आज चैत २१, २०७९, अंग्रेजी क्यालेन्डर अनुसार अप्रिल ४, २०२३ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन्:
अमेरिकी सभामुखले बुधबार ताइवानी राष्ट्रपतिलाई भेट्ने
चीनको चेतावनीका बाबजुद अमेरिकी प्रतिनिधिसभाका सभामुख केभिन म्याकार्थीले ताइवानका राष्ट्रपति साई इङ वेनसँग बुधबार भेटवार्ता गर्ने भएका छन् ।
मध्य अमेरिकी देशहरु ग्वाटेमाला र बेलिजको भ्रमण पूरा गरी स्वदेश फर्कने क्रममा बुधबार ताइवानी राष्ट्रपतिले सभामुख म्याकार्थीसँग रोनाल्ड रोगन पुस्तकालयमा द्विपक्षीय बैठक गर्ने सभामुखको कार्यालयले पुष्टि गरेको छ ।
गत साता न्युयोर्क हुँदै ग्वाटेमाला जाने क्रमममा त्यहाँ रहेकी ताइवानी राष्ट्रपतिले हडसन इन्स्टिच्युटलाई सम्बोधन गरेकी थिइन् ।
ताइवानी नेताले सभामुख म्याकार्थीलाई भेटेमा त्यसले गम्भीर परिणाम निम्त्याउने चीनले चेतावनी दिएको छ । सभामुखसँगको भेटवार्ताले गम्भीर टकराव निम्त्याउनसक्ने चीनले बताउँदै आएको छ ।
ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले विदेश भ्राणका क्रममा राष्ट्रपति साई अमेरिकामा ‘ट्रान्जिट’मा बस्नु र उनले सभामुखलाई भेट्नु सामान्य रहेको भन्दै विगतमा पनि धेरै ताइवानी नेता अमेरिका भएर तेस्रो मुलुक प्रस्थान गरेका बताएका थिए ।
गत वर्ष पूर्वसभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेर राष्ट्रपति साईलाई भेटेपछि क्रुद्ध भएको चीनले जनमुक्ति सेनालाई ताइवान टापु वरपर उतारेर अभूतपूर्व अभ्यास गरेको थियो ।
सभामुख म्याकार्थीले वासिङ्टन डिसीबाट टाढा लस एञ्जलसमा ताइवानी नेतालाई भेट्न गरेको निर्णयलाई ताइवानको समर्थनलाई जोड दिएको र चीनसँगको तनाव भड्काउनबाट बच्न गरिएको विश्लेषण गरिएको छ ।
वाह्य दबाबले विश्वका विभिन्न मुलुकसँग सम्बन्ध कायम गर्ने ताइवानको सङ्कल्पमा कुनै बाधा नहुने राष्ट्रपति साईले अमेरिका प्रस्थान गर्नुअघि विमानस्थलमा पत्रकारहरूलाई बताएकी थिइन् । उनले आफू शान्त रहने, कसैसँग नझुक्ने र कसैलाई नउक्साउने पनि बताएकी थिइन् ।
चीनले स्वायत्त टापु ताइवानलाई आवश्यक परे बल प्रयोग गरेर मुख्यभूमिमा विलय गर्नसक्ने चेतावनी दिँदै आएको छ भने राष्ट्रको ‘एक चीन’ सिद्धान्तअनुसार कुनै पनि देशले चीन र ताइवान दुवैसँग आधिकारिक कूटनीतिक सम्बन्ध कायम गर्न नसक्ने बताउँदै आएको छ ।
राष्ट्रपति साईमाथि चिनियाँ दबाब यस्तो समयमा आएको छ जतिबेला ताइवानले अमेरिकासँगको सम्बन्धलाई अनौपचारिक रूपमा भए पनि सुदृढ गर्ने प्रयास गरेको छ ।
विश्लेषकहरूका अनुसार साईले सन् २०१६ मा राष्ट्रपति पद सम्हालेपछि चीनले ताइवानमाथि सैन्य, आर्थिक एवम् कूटनीतिक दबाब बढाएको छ । यसैसाता होन्डुरसरलाई आफ्नो पक्षमा ल्याएझै ताइवानका समर्थकलाई पनि चीनले आफ्नो पक्षमा पारेको छ ।
सन् १९७९ मा अमेरिकाले चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गरेपनि ताइवानको अन्तर्राष्ट्रिय सहयोगी एवम् साझेदारका रूपमा अमेरिका उभिएको छ । अमेरिका नै ताइवानको सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ता पनि रहेको छ । यस्तो पृष्ठभूमिमा रहेको ताइवान र अमेरिकाबीचको सम्बन्ध अनौपचारिक भए पनि औपचारिक सम्बन्ध जत्तिकै महत्वपूर्ण एवम् अर्थपूर्ण रहेको अमेरिका–ताइवान सम्बन्धबारे अध्ययन गरिरहेका जेम्स ली बताउँछन् ।
