा स्थापना भएको केन्द्रीय कारागारमा अहिले क्षमताभन्दा दुई गुणा बढी कैदीबन्दी रहेका छन् । केन्द्रीय कारागार परिसरभित्र हाल केन्द्र, भद्र र महिला गरी तीन वटा जेल रहेका छन् ।

केन्द्रीय कारागार सुन्धाराका कारागार प्रशासक ईश्वरीप्रसाद पाण्डे एक हजार पाँच सय क्षमता रहेको केन्द्रीय कारागार सुन्धारामा हाल तीन हजार चार सय ४८ कैदीबन्दी रहेको बताउँछन्। ‘कारागारको क्षमताभन्दा दुई गुणा बढी कैदीबन्दी अहिले केन्द्रीय कारागारमा छन्’, उनले भने ।

हाल केन्द्रीय कारागार परिसरभित्र रहेको केन्द्र जेलमा एक हजार नौ सय दुई, भद्र जेलमा एक हजार एक सय २२ र महिला जेलमा चार सय २४ कैदीबन्दी रहेका छन् । जसमध्ये केन्द्रीय कारागारमा एक हजार सात सय २० कैदी, एक हजार सात सय ३८ थुनुवा र १४ नाबालक रहेका छन् । जसमा दुई सय ५८ विदेशी कैदीबन्दी छन् ।

अदालतबाट मुद्दा फैसला भई कारागार सजाय भोगिरहेकालाई ‘कैदी’ र अदालतमा मुद्दा चलिरहेका तर फैसला नभई कारागार सजाय भोगिरहेकालाई ‘बन्दी’ भनिन्छ । देशको राजधानी काठमाडौँमा धेरै आपराधिक क्रियाकलाप हुने भएका कारण पनि अपराध गरेर कारागारभित्र आउनेको सङ्ख्या बढी भएको कारागार प्रशासक पाण्डे बताउँछन् । विसं १९७१ मा निर्माण गरिएका संरचनाबाहेक अहिले केही संरचना निर्माण भए पनि कैदीबन्दीलाई भने अझै अपुग भएको छ ।

केन्द्रीय कारागारको जिम्मा नेपाल प्रहरीले दिँदै आएको छ । काठमाडौँको केन्द्रीय कारागार, डिल्लीबजार कारागार र नख्खु कारागारको सुरक्षाका लागि नेपाल प्रहरीले प्रहरी नायब उपरीक्षक (डिएसपी)को कमाण्डमा तीन सय ७६ प्रहरी परिचालन गरेको छ । केन्द्रीय कारागारसहित तीनवटै कारागारको सुरक्षामा खटिएका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापा कारागारभित्र सिसी क्यामरा जडान गरिएका कारण कैदीबन्दीको सुरक्षामा सहजता भएको बताउँछन् । हाल केन्द्रीय कारागारमा दुई सय ५० र बाँकी दुई कारागारमा एक सय २६ प्रहरी कारागारको सुरक्षामा खटाइएको उनको भनाइ छ । केन्द्रीय कारागारबाहेक हाल डिल्लीबजार कारागारमा छ सय ३४ र नख्खु कारागारमा एक हजार तीन सय ९७ कैदीबन्दी रहेका छन् ।

यस्तै केन्द्रीय कारागारभित्र कारागार अस्पतालसमेत सञ्चालनमा रहेको छ । छ जना विशेषज्ञ डाक्टरसहित रहेको उक्त अस्पताल ३० श्ययाको रहेको छ । सो अस्पतालबाट कैदीबन्दीको छाला, मधुमेह, जन्डिस, श्वासप्रश्वास, फोक्सोको समस्या, हातगोडा पाक्ने र सुनिनेलगायतका रोगको उपचार हुँदै आएको छ ।

केन्द्रीय कारागार साँघुरो हुँदै गएपछि सरकारले नुवाकोटको विदुर नगरपालिका वडा नं ६ खम्बाली क्याम्पमा केन्द्रीय कारागार निर्माणको कामलाई अगाडि बढाएको छ भने बाँकेको झुम्कामा क्षेत्रीय कारागार निर्माण गर्न लागेको छ । विसं २०७० चैत २० को मन्त्रिपरिषद्को बैठकले काठमाडौँस्थित केन्द्रीय कारागारलाई नुवाकोटमा स्थानान्तरण गर्ने निर्णय गरेअनुसार नुवाकोटमा केन्द्रीय कारागार निर्माणको कामले तीव्रता पाएको हो । उक्त कारागारमा सात हजार कैदीबन्दी अटाउनेछन् भने बाँकेमा तीन हजार कैदीबन्दी अट्नेछन् ।

कारागार व्यवस्थापन विभागका अनुसार हाल देशभरका ७२ जिल्लामा ७४ कारागार रहेका छन् । काठमाडौँ र दाङमा दुईरदुई वटा कारागार रहेका छन् भने भक्तपुर, बारा, धनुषा, पूर्वी नवलपरासी र पूर्वी रुकुममा कारागार छैनन् । अहिले देशभर २५ हजारको हाराहारीमा कैदीबन्दी रहेका छन् ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ३ : २६ बजे

अमेरिका पठाउने बहानामा ३८ लाख ठगी गर्ने महिला पक्राउ

काठमाडौं – अमेरिका पठाउने बहानामा रु ३८ लाख ५० हजार

सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला, संगठन सुदृढीकरणमा जोड

सुर्खेत – जनता समाजवादी पार्टी (जसपा) नेपालको कर्णाली प्रदेशस्तरीय अगुवा

आईसीसी ‘प्लेयर अफ दि मन्थ’को मनोनयन सूचीमा दिपेन्द्र सिंह ऐरी

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० क्रिकेट टोलीका कप्तान तथा अलराउन्डर

भारतीय पर्यटक तान्न नाट्टा गण्डकीको ‘कलकत्ता मिसन’

पोखरा – पर्यटकीय राजधानी पोखरालाई भारतीय पर्यटकको रोजाइको केन्द्र बनाउने

बीमाको लोभमा ‘चोरी’को नाटक : आफ्नै सुन पसल लुटिएको भन्दै उजुरी दिने सञ्चालक नै पक्राउ

बुटवल – बीमा रकम हात पार्ने उद्देश्यले आफ्नै सुनचाँदी पसलमा