भोजपुर– भोजपुरको एक सय ३९ मिटर अग्लो छाँगे झरना पर्यटकको पर्खाइमा रहेको छ । प्रसस्त पर्यटकीय सम्भावना बोकेको यो झरना प्रचारप्रसारको अभावले ओझेलमा परेको हो ।
प्राकृतिकरुपमा मनोरम रहेको यो जिल्लाको सबैभन्दा अग्लो झरना हो । माथिबाट झरेको पानीको फोहोराले पर्यटकको मन लोभ्याउने गरेको छ ।
स्थानीयले यसलाई प्राकृतिको सुन्दर उपहारको रुपमा लिने गरेका छन् । षडानन्द नगरपालिका–३ खार्तम्छामा पर्ने यो झरना हेर्न आन्तरिक पर्यटक पुग्ने गरेका छन् । देश तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन सके राम्रो आम्दानीको स्रोत बन्ने स्थानीयको बुझाइ छ ।
झरनाको विकासका लागि षडानन्द नगरपालिका तथा प्रदेश १ सरकारको लगानीमा त्यहाँ पुग्नको लागि सिँढी बनाएर बाटो निर्माण गरिरहेको छ । भौगोलिकरुपमा विकट ठाउँमा झरना रहेकाले मानिसको उपस्थिति कम हुने गरेको छ ।
यहाँ भदौ पूर्णिमा र वैशाख पूर्णिमा गरी दुई पटक मेला लाग्ने भए पनि अन्य समयमा पनि भरना हेर्न तथा त्यहाँ रहेको धामको दर्शन गर्न मानिस पुग्ने गरेका छन् ।
झरनास्थलमा खानेपानीको व्यवस्थासँगै पानी आउँदा वस्नका लागि फलैँचासमेत निर्माण गरिएको स्थानीयको भनाइ छ । झरना आसपासमा बस्न तथा खानको लागि उचित प्रबन्ध नहुँदा समस्या हुने गरेको छ ।
सुन्दरताको चिनारी बनाएको धार्मिकरुपमा समेत महत्वपूर्ण रहेको स्थानीयवासीको भनाइ छ । यहाँ रहेको छाँगे धाममा दर्शन गरेमा चिताएको काम पूरा हुने तथा रोगव्याधि निको हुने जनविश्वास रहेको छ ।
झरनालाई विकास गर्दै पर्यटकलाई लक्षित गरेर संरचना निर्माण गर्दै सडक तथा पैदलमार्गमा व्यवस्थित गर्नसके पर्यटकलाई आउन सहज हुने स्थानीय इन्द्रप्रसाद धमलाले बताए । प्रकृतिले सुन्दर उपहार दिएको भए पनि यसबाट लाभ लिन नसेकेको उनको भनाइ छ ।
पर्यटकीयसँगै सबै धर्मको आस्थाको केन्द्र रहेकाले यसको विकासमा विशेष ध्यान दिनुपर्ने स्थानीयको माग छ । राज्यले यस्ता ठाउँको पहिचान गरेर लगानी बढाउनुपर्ने स्थानीयवासीको भनाइ छ । ओझेलमा परेका यस्ता पर्यटकीयस्थलको महत्वलाई उजागर गर्न आवश्यक रहेको स्थानीय शङ्खरप्रसाद राईले बताए ।
छाँगे झरनालाई विकास तथा विस्तार गरेर यहाँको आम्दानीको स्रोतको रुपमा स्थापित गराउने उद्देश्य रहेको षडानन्द नगरपालिकाले जनाएको छ । यसको विस्तृत परियोजना प्रतिवेदन तयार गरेर नगरपालिकासँगै केन्द्र तथा प्रदेश सरकारबाट बजेट माग गर्ने षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले बताए ।
प्रतिक्रिया