“विश्वमा एउटा मात्र चीन छ । ताइवान चीनको अविभाज्य भाग हो । हामी अमेरिकी पक्ष र ताइवानका अधिकारीहरूबीच हुने कुनै पनि औपचारिक भेटवार्ता र सम्पर्कको विरोध गर्दछौँ, यस्ता भटवार्ता र बैठकले अमेरिका र चीनबीचको सम्बन्धमा दीर्घकालीन असर पर्नेछ,” साईको निर्धारित बैठकलाई लिएर चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन् ।
राष्ट्रपति साईका प्रवक्ता जेभियर चाङले भनेका छन् “विश्वका प्रजातान्त्रिक मुलुकसँग विचारविमर्श एवम् भेटवार्ता गर्नु ताइवानको अधिकार हो । यसमा चीनले हस्तक्षेप गर्नुको कुनै अर्थ छैन ।”
गत महिना होन्डुरसले सम्बन्ध तोडेछि ताइवानसँग औपचारिक कूटनीतिक सम्बन्ध कायम भएका देशको सङ्ख्या १३ मा झरेको छ । सोमबार बेलिजको भ्रमणका क्रममा ताइवानी राष्ट्रपतिले आफ्नो पक्षमा निरन्तर सहयोग गरेकामा मध्य अमेरिकी देशप्रति आभार व्यक्त गरेकी थिइन् । साथै उनले चीनको उच्चारण नगरी तानाशाही शासनबाट आएको विस्तारवादी धम्कीको निन्दा पनि गरेकी थिइन् ।
श्रीलङ्काले इन्धनको मूल्य घटायो
श्रीलङ्काको सरकारी स्वामित्वको लिट्रो ग्यास लङ्काले मंलबार मध्यरातदेखि लागू हुने गरी घरेलु तरल पेट्रोलियम (एलपी) ग्यास सिलिन्डरको मूल्य घटाएको छ । विश्वव्यापी मूल्य कटौतीलाई ध्यानमा राखेर यो निर्णय गरिएको कम्पनीका एक वरिष्ठ अधिकारीले बताएका छन् ।
कुल १२.५ किलो तौलको घरेलु ग्यासको मूल्य १ हजार ५ रुपैयाँले घटेको र परिमार्जित मूल्य अहिले ३ हजार ७ सय ३८ रुपैयाँ रहेको लिट्रो ग्यासका अध्यक्ष मुदिथा पेरिसले जानकारी दिएका छन् ।
यसै गरी ५ किलोको सिलिन्डरको मूल्य ४ सय २ रुपैयाँले घटाएर १ हजार ५०२ रुपैयाँ र २.३ किलोको सिलिन्डरको मूल्य १८३ रुपैयाँले घटेर ७ सय रुपैयाँ पुगेको छ । यसैबीच देशको अर्को प्रमुख ग्यास आपूर्तिकर्ता कम्पनीले पनि घरेलु ग्यास सिलिन्डरको मूल्य घटाएको छ ।
अस्ट्रेलियामा पनि टिकटक प्रतिबन्ध
अस्ट्रेलियाले पनि टिकटकमा प्रतिबन्ध लगाएको छ । सङ्घीय सरकारका उपकरणमा चिनियाँ स्वामित्वको उक्त ‘एप्लिकेशन’ प्रतिबन्ध लगाइएको हो ।
देशका गुप्तचर र सुरक्षा निकायको सुझावमा सङ्घीय सरकारका उपकरणमा टिकटकमा प्रतिबन्ध लगाइएको महान्यायाधिवक्ता मार्क ड्रेफसले बताएका छन् । साथै उनले उक्त प्रतिबन्ध यथाशीघ्र कार्यान्वयन हुने बताएका छन् ।
यसअघि संयुक्त राज्य अमेरिका, क्यानडा, संयुक्त अधिराज्य र न्युजिल्याण्डले उक्त एप्लिकेशनमाथि प्रतिबन्ध लगाइसकेका छन् । युरोपेली संसद्, युरोपेली आयोग र २७ सदस्यीय युरोपेली सङ्घका तीन प्रमुख संस्थाले पनि आफ्ना कर्मचारीका उपकरणमा टिकटक निषेध गरेका छन् । ती संस्थाले कर्मचारीलाई आफ्ना मोबाइल फोनबाट टिकटक हटाउन आग्रह गरेको छ ।
चिनियाँ प्राविधिक कम्पनी बाइटेन्सले आफ्नो स्वामित्वको टिकटकमा आबद्ध व्यक्तिका विवरण चीन सरकारलाई उपलब्ध नगर्ने जनाउँदै अमेरिकी प्रयोगकर्ताका विवरणलाई पनि चीनको पहुँच बाहिर राख्ने बताएको छ । अन्य सामाजिक सञ्जाल कम्पनीभन्दा धेरै प्रयोगकर्ताको विवरण सङ्कलन गरेको आरोपमा टिकटकको मातृ कम्पनी विवादमा पर्दै आएको छ । यद्यपि उसले आफ्नो व्यवस्थापन स्वतन्त्र रहेको र टिकटकका विवरण सुरक्षित रहेको दाबी गर्दै आएको छ ।
