महोत्तरीमा वन्यजन्तु बस्ती पसेपछि किसान हैरान « Khabarhub

महोत्तरीमा वन्यजन्तु बस्ती पसेपछि किसान हैरान


२५ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– वन्यजन्तुले दुःख दिएपछि महोत्तरीका किसानको हैरानी बढेको छ । नीलगाई, बँदेल, दुम्सी र बाँदरसहितका वन्यजन्तुले बस्ती-बस्ती पसेर बालीनाली नोक्सान पारेपछि सर्वसाधारणको हैरानी बढेको हो । पुस मध्यपछि निकै बढेको जाडोमा वन्यजन्तु लघार्न रातरातभरि खेत कुर्नु परेको यहाँका किसानको पिरोलो छ । 

बाँदर र दुम्सी जिल्लाका वन क्षेत्रसँग जोडिएका बर्दिबास र गौशाला नगरपालिकाका बस्तीबाट तलतिर नझरे पनि नीलगाई, बँदेल र हरिण हुल  मै पूर्वपश्चिम राजमार्गको वारिपारि वन क्षेत्रबाट सरदर ४० किलोमिटर दूरी छिचोल्दै भारतसँगको सीमा क्षेत्रका बस्तीसम्म पुगेका छन् ।

‘हाम्रो बस्तीमा बाँदर र दुम्सी त देखिएका छैनन्, तर घोडगदाहा र बँदेलले भने दुःख दिएर आजित बनाएका छन्’, वन क्षेत्रबाट २० किलोमिटर दूरीको भङ्गाहा-४ पलार बस्तीका किसान सत्यनारायण चौधरीले भने, ‘चिसो स्याँठमा रातरातभरि यिनलाई लघार्न खेत कुर्नुपर्छ ।’ नीलगाई र बँदेलले आजित बनाएको बताउने उनी हरिण र हात्ती भने कहिलेकाहीँमात्र देखिने गरेको बताउँछन् । ‘हरिण पनि समूहमै आउँछन्, तर पातलो, हात्तीचैँ दुईचार वर्षमा देखिन्छन्’, स्थानीय महेश सर्दारले भने ।   

अहिले हिउँदे तरकारी र केराका बोट बँदेल र नीलगाईले नोक्सान गर्ने गरेका आम किसानको गुनासो छ । नीलगाईले बासस्थान नै नबनाए पनि ५०-६० को सङ्ख्याको हुलमा खेतबारीमा पस्ने गरेका भङ्गाहा–६ हतिसर्वाका जयराम यादवले बताए । ‘घोडगदाहाको हुल पस्यो कि दुई-चार कट्ठाको कोवी एकैछिनमा दलमदान गर्छन्’, उनले भने , ‘यिनले गरी खान दिएनन् ।’ नीलगाई हकार्दा भागे पनि बँदेलले भने झम्टने पनि गर्ने हुँदा डरमर्दो भएको यादवको भनाइ छ । नीलगाईले जिल्लाको तल्लो भेगमा लामो बसाइ भने बनाउँदैनन् तर बँदेल भने यतैतिर घारी, झाडीमा बस्नै लागेका पाइएको किसान बताउँछन् । बर्दिबास-७ र भङ्गाहा-४ मा पर्ने प्रेमनगर बस्ती त नीलगाई र बँदेलको अड्डाजस्तै बनेको सो बस्तीका किसान रामप्रगाश महतो बताउँछन् ।

