कालीगण्डकी करिडोरमा सुरुङ निर्माणको तयारी « Khabarhub

कालीगण्डकी करिडोरमा सुरुङ निर्माणको तयारी


२३ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालीगण्डकी करिडोरमा झण्डै तीन सय ६० मिटर लम्बाइको सुरुङ निर्माणका लागि अध्ययन अघि बढाइएको छ । म्याग्दीको भीरकाटे भन्ने ठाउँमा विगत केही वर्षदेखि वर्षाको समयमा सडक बाढीले बगाउने र अवरुद्ध हुने समस्या समाधानका लागि सुरुङ निर्माणका लागि अध्ययन अघि बढाइएको हो । 

सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो योजनालाई समेटेको छ । डिजाइनको अन्तिम काम भइरहेको र यसै साता प्रस्तुति हुने कालीगण्डकी करिडोर मालढुङ्गा-कोरला योजनाका प्रमुख जगत प्रजापतिले बताए । यो सातामा अन्तिम काम सकाएर र परामर्शदाताबाट प्रतिवेदन पाउने उनले जानकारी दिए। सरकारले अध्ययन गरेको र निर्माण पनि सरकारले गर्ने गरी योजना अघि बढाइएको छ । यो आवमा ठेक्कामा जाने गरी तयारी अघि बढाइएको छ । उनले भने , ‘अध्ययन प्रतिवेदन आएर फाइनल भएपछि विभाग हुँदै मन्त्रालय लगेर प्रतिवेदन स्वीकृत गर्नुपर्छ ।’

विगतमा अस्थायी सडक संरचना भएको ठाउँमा स्थायी सडकका लागि निर्माण गर्ने गरी योजना अघि बढाइएको हो । सो खण्डमा दुईतीन वर्षदेखि नियमित रुपमा वर्षामा बाढीपहिरोको समस्या आइरहेको थियो । भविष्यमा नदीमा बाढीपहिरो आउँदा सतह बढ्ने हुँदा यो सडकको विकल्प खोजिएको उनले बताए । उनले भने, ‘एक समयमा नदी हिँडेको ठाउँ भएकाले फेरि पनि दोहोरिनसक्छ ।’

पाँच वर्ष पहिले नै यसको प्रारम्भिक अध्ययन भएको र अहिले आएर यसलाई कार्यक्रमका रुपमा अघि बढाइएको योजनाले जनाएको छ । समग्र नेपालीबाट अध्ययन र लगानी पनि नेपालीबाट नै गर्ने गरी योजना अघि बढाइएको हो ।

 सो सुरुङको लम्बाइ झण्डै तीन सय ५० देखि तीन सय ६० मिटर हुने देखिएको छ । अध्ययन सकिएर आउँदा केही तलमाथि भए पनि सडकको लम्बाइको हाराहारीमा सुरुङको लम्बाइ हुने देखिएको छ । सुरुङ निर्माणका लागि सरकारले पर्याप्त बजेट विनियोजन गरेकाले समस्या नभएको प्रमुख प्रजापतिले बताए ।

चालु आवमा एक करोड २३ लाखको सिलिङ रहेको छ । यसको लागत रु ८० करोड हुनसक्ने अनुमान गरिएको छ । ठेक्कामा जाँदा त्यो लागत अझै कममा  हुने देखिएको छ । उनले भने, ‘कम लम्बाइको सुरुङ भएकाले सडक सुरक्षाका संरचना निर्माण गर्न नपर्ने र सडक बत्ती आवश्यक नहुने हुँदा लगानी लामा पुलको तुलनामा कम पर्नैछ ।’

यस किसिमको साना सुरुङ पहाडी सडकमा धेरै ठाउँमा आवश्यक रहेको योजना प्रमुख प्रजापतिले बताए । सडकमा मोड कम हुने र त्यसले गर्दा दुर्घटना हुने गरेकामा सुरुङ बनाउँदा सडक सुरक्षित हुने उनको भनाइ छ । निर्माणको अवधि कति हुन्छ भनी ‘डिजाइन’बाट थाहा हुने भए पनि दुई वर्ष लाग्ने अनुमान गरिएको उनले बताए। 

हाल सञ्चालनमा रहेको सडकभन्दा सुरुङ निर्माण भएर लम्बाइ कम भने नहुने उनले बताए । अहिलेको सडक स्थायी नभएको र वर्षामा बाढी आउँदा सडक नै नरहने हुँदा स्थायी सडकका रुपमा अहिले सुरुङ निर्माण गर्न लागिएको उनको भनाइ छ । भूबनोटका आधारमा अहिले सञ्चालनमा रहेको सडकले दीर्घकालीन रुपमा काम नगर्ने र अरु संरचना निर्माण गर्न पनि नसकिने देखिएकाले सुरुङको विकल्प रोजिएको उनले बताए । उनले भने, ‘सडक छोटो बनाउनेभन्दा सडक अस्थायीको सडकको स्थायी संरचना बनाइएको  हो ।’

विगतका वर्षमा यो सडक धेरै पटक मर्मत गरिएको थियो । सडकको सुरक्षाका लागि पर्खाल लगाइएको भए पनि वर्षामा लडेको योजना प्रमुख प्रजापतिले बताए। त्यसको मर्मतका लागि अर्को ठेक्का लगाइएको र त्यसका लागि एक करोड खर्च भएको थियो । उनले भने, ‘कालीगण्डकी नदी कुन समय कत्रो आउँछ थाहा हुँदैन र ठूलो आउँदा अहिलेको सडकको ठाउँबाटै नदी बग्नसक्ने अवस्था छ ।’

शाखा खोलाले पनि त्यसले बाढी र गेग्रान थुपार्दा पानीमाथि सडकमा आइपुग्ने गरेको उनले बताए। उनका अनुसार सुरुङ बनाएपछि जस्तोसुकै बाढी आए पनि सडक सधैँ सञ्चालनमा हुनसक्छ । सडकमा बढी क्षति हुने खण्डमा भने सुरुङ निर्माणका लागि तयारी अघि बढाइएको उत्तर-दक्षिण करिडोर आयोजना निर्देशनालयका प्रमुख श्यामबहादुर खड्काले बताए । भीरकाटे नदीले सडकको क्षेत्रमा क्षति गर्ने भएकाले सुरुङ निर्माणका लागि अध्ययन भइरहेको उनले बताए। 

सो क्षेत्रमा क्षति कम गर्नका लागि सुरुङको योजना बनाइएको हो । अहिले अध्ययनको क्रममा रहेको र त्यो छिट्टै सम्पन्न भएपछि निर्माणका लागि प्रक्रिया अघि बढाइने उनले बताए। उनका अनुसार सो सुरुङ इञ्जिनीयरिङ, प्रोक्युरमेन्ट एण्ड कस्ट्रक्सन (पिसी) मोडलमा अघि बढाइने गरी छलफल भइरहेको छ ।

–सञ्चिता घिमिरे रासस

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  ३ : ३१ बजे

मानव वन्यजन्तु द्वन्द्व अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयले मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका

संसदीय समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माले पेस गरे १८ बुँदे कार्ययोजना

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालतमा वर्षौँदेखि

ट्राफिक प्रहरीबाट एक सातामै एक करोड १८ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले वैशाख २९ गतेदेखि आजसम्म गरी

चितवनका बजारमा याक चिज उपलब्ध

चितवन– चितवनका बजारमा याक चिज उपलब्ध हुन थालेको छ ।

बलिउडको कायाकल्प गरेर अस्ताएका कलाकार

भारतीय सिनेमा र सङ्गीत उद्योगले संसारभर करोडौँ दर्शकको मन जितेको