गोपनीयता र सुरक्षा चिन्ता जनाउँदै भारतले सन् २०२०मा टिकटक र ‘मेसेजिङ एप वी च्याट’लगायत दर्जनौँ चिनियाँ एपमा राष्ट्रव्यापी प्रतिबन्ध लगाएको थियो । चीन र भारतबीचको सीमा क्षेत्रमा दुवै देशका सैनिक आमनेसामने भएपछि नयाँदिल्लीले उक्त निर्णय गरेको थियो । चिनियाँ र भारतीय सेनाबीचको भिडन्तमा २० जना भारतीय सैनिकले ज्यान गुमाएका थिए भने दर्जनौँ घाइते भएका थिए ।
अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाएकामा चीनले त्यसको आलोचना गर्दै त्यसलाई राज्यशक्तिको दुरुपयोग भनेको छ । साथै उसले अन्य देशका कम्पनीलाई अमेरिकाले दबाइरहेको आरोप पनि लगाएको छ ।
फौजदारी आरोपको सामना गर्न पूर्वअमेरिकी राष्ट्रपति ट्रम्प न्युयोर्कमा
आफूमाथि लागेको फौजदारी आरोपको सामना गर्न पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फ्लोरिडाबाट न्युयोर्क आइपुगेका छन् । उनले न्युयोर्कमा आफ्नो व्यावसायिक भवनमा वकिलहरूसँग परामर्श गरिरहेका छन् ।
सन् २०१६ को राष्ट्रपतीय निर्वाचनअघि अश्लील चलचित्रकी एक जना नायिकसँग यौनसम्पर्क गरेको र त्यसलाई दबाउन राष्ट्रपतिका प्रत्यासी ट्रम्पले उनलाई एक लाख ३० हजार अमेरिकी डलर दिएको अभियोग लगाइएको छ । पूर्वराष्ट्रपति ट्रम्पले आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गर्दै आएका छन् । नायिका स्टर्मी डेनियलले भने आफूसँग सन् २००६ मा ट्रम्पले यौन सम्बन्ध कायम गरेको र त्यसलाई गोप्य राख्न रकम दिएको दाबी गरेकी छन् ।
पूर्वराष्ट्रपतिको सुरक्षाका निम्ति गुप्तचर सेवाका अधिकारीले विशेष तयारी गरेका छन् भने अन्य सुरक्षा निकायले पनि म्यानहाटनस्थित अदालत बाहिर सम्भावित विरोधप्रदर्शनसमेतलाई दृष्टिगत गरी सुरक्षा व्यवस्था कडा पारेका छन् । उक्त अदालततर्फ जाने पैदलयात्री मार्गमा तगारा लगाइएका छन् ।
पूर्वराष्ट्रपति ट्रम्पलाई सङ्घीय जाँच ब्युरो (एफबिआई), न्युयार्क महानगरको कानुन कार्यान्वयन गराउने निकाय र अमेरिकाको सिक्रेट सर्भिसले सम्बद्ध निकायसँग समन्वय गरेका छन् ।
फिलिपिन्समा विद्रोही र आतङ्ककारीबीचको भीडन्तमा चारजनाको मृत्यु
फिलिपिन्सका सुरक्षा बल र विद्रोही लडाकुहरूबीच भीडन्त हुँदा एकजना सैनिक सहित चार जनाको मृत्यु भएको छ । त्यसैगरी भीडन्तमा दुई सैनिक घाइते भएको पनि अधिकारीहरूले सोमबार जानकारी दिएका छन्।
सेनाका लेफ्टिनेन्ट कर्नेल हेक्टर इस्टोलासले जनाएअनुसार सेना र प्रहरीले मेट्रो मनिलाको पूर्वमा रहेको रिजाल प्रान्तमा शुक्रबार न्यु पिपुल्स आर्मी (एनपीए) र विद्रोही बीच दुई पटक झडप भएको र जसमा एक सैनिकको मृत्यु भएको र दुई जना घाइते भएका छन्।
पुलिस ब्रिगेडियर जनरल एलन नोबलेजाले दक्षिणी फिलिपिन्सको लानाओ डेल सुर प्रान्तमा आइतबार छापा मार्ने क्रममा आपराधिक समूह दावलाह इस्लामियाका सदस्यहरूसँग पनि झडप भएको र तीन आतङ्ककारीको मृत्यु भएको बताएका छन् ।
यहाँ विद्रोहीहरू सन् १९६९ देखि सरकारसँग लड्दै आएका छन्। तिनीहरूले ग्रामीण क्षेत्रहरूमा आफ्नो आक्रमण केन्द्रित गर्दै सेनासँग झडप जारी राखेका छन् । सैन्य तथ्याङ्क अनुसार एनपीएमा दुई हजार सदस्यहरू छन्।
प्रतिक्रिया