बीआरआईका केही आयोजना अनुदानमा निर्माण गरिदिन चीनलाई माओवादी नेताको प्रस्ताव | Khabarhub Khabarhub

बीआरआईका केही आयोजना अनुदानमा निर्माण गरिदिन चीनलाई माओवादी नेताको प्रस्ताव


१९ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सन्देशका रुपमा बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गत केही आयोजना अनुदानमा निर्माण गरिदिन प्रस्ताव गरेका छन् ।

माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा नेतृत्वमा चीन पुगेको टोलीले चिनियाँ कम्युनिष्ट पार्टीका नेतासँगको भेटमा प्रधानमन्त्री दाहालको सन्देशसहित उक्त प्रस्ताव गरेका हुन् ।

सस्तो ब्याजमा नभई केही आयोजना अनुदानमा निर्माण गरिदिए आर्थिक विकासमा फड्को मार्न सजिलो हुने प्रधानमन्त्रीको सन्देश आफूहरुले चिनियाँ पक्षसँग राखेको नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका उपाध्यक्ष सापकोटाले जानकारी दिए । भ्रमण अगाडि आफूले प्रधानमन्त्रीसँग भेट गरेको र कुन विषयमा छलफल गर्ने भनेर परामर्श लिएको उनले बताए ।

“प्रधानमन्त्रीले जुलाई अन्तिम तथा अगष्टमा चीनको भ्रमण हुन्छ भन्नुहोला, बीआरआईअन्तर्गत सस्तो व्याजमा ऋण भनिएको छ, केही योजना अनुदानमा निर्माण गरिदिए आर्थिक विकासमा फड्को मार्न सजिलो हुन्छ भन्ने थियो”, उपाध्यक्ष सापकोटाले भने, “मैले प्रधानमन्त्री सन्देश जोड दिएर राखेँ ।”

उक्त सन्देशलाई चिनियाँ पक्षले सकारात्मक रुपमा लिएको र राष्ट्रपति एवं चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी जिन्पिङसम्म पुर्याउने विश्वास दिलाएको उपाध्यक्ष सापकोटाले जानकारी दिए ।

अन्तर्राष्ट्रिय व्यापारिक नाका निर्वाध रुपमा सञ्चालन गर्ने विषयमा पनि आफूहरुले कुरा राखेको उनको भनाइ छ । “अहिले केही नाका खुलेका छन्, तर तीनलाई व्यवस्थित र सुचारु गर्न बाँकी छ । तातोपानी, केरुङ, कोरला, यारीलगायत नाका सञ्चालन गर्न आग्रह गरेका छौँ”, उनले भने, “उहाँहरु सकारात्मक हुनुहुन्छ ।”

उपाध्यक्ष सापकोटाले काठमाडौँ–ल्हासा सिधा उडान गर्न आफूहरुले गरेको आग्रहलाई चिनियाँ पक्षले सकारात्मक प्रतिक्रिया दिएको बताए । “हामीले एक चीन नीतिका दृढताका साथ समर्थन गर्यौँ, असंलग्न परराष्ट्र नीतिमा पनि प्रतिबद्ध रहेको र त्यहीअनुसार पञ्चशीलको सिद्धान्त, संयुक्त राष्ट्र सङ्घको बडापत्रप्रति हामी प्रतिबद्ध छौँ भनेर विश्वास दिलायौँ”, उनले भने ।

चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुले नेपालमा कम्युनिष्ट पार्टीको पुनःगठन भए आफूहरुलाई खुसी लाग्ने सन्देश दिएको उपाध्यक्ष सापकोटाले जानकारी दिए । “एउटा कम्युनिष्ट पार्टीले अर्को मित्र कम्युनिष्ट पार्टीलाई वाम एकता होस्, कम्युनिष्ट पार्टीका पुनःगठन होस् भन्ने सद्भाव राख्ने कुरा त भइहाल्यो”, उनले भने, “तर उहाँहरुले बारम्बार के भन्नुहुन्थ्यो भने निर्णय गर्ने तपाईँहरुले हो, त्यसो भए हामीलाई राम्रो लाग्छ, खुसी लाग्छ, भनेर भन्नुभएको छ ।”

अहिलेको पस्थितिमा नेपाल र चीनको सम्बन्धलाई प्रगाढ र मैत्रीपूर्ण बनाउने आवश्यकता रहेको उल्लेख गर्दैै उनले दुई देशको सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएको बताए ।

“चीनले आर्थिक क्षेत्रमा धेरै प्रगति गरेको छ, चीनबाट धेरै सिक्न सक्ने विषय छन् । नेपाल–चीन सम्बन्धलाई मैत्रीपूर्ण, सुदृढ र घनिष्ठ बनाउँदा नै हामीले विश्व राजनीतिमा महत्वपूर्ण भूमिका खेल्न सक्छौँ”, उनले भने ।

भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका प्रमुखलगायत विभिन्न प्रान्तका पार्टी प्रमुख र सेक्रेटरीसँग छलफल भएको उनले जानकारी दिए । “अहिले छलफलमा आवश्यक भएका विषय र मिलेर अगाडि बढ्ने विषयमा बृहत कुराकानी भयो”, उनले भने, “भ्रमण उपलब्धिमुलक र फलदायी रह्यो ।”

प्रकाशित मिति : १९ जेठ २०८०, शुक्रबार  ५ : ३८ बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ? जप्नुहोस् यी ११ मन्त्र

काठमाडौँ- आज मंगलबार भगवान गणेशको पूजा, अर्चना र व्रत बस्दा

आज २०८० साल असोज १६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८० साल असोज १६ गते मंगलबार। ज्योतिष

पछिल्लो राजनीतिक उपलब्धि अहिंसात्मक बाटोबाटै प्राप्त भएको हो : सभापति देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा पछिल्लो

पाकिस्तानले ११ लाख अफगान शरणार्थीलाई स्वदेश फर्काउने

इस्लामावाद- पाकिस्तानले मुलुकमा रहेका ११ लाख अफगान शरणार्थीलाई स्वदेश फर्काउने

वीरगञ्जको घण्टाघरबाट बत्ती चोर्ने दुई पक्राउ

वीरगञ्ज- वीरगञ्जस्थित घण्टाघरलाई उज्यालो र आकर्षक बनाउन वरिपरि जडान गरिएको