महोत्तरी जिल्लालाई सुक्खाक्षेत्र घोषणाको माग « Khabarhub

महोत्तरी जिल्लालाई सुक्खाक्षेत्र घोषणाको माग


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरी जिल्लालाई सुक्खाक्षेत्र घोषणाको माग गरिएको छ । जिल्लाको विपद् जोखिम न्यूनीकरण व्यवस्थापन समितिको सर्वपक्षीय बैठकले सुक्खाक्षेत्र घोषणा गरी तत्काल राहत कार्यक्रम सञ्चालन गर्न नेपाल सरकारसँग माग गरेको हो ।

जिल्लामा रहेका राजनीतिक दलहरु, विभिन्न कार्यालयका सूचना विज्ञ, कृषिसम्बद्ध विज्ञ, जिल्ला समन्वय समितिका प्रमुख, जिल्लाका सबै (१५ वटै) स्थानीय तहका प्रमुख (नगरपालिकाका प्रमुख तथा गाउँपालिकाका अध्यक्ष) र विपद् व्यवस्थापन समितिका सदस्यहरुको सर्वपक्षीय बैठकले जिल्लालाई सुक्खाक्षेत्र घोषणा गर्न सरकारसमक्ष माग गरिएको समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जानकारी दिए ।

‘सबै क्षेत्रबाट खेतीबारे तथ्यगत अवस्थाको रिपोर्टिङ भयो, मुख्य बाली धान लगाउन नसकिएको, लामो खडेरीले अन्य बाली पनि सुकेका र पानीका स्रोतका मुहान सुक्दै गएर खानेपानीको समेत हाहाकार परेको छ’, अध्यक्ष पहाडीले भने, ‘यो अवस्थाको सम्बोधनका लागि तत्काल सुक्खाक्षेत्र घोषणा गरेर राहत कार्यक्रम सञ्चालन गर्न नेपाल सरकारसँग माग गरिएको हो ।’

बैठकमा कृषि ज्ञान केन्द्र महोत्तरीका कार्यालय प्रमुख डा. रामचन्द्र यादवले पानीकै अभावमा धान रोपाइँ निकै पछि परेको, केही ठाउँमा रोपिएको धान पनि खडेरीले रोपोमै सुकाएको जानकारी दिए । जिल्लाभित्र यसपालि साउन तेस्रो साता बित्दै गर्दासम्म १५ वटै स्थानीय तहको रोपाइँको अवस्था सालाखाला हिसाब गरिँदा २० दशमलव ४० प्रतिशतमात्र भएको कृषि ज्ञान केन्द्र महोत्तरीको तथ्याङ्क छ ।

जिल्लामा कूल खेतीयोग्य करिब ७१ हजार हेक्टर जग्गामध्ये धानखेतीका लागि करिब ५० हजार हेक्टर उपयुक्त मानिन्छ । जिल्लामा १० प्रतिशत जग्गामा मात्र स्थायी सिँचाइ (कुलो–नहर) पुगेको हुँदा अधिकांश जग्गा आकासे पानीकै भरका छन् । यसपालि कुलो÷नहरका पानीका स्रोत (नदी, खोल्साखोल्सी) का मुहान वर्षा नहुँदा नरसाएपछि सिञ्चित भनिने जग्गा पनि खडेरीको मारमा परेका डा. यादवको भनाइ छ ।

मुख्यबाली मानिएको धान लगाउन नसकिएको, लामो खडेरीले लगाइएका अन्य बाली पनि सुक्दै गएका र जताततै खानेपानीको समेत हाहाकार बढेपछि तत्काल विशेष राहत कार्यक्रमको आवश्यकता महसुस गरिएको जिल्ला समन्वय समितिका प्रमुख सुमनकुमार लाल कर्णले बताए ।

समितिको बैठकले सुक्खाक्षेत्र घोषणा गर्दै प्राथमिकताका आधारमा खानेपानीको प्रबन्ध, अब लगाइने वैकल्पिक बालीका लागि किसानलाई सल्लाहसँगै बीउबिजन, मलखाद र आवश्यक प्रविधिको व्यवस्थापन गर्न सुझाएको छ । यसबाहेक खडेरीले निम्त्याउने भोकमरीको निदानका लागि समयमै खाद्यान्न व्यवस्थापन गरिन आवश्यक रहेको कर्णको भनाइ छ ।

समितिले सुक्खाक्षेत्र घोषणा र त्यससँगै जोडेर राहत कार्यक्रम सञ्चालनका लागि केन्द्र सरकारसँग आवश्यक समन्वय गर्न मधेस प्रदेश सरकारसँग अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी तथा समितिका अध्यक्ष पहाडीले बताए ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  १० : ३९ बजे

सरकारले युवा स्वदेश राख्ने वातावरण बनाउनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले युवा पुस्ताको आन्दोलनमार्फत नेपाली जनताले प्रकट

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ४६ अङ्कले

सङ्घीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपतिको सम्बोधन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई

राष्ट्रपतिले भने : सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र आर्थिक समृद्धि हाम्रा प्राथमिकता हुन्

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैकठलाई

अंश विवादले पोखराकी सिर्जनाको हत्या, ‘भाञ्जा’ले नै सडकमै हानेका थिए खुँडा

पोखरा- पोखरा महानगरको एक व्यस्त साँझ, सभागृह चोक नजिकैको सडक