आज आश्विन १६ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अक्टोबर ३ २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।
‘दक्षिणी सुडानबाट फर्किएका हजारौँ नागरिक भोकमरीको जोखिममा’
सुडानको हिंसात्मक द्वन्द्वबाट पलायन भएका हजारौँ दक्षिण सुडानी शरणार्थीहरूले ‘भोकमरी आपत्काल’ को सामना गरिरहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । ती मध्ये ९० प्रतिशत शरणार्थीको धेरै दिन खानाबिना बितिरहेको राष्ट्रसङ्घले बताएको छ ।
सुडानका सेना प्रमुख अब्देल फत्तह अल(बुर्हान र उनका पूर्वसहायक मोहम्मद हाम्दान दाग्लोप्रति बफादार सेनाहरू बीचको लडाइँका कारण पछिल्लो पाँच महिनामा करिब तीन लाख दक्षिण सुडानी नागरिकहरू घर फर्कन बाध्य भएको राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम ९डब्लुएफपी० ले बताएको छ ।
सो संस्थाका अनुसार यो संकटले पाँच वर्षमुनिका २० प्रतिशत बालबालिका कुपोषित हुनुका साथै कम उमेरका पीडितहरूलाई गम्भीर असर पुगेको छ । मध्य अप्रिलदेखि सुरु भएको द्वन्द्वयता कम्तीमा सात हजार पाँच सय मानिसले ज्यान गुमाइसकेका छन् ।
हिंसा रोक्ने धेरै युद्धविराम असफल भएका छन् । जसका कारण हजारौँ मानिस सुडानका सीमातिर धकेलिएका छन् भने धेरै क्षेत्रमा मानवीय संकटको त्रास उत्पन्न भएको छ । दक्षिण सुडानीहरू पहिले नै व्यापक मानवीय आवश्यकताहरूको सामना गरिरहेको मुलुकमा फर्किरहेको डब्लुएफपीले जनाएको छ । ‘आज आइपुगेकाहरू द्वन्द्वको सुरुको साताहरूमा भागेका परिवारभन्दा पनि अझ धेरै कमजोर अवस्थामा छन्’, डब्लुएफपीले भनेको छ ।
विश्वको सबैभन्दा गरिब मुलुकमध्येको एक दक्षिण सुडान सन् २०११ मा सुडानबाट स्वतन्त्र भएको थियो । तर स्वतन्त्र भएको केही समयमै हिंसात्मक द्वन्द्वको चपेटामा पर्दा भर्खरै जन्मेको देश विभाजित हुँदै आघातमा पर्यो ।
सन् २०१८ मा औपचारिकरूपमा गृहयुद्ध अन्त्य हुनुभन्दा अघिको पाँच वर्षको रक्तपातमा यो मुलुकमा तीन लाख ८० हजार मानिसको मृत्यु भएको थियो । साट्ठीभन्दा बढी जातीय समूह र एक करोड २० लाख जनसङ्ख्या भएको दक्षिण सुडानले घातक हिंसा, प्राकृतिक विपत्ति र लगातारको राजनीतिक अन्तरविरोधको सामना गरिरहेको छ ।
संयुक्त राष्ट्रसङ्घले रक्तपातलाई प्रश्रय दिएको, राजनीतिक स्वतन्त्रतामा लगाम लगाएको र सार्वजनिक सम्पत्ति लुट्नमा भूमिका खेलेको भन्दै दक्षिण सुडानको नेतृत्वको आलोचना गरेको छ । सन् २०१८ को विश्व बैंकको तथ्यांकअनुसार दक्षिण सुडानमा तेलको ठूलो भण्डार भए पनि पाँचमध्ये चार दक्षिण सुडानी ‘निरपेक्ष गरिबी’ मा रहेका छन् ।
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई
परमाणु र अणुभित्र इलेक्ट्रोनको अन्वेषण गर्ने उपकरणहरूको अनुसन्धानका लागि तीन वैज्ञानिकलाई यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ।
फ्रान्सका पिएरे अगोस्टिनी, हङ्गेरी–अस्ट्रियाली फेरेन्क क्राउज र फ्रान्सेली–स्विडिश एनी एलहुइलियरलाई उक्त पुरस्कार प्रदान गरिने भएको हो । पदार्थमा इलेक्ट्रोन गतिशीलताको अनुसन्धानका लागि प्रकाशको एटोसेकेन्ड पल्स उत्पन्न गर्ने प्रयोगात्मक विधिहरूका लागि उनीहरूलाई सम्मान गरिएको जुरीले बताएको छ ।
एटोसेकेन्ड यति छोटो हुन्छ कि एक सेकेन्डमा त्यति नै सेकेन्ड हुन्छ जति ब्रह्माण्डको उत्पत्तिपछि भएको थियो । जुरीका अनुसार पुरस्कृत वैज्ञानिकहरूले प्रकाशको अत्यन्त सानो पल्सहरू बनाउने तरिकाको प्रदर्शन गरेका छन् जसबाट इलेक्ट्रोन सञ्चालन हुने वा ऊर्जा परिवर्तन हुने तीव्र प्रक्रियाहरू नाप्न प्रयोग गरिन्छ ।
‘पुरस्कृतहरूको योगदानले अत्यन्त तीव्रताका कारण पहिला पालना गर्न असम्भव प्रक्रियाहरूको अनुसन्धानलाई सक्षम बनाएको छ’, जुरीले भनेको छ ।अगोस्टिनी अमेरिकामा ओहायो स्टेट युनिभर्सिटीमा प्रोफेसर हुन् भने क्राउज जर्मनमा म्याक्स प्लान्क इन्स्टिच्युटका निर्देशक हुन् ।
त्यसैगरी स्विडेनको लुन्ड विश्वविद्यालयकी प्रोफेसर एलहुइलियर सन् १९०१ पछि भौतिकशास्त्रमा नोबेल पुरस्कार जित्ने पाँचौँ महिला हुन् ।
२९ रुसी ड्रोन र क्षेप्यास्त्र खसालेको युक्रेनको दाबी
युक्रेनले सन् २०१४ मा रुसले कब्जा गरेको क्रिमिया प्रायद्विपबाट रुसी सेनाले प्रक्षेपण गरेका दुई दर्जनभन्दा बढी ड्रोन र एउटा क्रुज क्षेप्यास्त्र खसालेको बताएको छ । ती ड्रोन र क्षेप्यास्त्र इरानमा निर्मित रहेको जनाइएको छ । मस्कोले युक्रेनी ऊर्जा पूर्वाधारमा हवाई आक्रमणको अभियान पुनः सुरु गरेको किएको भनाइ छ ।
गत वर्ष ती पूर्वाधारमा आक्रमण हुँदा लाखौँ मानिस पानी र तापबिना बस्न बाध्य भएका थिए । “गए राति रुसी अतिक्रमणकारीहरूले ३१ वटा साहेद ९मानवरहित हवाई अस्त्र० र एउटा इस्कान्दर–के क्रुज क्षेप्यास्त्रले आक्रमण गरे”, उक्त क्षेप्यास्त्र र २९ वटा ड्रोन खसालेको उल्लेख गर्दै युक्रेनको वायु सेनाले जनाएको छ ।
दक्षिणी क्षेत्रको माइकोलाइभ र मध्यक्षेत्रको ड्निप्रोपेट्रोभस्कका जिम्मेवार फौजले उक्त क्षेप्यास्त्र र ड्रोनहरू खसालेको सेनाले विज्ञप्तिमा जनाएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसै साता युरोपेली युनियनसमक्ष रुसका साथै रुसी सेनालाई ड्रोन र क्षेप्यास्त्र आपूर्ति गर्ने इरानमाथिको प्रतिबन्धलाई फराकिलो बनाउन आग्रह गरेका थिए ।
पहिलो त्रैमासिकमा पाकिस्तानको व्यापार घाटामा गिरावट
अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा पाकिस्तानको व्यापार घाटा ४२ प्रतिशतले घटेको पाकिस्तान तथ्याङ्क ब्युरो (पीबीएस) ले जनाएको छ ।
पाकिस्तानमा आर्थिक वर्ष जुलाईदेखि सुरु भएर जुनसम्म रहन्छ । सन् २०२३ को जुलाईदेखि सेप्टेम्बरसम्मको त्रैमासिकमा आयात र निर्यातका आँकडाका आधारमा व्यापार घाटा पाँच अर्ब २८ करोड ९० लाख अमेरिकी डलर भएको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा नौ अर्ब १५ करोड ९० लाख अमेरिकी डलर थियो । पीबीएसका अनुसार अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासिकको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा ४२ दशमलव २५ प्रतिशतले नकारात्मक वृद्धि भएको छ ।
चालु आर्थिक वर्षको जुलाईदेखि सेप्टेम्बरसम्मको अवधिमा निर्यात छ अर्ब ८९ करोड ९० लाख अमेरिकी डलर भएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा तीन दशमलव ७८ प्रतिशतले कम हो । अघिल्लो वर्षको समीक्षा अवधिमा निर्यात सात अर्ब १७ करोड अमेरिकी डलरबराबरको भएको थियो ।
अर्कोतिर पाकिस्तानको आयात भने समीक्षा अवधिमा २५ दशमलव ३६ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको जुलाईदेखि सेप्टेम्बरसम्मको अवधिमा १६ अर्ब ३२ करोड ९० लाख अमेरिकी डलरको आयात भएकामा चालु आर्थिक वर्षको सोही अवधिमा १२ अर्ब १८ करोड ८० लाख अमेरिकी डलरको आयात भएको छ ।
पानीको तापक्रम बढेका कारण अमेजनमा १०० भन्दा बढी डल्फिन मृत फेला
गम्भीर खडेरीको चपेटमा परेको ब्राजिलको अमेजन वर्षावनमा गत साता एक सयभन्दा बढी डल्फिन मरेका छन् । विज्ञहरूले पानीको तापक्रम उच्च भएकाले अझ धेरै डल्फिन मर्न सक्ने बताएका छन् ।
ब्राजिलको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको अनुसन्धान समूह दि मामिराउआ इन्स्टिच्युटले टेफे ताल वरपरको क्षेत्रमा सोमबार थप दुई वटा मृत डल्फिन फेला परेको जनाएको छ ।
उक्त ताल यस क्षेत्रका जलचर स्तनधारी र माछाहरूका लागि प्रमुख क्षेत्र हो । उक्त संस्थाले उपलब्ध गराएको भिडियोमा गिद्धहरूले मृत डल्फिनलाई टिपेको देखाइएको छ । स्थानीय सञ्चारमाध्यमअनुसार हजारौँ माछा पनि मरेका छन् । त्यस क्षेत्रका तालहरूमा पानीको तापक्रम उच्च रहेका कारण डल्फिन र माछाहरू मरेको हुनसक्ने विज्ञहरूले विश्वास गरेका छन् ।
टेफे ताल क्षेत्रम गत सातायता तापक्रम बढेर ३९ डिग्री सेल्सियससम्म पुगेको छ । गत साता ब्राजिल सरकारको चिको मेन्डेस जैविक विविधता संरक्षण संस्थाले मृत डल्फिनको अनुसन्धान गर्न पशु चिकित्सक र जलचर स्तनधारी विज्ञहरूको टोली पठाएको थियो । टेफे तालमा करिब एक हजार चार सय डल्फिन रहेको मामिराउआ इन्स्टिच्युटका मिरियम मार्मोन्टेलले बताए ।
‘एक हप्तामा करिब एक सय २० जीवजन्तु गुमाइसकेका छौँ जसले कूल सङ्ख्याको पाँचदेखि १० प्रतिशत हिस्सा प्रतिनिधित्व गर्छ’, उनले भने । सुक्खा खोलाहरूबाट खोला किनारका प्रभावित समुदायहरूले गत सातादेखि डल्फिनका शवहरू फेला पारेका छन् ।
खडेरीका कारण अमेजनका गभर्नर विल्सन लिमाले शुक्रबार सङ्कटकाल घोषणा गरेका थिए । करिब ६० हजार जनसङ्ख्या रहेको टेफे सहरका मेयर निक्सन मारिराले खोलाहरू सुकेका कारण केही पृथक समुदायलाई खाद्यान्न सिधै पुर्याउन नसकेको बताए ।













प्रतिक्रिया