झोलुङ्गे पुललाई केन्द्रित गरी पर्यटनका योजना | Khabarhub Khabarhub

झोलुङ्गे पुललाई केन्द्रित गरी पर्यटनका योजना


२१ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

दमौली – तनहुँको आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरमा खुदीखोलामाथि झोलुङ्गे पुल छ। समुद्र सतहबाट दुई सय ७० मिटर उचाइमा अवस्थित उक्त पुलले सोही वडाको याङ्चोक जोड्छ। यो पुल नेपालकै दोस्रो अग्लो झोलुङ्गे पुल भएको दाबी गरिएको छ।

पृथ्वी राजमार्गअन्तर्गत बरादीदेखि साढे दुई किलोमिटर दूरीमा अवस्थित उक्त पुलले पछिल्लो समय पर्यटकलाई आकर्षित गरेको छ। सामाजिक सञ्जालदेखि टिकटकबाट उक्त पुलको प्रचार भएपछि यहाँ पुग्ने पर्यटकको सङ्ख्या बढ्दो छ। गण्डकी प्रदेश सरकारको पूर्वाधार विकास कार्यालयमार्फत विसं २०७७ मा उक्त पुल निर्माण गरिएको हो।

‘डि’ टाइपको उक्त पुलको लम्बाइ दुई सय २० मिटर रहेको छ। उक्त पुलमा एकैपटक चार सय ७५ पदयात्री आवतजावत गर्न मिल्छ। बाबिरो-प्रमिला जेभीले उक्त पुलको निर्माण गरेको हो।

पुल पर्यटकीय गन्तव्यको रुपमा विकास हुन थालेपछि गाउँपालिका यसको प्रवर्द्धनमा जुटेको छ। झोलुङ्गे पुललाई केन्द्रित गरेर गाउँपालिकाले पर्यटन विकासका योजना अगाडि बढाएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए।

उनले भने, “हामीलाई जानकारी भएसम्म नेपालको सबैभन्दा अग्लोमध्येको झोलुङ्गे पुल हो भन्ने छ, यो पुललाई केन्द्रित गरेर पर्यटनका योजना बनाउँदैछौँ।” पर्यटन प्रवर्द्धनका निम्ति झोलुङ्गे पुलसम्म आउने बाटो स्तरोन्नति गर्न लागिएको अध्यक्ष चुमानले बताए। साथै झोलुङ्गे पुलमा आधारित रहेर साहसिक खेल सञ्चालन गर्ने योजना बनाइएको चुमानले बताए।

उनले भने, “यहाँ बन्जी जम्प, जीप लाइन सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेर डिपीआर बनाउँदैछौँ, यो एउटा नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास हुने निश्चित छ।”

अध्यक्ष चुमानका अनुसार झोलुङ्गे पुल घुम्न आउने पाहुनालाई लक्षित गरी नजिकै रहेको गुरुङ बस्ती गिरानचौरलाई पर्यटकीय गाउँ बनाउने काम भइरहेको छ। त्यसका लागि चालु आर्थिक वर्षमा रु ३० लाख बजेट विनियोजन भएको थियो। “राजमार्गबाट नजिकै रहेको झोलुङ्गे पुल घुम्न आउने पाहुनालाई गुरुङबस्तीसम्म लैजान सकिए त्यहाँका स्थानीयवासीको जीविकोपार्जनको माध्यम बनाउन सकिन्छ”, उनले भने, “बिदा र शनिबारका दिन अन्य दिनभन्दा बढी पर्यटकको चहपहल हुन्छ।”

गाउँपालिकाले झोलुङ्गे पुल नजिकै रहेको आँधीमूलको पर्यटन प्रवर्द्धन गर्ने काम गरिरहेको छ। त्यसका लागि यहाँ कृत्रिम ताल निर्माण गर्ने योजना अगाडी सारिएको छ। अध्यक्ष चुमानले भने, “आँधीमूल पर्यटकीय धार्मिकस्थल हो, २० मिनेटको दूरीमा रहेको आँधीमूलमा कृत्रिम ताल बनाउँदैछौँ। झोलुङ्गे पुल र आँधीमूलको सही व्यवस्थापन गर्न सकिए यहाँका स्थानीयवासीको आर्थिक विकासका निम्ति महत्त्वपूर्ण भूमिका खेल्नेछ।”

आँधीमूलमा कृत्रिम ताल बनाउन रु ५० लाख बजेट विनियोजन गरिएको छ। आँधीमूलमा रहेको मन्दिर, २३ वटा धारालगायतले यहाँ आउने पर्यटकलाई लोभ्याउने गरेको छ। आँधीमूलमा ठूलो एकादशीका दिन पनि विशेष मेला लाग्ने गरेको छ। आँधीमूल मन्दिरको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको पाइन्छ।

गाउँपालिकाले आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मर्स्याङ्दी नदीमा मोटरबोट सञ्चालन गर्ने लक्ष्य राखेको छ। मोटरबोट सञ्चालन गरी स्थानीयवासीको जीविकोपार्जनमा सहयोग पुर्‍याउने लक्ष्य राखिएको अध्यक्ष चुमानले बताए। “ यहाँ मोटरबोट सञ्चालन गर्न सकिए राजमार्ग भएर यात्रा गर्ने यात्रुलाई आँबुखैरेनीमा भुलाउन सक्छौँ”, उनले भने, “त्यसका लागि ऊर्जा मन्त्रालयमार्फत अनुमति चाहेका छौँ।”

अध्यक्ष चुमानका अनुसार चिनियाँ अधिकारीसँग पनि यस विषयमा कुराकानी भएको छ। “नेपाल भ्रमणमा आउने अधिकांश चिनियाँ पर्यटक राजमार्ग हुँदै पोखरातर्फ जाँदा उनीहरुलाई आँबुखैरेनीमा एकदिन भए पनि राख्न सकिए यहाँका स्थानीयवासीको जीविकोपार्जनमा पनि सहयोग पुग्छ”, उनले भने।

प्रकाशित मिति : २१ जेठ २०८०, आइतबार  ६ : ४२ बजे

अर्थतन्त्रमा जलवायु परिवर्तनको जोखिम : जीडीपीमै असर

काठमाडौं– विश्वमा जलवायु परिवर्तनको असर बढ्दै गएको विभिन्न तथ्यांकहरूले देखाएका

नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

काठमाडौं– नबिल बैंकले ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड’ योजनाको म्याद थप गरेको छ

मनाइयो कानुन दिवस : छिटो–छरितो न्याय प्रदान गर्न जोड

काठमाडौं– विसं २००९ वैशाख २६ गतेदेखि लागू भएको नेपाल प्रधान न्यायालय

सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री 

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले आयोजना गरेको ‘सगरमाथा संवाद’

टिकट नपाएपछि एमाले प्रवेश गरेका बोहरा कांग्रेसमै फर्किए

धनगढी– बुढीनन्दा नगरपालिकाकाका उपप्रमुख रामबहादुर बोहरा पुनः नेपाली कांग्रेसमै फर्किएका