नयाँ पुस्ता सहर केन्द्रित बन्दा रित्तिँदै गाउँघर « Khabarhub

नयाँ पुस्ता सहर केन्द्रित बन्दा रित्तिँदै गाउँघर


२० भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

दोलखा– पछिल्लो समय जिल्लाका धेरैजसो गाउँघर सुनसान र खाली देखिन थालेका छन् । नयाँ पुस्ता रोजगार र अध्ययनका लागि सहर र विदेश केन्द्रित हुन थालेपछि गाउँघरमा बुढेसकाल लागेका वृद्धवृद्धा मात्रै भेटिन थालेको स्थानीय बताउँछन् ।

गाउँघर छोडेर सहर बस्ने प्रवृत्तिले यतिबेला दोलखाका हजारौँ घर खाली रहेको पाइएको छ । २०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्‍याएर अनुदानमा निर्माण गरिएका अधिकांश घर खाली रहेका छन् । २०७८ सालको जनगणनाको तथ्याङ्कअनुसार जिल्लामा बनेका ७८ हजार दुई सय २९ घरमध्ये १६ हजार ९१ अर्थात् २० प्रतिशत घर खाली रहेका छन् । 

अहिले गाउँमा घर कुर्ने काम ६० वर्ष कटेका वृद्धवृद्धाको बनेको छ । गाउँमा सडक र विद्युत् पुगेको भए पनि गाउँमा बस्न चाहने मान्छे थोरै छन् । गाउँमा बिरामीलाई औषधी ल्याइदिने र स्वास्थ्य चौकीसम्म लगिदिने मान्छेसम्म छैनन् ।

तामाकोशी गाउँपालिका–१, भिरकोटका केशव काफ्ले सरकारी अनुदान लिएर छोराका लागि घर बनाइदिए पनि त्यो घर हाल खाली रहेको बताउँछन् । उनको मात्र होइन सो क्षेत्रका अधिकांशले गाउँबाहिर रहेका छोराको नाममा अनुदान लिएर घर निर्माण गरेका छन् । तर गाउँमा सरकारी अनुदानमा बनेका दुई कोठे अधिकांश घरमा ताला लागेको छ । भूकम्पपछि जिल्लामा ७४ हजार भूकम्पपीडित लाभग्राही सूचीकृत भएका थिए । तीमध्ये ६७ हजारले भूकम्पपीडितको घर बनाएर तेस्रो किस्ता लिएको सघनसरी भवन निर्माण आयोजनाको तथ्यांक छ ।

स्थानीय तहले गाउँगाउँमा सडक, शिक्षा, यातायात, खानेपानीलगायतका पूर्वाधारमा लगानी गरे पनि नागरिक बाहिरिने क्रम नघटेको स्थानीय जनप्रतिनिधिहरू बताउँछन् । जिल्लाको कालिञ्चोक गाउँपालिका–४, घिमिरेटोलका ३६ घरपरिवारमध्ये १४ घरमा मात्र मानिस बस्ने गरेका छन् । बाँकी २२ घरपरिवार अनुदान लिएर गाउँमा घर बनाएर बसोबासचाहिँ काठमाडौंमा गर्दै आएका स्थानीय रीता सुवेदीले जानकारी दिइन् । 

यस्तै, भीमेश्वर नगरपालिका–१, पानीपोखरीमा निर्माण गरिएको एकीकृत बस्तीका अधिकांश घरमा ताला लागेको छ । ५७ परिवारका लागि निर्माण गरिएको सो बस्तीमा हाल १० परिवार मात्रै बस्ने गरेका छन् । दोलखाको बैतेश्वर गाउँपालिका पनि करिब २५ प्रतिशत घर खाली छन् । सरकारको राहत लिएर बनाइएका दुई कोठे घरको भित्र लेउ पलाउन थालेको स्थानीय बताउँछन् ।

मानिस नहुँदा खेतीयोग्य जमिन बाँझो छ । जिल्लामा उत्पादन हुने सामान पनि बाहिरबाट आयात गर्नुपर्ने स्थिति रहेको बैतेश्वर गाउँपालिका–४ वडाध्यक्ष कुमार चौलागाईंले बताए । उनको वडाको पनि ठूलोवन भन्ने गाउँमा १६ वटा घर रहेकोमा १३ वटा घर रित्तै छन् । मानिस नहुँदा खेतीयोग्य जमिन जंगलमा परिणत भएपछि जंगली जनावरको आतंक समेत बढेको छ । यता नयाँ पुस्ताले गाउँघर बिर्सेर सहर र विदेश लाग्दा गाउँघरका विद्यालय समेत बन्द हुने अवस्थामा पुगेको कालिढुङ्गा माध्यमिक विद्यालय प्रअ पुष्कर कुमार दाहालले बताए । 

राज्यले गाउँमै रोजगार सिर्जना गरेर सहर केन्द्रित बनेर बसेका तथा विदेशमा रहेका मानिसलाई गाउँ नफर्काएसम्म गाउँ खाली हुँदै जाने र पुराना  विद्यालय बन्द हुने अवस्थामा पुग्ने उनले बताए । पछिल्लो समय दोलखाका सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति घट्दै गएको छ् ।  जिल्लाको बैतेश्वर गाउँपालिका २८ वटा सामुदायिक विद्यालय रहेका छन् । माथिल्लो तहका कक्षाकोठा विद्यार्थीको संख्या संतोषजनक रहेपनी तल्लो तहका आधारभूत तथा प्रावि तहका कक्षाकोठामा भने विद्यार्थी उपस्थिति दयनीय अवस्थामा पुगेको छ्। 

बैतेश्वर गाउँपालिका-१ मा रहेको एक सामुदायिक प्रावि विद्यालय  विद्यालयमा हाल जम्मा २२ जना विद्यार्थी छन् ।यहाँ भुकम्प जानु अघि एक सयको हाराहारीमा विद्यार्थी अध्ययन गर्थे। हिजोआज यहाँका मानिसले गाउँमा बसोबास गर्न छाडेपछि विद्यार्थीको संख्या घटेको सो विद्यालयका प्रधानध्यापक भीम तामाङले बताए ।

-सुबास बस्नेत

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  १२ : ५६ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन