नेवार समुदायका युवा बाजा संरक्षणमा अग्रसर  « Khabarhub

नेवार समुदायका युवा बाजा संरक्षणमा अग्रसर 


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

नवलपरासी पूर्व– नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोतीमा नेवार समुदाय भाषा र संस्कृतिको संरक्षणमा जुटेको छ । आफ्नो भाषा र संस्कृति जगेर्ना गर्ने उद्देश्यले नेवार समुदाय यतिबेला धिमे बाजा, मादल र झ्याली संरक्षण अभियानमा सक्रिय भएर लागेको छ ।

नेवार समुदायका युवालाई वाद्यवादनसम्बन्धी प्रशिक्षणसमेत सञ्चालन गरिएको सिका नेवाः गुठी कावासोतीका अध्यक्ष रामचन्द्र श्रेष्ठले बताए । ‘धिमे बाजा नेवार समुदायमा शोकबाहेक अन्य सबै शुभकार्यमा बजाइने बाजा हो । तर, यही बाजाको संरक्षण नभएर लोपोन्मुख अवस्थामा पुगेको छ’, उनले भने ।

कावासोती नगरपालिका–२ का रबिन श्रेष्ठ यतिखेर धिमे बाजा बजाउन व्यस्त छन् । नेवार भएर नेवार समुदायको बाजा बजाउन नआउँदा खिन्न हुनुपरेको उनको विगतको अनुभव छ । तर, अहिले उनी खुसी छन् । सोही ठाउँकी आकृति श्रेष्ठको पनि आफ्नो समुदायको पौराणिक धिमे, मादल र झ्याली बाजा बजाउन सिक्न थालेको केही हप्तामा नै सहज लाग्न थालेको अनुभव छ ।

आफ्नो समुदायको बाजा बजाएको टेलिभिजनमा मात्र देखेकी थिए । तर, अहिले मलाई नै यी बाजा बजाउन आउँछ’, उनले भनिन् । यो बाजा पुरुषले मात्र बजाउनुपर्छ भन्ने मान्यता रहे पनि स्थानीय सुनिता श्रेष्ठले आफैँ अग्रसर भएर यो बाजा बजाउन सिकेको बताइन् । कक्षा १२ को परीक्षा दिएर बसेको खाली समयलाई आफ्नो धर्म संस्कृति जगेर्ना गर्न सदुपयोग गरेको उनको भनाइ छ ।

अब नेवार समुदायमा आयोजना गरिने विभिन्न कार्यक्रममा सहभागी हुँदै धिमे बाजा बजाउन सक्ने भएकी छु’, श्रेष्ठले भनिन् । आफ्नो कला र संस्कृति लोप हुँदै गएको महसुस गरी सुनिता, आकृति र रबिनसहित झन्डै २० जनाले यो बाजा बजाउन सिकेका छन् । सुरुसुरुमा धिमे बाजा बजाउन असहज भए पनि अहिले बजाउँदा आनन्द आउने गरेको उनीहरुको भनाइ छ ।

सिका नेवाः गुठी कावासोतीले नेवारी कला, संस्कृति र सीप संरक्षणका लागि भन्दै आयोजना गरेको ४५ दिने तालिममा सहभागी भएर स्थानीय युवाले बाजा बजाउन सिकेका छन् । 

पर्व र संस्कृतिका धनी नेवार समुदाय आफ्नो जातीय पहिचान जोगाउन प्रयत्नशील रहे पनि सरकारी निकायबाट सहयोग नपाइएको सिका नेवाः गुठी कावासोतीका अध्यक्ष रामचन्द्र श्रेष्ठले बताए । ‘धिमे बाजा’ नेवार समुदायमा विभिन्न चाडपर्वमा बजाउने चलन रहेको सिका नेवाः गुठीका  सांस्कृतिक समूह संयोजक रोशनकुमार श्रेष्ठले बताए ।

‘नयाँ वर्ष, विजयादशमी, दीपावली, गाईजात्रालगायत पर्वमा यो बाजा बजाउने गरिन्छ’, उनले भने, ‘अघिल्लो पुस्ताबाट नयाँ पुस्तामा वैभवपूर्ण सांस्कृतिक धरोहर हस्तान्तरण हुन नसकेर संस्कृति लोप हुने अवस्थामा पुगेका बेला बाजा संरक्षणमा जुटेका हौँ ।’ एक पुस्ताबाट अर्को पुस्तामा आफ्नो संस्कार र संस्कृति यसैगरी हस्तान्तरण गर्दै जाने लक्ष्य रहेको श्रेष्ठको भनाइ छ ।

नेवार समुदायको भाषा र संस्कृति काठमाडौँ उपत्यकामा संरक्षित भए पनि उपत्यकाबाहिर लोपोन्मुख अवस्थामा रहेको प्रशिक्षक विश्वास श्रेष्ठले बताए ।  ‘युवा पुस्ताले बाजा संरक्षणमा चासो नदेखाए संस्कृति नै लोप हुने अवस्था थियो, अहिले धेरै राम्रो काम भएको छ’, उनले भने, ‘युवा पुस्तामा पश्चिमी संस्कृतिको प्रभावका कारण आफ्नो संस्कृतिप्रतिको मोह घटेर गएको अवस्थामा यो उत्साह सराहनीय छ ।’

खासगरी धिमे, मादल र झ्याली पहिले पुरुषले मात्र बजाउने बाजाका रुपमा परिचित थियो । तर, अहिले महिलासमेत रहरलाग्दो गरी यो बाजा बजाउन अग्रसर हुन थालेको अर्का प्रशिक्षक सुस्मा श्रेष्ठले बताइन् । 

नेवार समुदायमा बुबाको मुख हेर्ने, आमाको मुख हेर्ने, देगु पूजा, गुँ पुन्ही, येँया पुन्ही, चथाः, दसैँ, तिहार, म्हःपूजा, पाँहाचह्रे, योमरी पुन्हीलगायत चाडपर्वमा मौलिक बाजा बजाउने र हर्षोल्लास मनाउने चलन रहेको सिका नेवाः गुठी कावासोतीका अध्यक्ष रामचन्द्र श्रेष्ठले बताए । 

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ९ : ०९ बजे

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रमाणको मिसिल झिकाउन जिल्ला अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा

स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

नेविसंघका अध्यक्ष शेर्पा कार्यकाल सकेर भए बिदा

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)

कर्मचारीलाई सरकारले भन्यो : तत्काल ट्रेड युनियनका कार्यालय बन्द गरेर तोकिएको काममा फर्किनू

काठमाडौँ । सरकारले ट्रेड युनियनका सबै कार्यालयहरू तत्काल बन्द गर्न