तम्घासमा सडक बालबालिकाको समस्या जटिल बन्दै « Khabarhub

तम्घासमा सडक बालबालिकाको समस्या जटिल बन्दै


२२ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

रेसुङ्गा– एकीकृत व्यवस्थापन हुन नसक्दा जिल्लाको तम्घासमा सडक बालबालिकाको समस्या जटिल बन्दै गएको छ । सडक बालबालिकालाई शिक्षा, स्वास्थ्य, आवास र अभिभावकत्व दिने गरी आफ्नै पालिकामा व्यवस्थापन गर्नुपर्नेमा जोड दिइएको छ । गुल्मीमा भएका सडक बालबालिकाको पहिचान गरी तम्घासमा रहेको महेन्द्र नमुना माध्यमिक विद्यालयमा होस्टेल निर्माण गरिएको थियो । छ महिनाका लागि व्यवस्थापन गरेर सदरमुकामका विद्यालयले पढाउने जिम्मा लिए पनि बालबालिका पुनः सडकमै फर्किएका छन् । 

महेन्द्र मिनी होस्टेलमा सडक बालबालिका व्यवस्थापनको समयमा श्रेय लिनेको होडबाजी चलेको थियो । बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म बालबालिका राखिने होस्टेलमा फलफूल र मिठाई बाँड्नेको लस्कर हुन्थ्यो तर अहिले बालबालिका सडकमै फर्किपछि कोही त्यसको जिम्मा लिन तयार देखिँदैनन् ।

बालबालिका व्यवस्थापनका क्रममा महेन्द्र नमुना माध्यमिक विद्यालयमा सात जना, सिद्धबाबा माध्यमिक विद्यालयमा तीन जना, रेसुङ्गा माध्यमिक विद्यालयमा दुई जना, उपल्लो तम्घास माध्यमिक विद्यालयमा दुई जना र बालमन्दिरमा दुई जना सडक बालबालिका अध्ययनका लागि व्यवस्थापन गरिएको थियो । बाँकी दुई जना विद्यालय गएनन् । 

महेन्द्र मिनी होस्टेलको नाममा बालबालिका व्यवस्थापन गर्दा झन्डै रु १२ लाख खर्च भएको थियो । रेसुङ्गा नगरपालिकाको रु तीन लाख ५० हजार, मालिका गाउँपालिकाको रु तीन लाख, धुर्कोटको रु एक लाख ५० हजार, इस्माको एक लाख ५० हजार, मदानेको रु ५० हजार र शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीको रु एक लाख ७६ हजार गरी कूल ११ लाख ७६ हजार खर्च भएको छ । 

अभिभावकको गैरजिम्मेवारीपन, सरोकारवाला निकायको अल्पकालीन निर्णय र विद्यालयको कमजोरीका कारण विद्यार्थी बनेका बालबालिका फेरि सडकमा फर्किएका छन् । अल्पकालीन व्यवस्थापन गरेर श्रेय लिनेको होडबाजी चले पनि सम्बन्धित पालिकामै नयाँ कार्यक्रम ल्याएर दीर्घकालीन समाधान खोज्नुपर्नेमा नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डे जोड दिन्छन् ।

दिनभर तम्घास बजारमा डुलेर मागेको पैसाले कतिपय सडक बालबालिकाले घरखर्चसमेत चलाउने गरेका छन् । उनीहरु दिनभर चिदिचौर खेलमैदान, बसपार्क क्षेत्र र तम्घास बजारमा पैसा माग्ने गर्दछन् र साँझ घर फर्किने बेलामा कतिपयले घरमा बाबुआमा खुसी बनाउन अण्डा, चाउचाउलगायत अन्य खानेकुरा किनेर  लैजान्छन् भने कतिपयले आफैँलाई खान चाउचाउ, चुरोट, भोलादेखि थरिथरिका मिठाई किन्ने गरेको पाइन्छ । 

कतिपय बालबालिका परिवारकै कारण सडकमा पुगेका छन् । तम्घास बजारमा खुलेर सबै शब्द बोल्न नसक्ने मनिष सुनारले बुबाको कुटाइका कारण दाजुहरुसँग सडकमा बस्ने गरेको बताए । ‘विद्यालय जान, पढ्न अनि खान मन लाग्छ’, तोते बोल्दै उनले भने, ‘बाबाआमाले माया गर्नुहुन्न, घरमा खान दिनुहुन्न ।’ मनिष मायालु भएकाले देख्नेले पाँच-दश रुपैयाँ दिन्छन् । मनिषको पनि विगत डेढ वर्षदेखि सडकमै बास छ ।  

उमेरले छ वर्ष पुगेकी सलिना नेपाली पनि बाबुआमाले हेपाइका कारण अन्य सडक बालबालिकाकै समूहमा मिसिन पुगिन् । बजारमा हिँड्नेहरुको खुट्टा समाउँदै उनीहरूले दिएको पैसाले खानेकुरा किनेर घर लैजान्छिन् । उनकै कमाइले परिवारको हातमुख जोडिएको छ । ‘बाबाले कसैलाई नाम भन्ने र बाबाआमा चिनाएमा पिट्छु भन्नुहुन्छ’, उनले भनिन्, ‘विद्यालय जान नदिएर बजारमा पैसा माग्न पठाउनुहुन्छ ।’ खानेकुरा लिएर गए मात्र घरमा बास पाइन्छ उनले भनिन् । 

समूहका नाइके हुन् सागर नेपाली । उनको समूहमा १० जना बालबालिका छन् । दश वर्षका उनी समूहमा आइपर्ने समस्याको समाधान गर्दछन् । उनले सडकमा माग्दै हिँड्नुलाई आफ्नो अधिकार ठान्छन् । पढ्ने र लेख्ने सम्बन्धीका कुरामा आफूलाई ध्यान नजाने र बाबुआमाले पनि नपठाउने सागरको भनाइ छ । यो समूह बिहानको झिसमिसेमा बजार निस्कन्छ । झमक्क साँझ परेपछि घर फर्किन्छन् । बसपार्कमा केहीको घर भए पनि केही अस्थायीरुपमा बस्छन् ।

जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले सडक बालबालिकाको व्यवस्थापन हुने बताए। बालबालिकाको बानीमा सुधार ल्याउने गरी अर्धवार्षिक व्यवस्थापन भएको र विद्यालयसम्म बालबालिका पुर्‍याएको खत्रीले बताए । पुनःसडकमा फर्किएका बालबालिकाको पहिचान गरी दीर्घकालीन व्यवस्थापन गरेर छाड्ने उनको भनाइ छ । 

–सन्तोष महतारा रासस

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  ३ : ०१ बजे

अर्जेन्टिनीहरूका प्रिय ‘ब्याड ब्वाइ’

काठमाडौं – ‘आधुनिक फुटबलका राजा’ अर्जेन्टिनी स्टार लियोनल मेसीले विश्वकप

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ

फरार अभियुक्त १८ वर्षपछि पक्राउ

जनकपुरधाम– दाइजोको विषयलाई लिएर करिब १८ वर्षअघि महिलालाई धारिलो हतियार

आज २०८३ साल साउन २ गते शनिबारको राशिफल

काठमाडौँ– २०८३ साल साउन २ गते शनिबार सन् २०२६ जुलाई

विश्वकपमा अर्जेन्टिनाको राजनीतिक सन्देश, ‘माल्भिनास’ ब्यानरले किन मच्चायो विश्वभर बहस?

 काठमाडाैँ- विश्वकपको मैदानमा कहिलेकाहीँ एउटा गोलभन्दा पनि एउटा सन्देशले ठूलो