नीलगाई र बँदेलका समूह जिल्लाको सुदूरदक्षिणी मटिहानी, जलेश्वर, मनराशिशवा, एकडारा, सम्सी र सोनमासहितका स्थानीयतहका बस्ती-बस्तीमा छ्यापछ्याप्ती देखिने गर्छन् । झाडीयुक्त बगैँचा, निर्जन खोला किनारका काँशघारी र उखु घारी यिनको बसाई हुनेगर्छ । दिनभरि झाडीमा लुकेर बस्ने नीलगाई र बँदेलले मध्यरातपछि बालीनाली नोक्सान गर्ने गरेको जलेश्वर नगरपालिका–४ को भारतीय सीमावर्ती बस्ती मुसरपट्टीका सुरेश पाण्डे बताउँछन्। नीलगाई जिल्लाको भारतीय सीमावर्ती सम्सी गाउँपालिका र सोनमा गाउँपालिकाका बस्तीमा पनि बाक्लै देखिएका छन् । नीलगाईचैँ मानिसबाट छलिने र बस्तीभन्दा टाढाको उखुघारी र अन्य झाडीमा बस्ने गरे पनि बँदेलले भने बस्तीभित्रै पसेर घर करेसाका केराका थामसमेत लडाउने गरेको सम्सी गाउँका इम्तियाज अहमद बताउँछन्।

नीलगाई मानिसको दचकले भाग्ने गरे पनि बँदेलचैँ झम्टन आउने गरेपछि खेतबारी डुल्न पनि डरमर्दो भएको सम्सी गाउँपालिकाको पर्सादेवाड गाउँका बासिन्दा शेष मन्सुरले बताए । बँदेलले प्रत्येक रातजसो फूलकोवी, बन्दाकोवी, भान्टा र मुलासहितका तरकारी सखाप पार्ने गरेको किसानको भनाइ छ । राति बाली सखाप पार्ने र दिउँसो उखुघारी पस्ने बँदेलका डरले खेतबारी डुल्न, घाँसपातको काममा निस्कन डरलाग्ने गरेको रामगोपालपुर नगरपालिका-८ थलही बस्तीका रामविलास मण्डल बताउँछन्।

जिल्लाको बर्दिबास नगरपालिकाका दक्षिणतर्फका बस्ती मनहरीपुर, पशुपतिनगर, प्रेमनगर, बिजलपुरा र हाथीलेट एवं भङ्गाहा नगरपालिकाका प्रेमनगर, रामनगर, पलार, भूचक्रपुर, राजपुर र धतियाटोलतिर त पछिल्ला चार-पाँच वर्षदेखि बँदेल अड्डै जमाएर बस्ने गरेका पशुपतिनगरका किसान महेन्द्र महतोको भनाइ छ । बँदेलले त कैयन छिमल बच्चा पनि यतै हुकाइसकेका रामनगर बस्तीका किसान नारायण दाहाल बताउँछन् । दुम्सी पनि आफ्ना बस्तीमा छ्यासछ्यास्ती देखिने गरेका दाहालको भनाइ छ । नीलगाई र  बँदेल जिल्लाका तल्ला बस्तीसम्म देखिए पनि बालीनालीमा उपद्रो मच्चाउने बाँदर भने वन क्षेत्र वरिपरिका बस्तीबाट तल नझरेका सर्वसाधारण बताउँछन् । उत्तरी क्षेत्रका बर्दिबास, हाथीलेट, बेलगाछी, गौरीडाँडा, लक्ष्मीनिँया र खयरमारासहितका बस्तीमा भने घरघरै बाँदर पसेर थाङ्रामा राखेको मकैसमेत उधिन्ने गरेको गृहिणीहरूको भनाइ छ ।

वन क्षेत्रमा खानेकुराको अभाव हुनु र शिकारीको चहलपहल बढ्न थालेपछि जंगली बँदेल र अन्य जन्तु आहाराको खोजीमा बस्ती-बस्ती पसेका वन्यजन्तुको आनीबानी बुझेका बताउँछन् । सर्वसाधारण किसान भने वन्यजन्तुबाट लगातारको क्षतिले आजित भएर वन, स्थानीयतह र सुरक्षासम्बद्ध निकाय गुहार्न थालेका छन् । 

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ११ : ०० बजे

आरुघाटमा हेलिकप्टरको आसमा अलपत्र परेका यात्रु, सडक सञ्जाल अवरुद्ध हुँदा समस्या (तस्बिरहरू)

गोरखा– काठमाडौंबाट विभिन्न स्थानबाट गृह जिल्ला फर्किंदै गरेका सर्वसाधारणहरू सडक

चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे

नारायणगढ – चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट सङ्क्रमित हुनेको

कक्रोच जनता पार्टीका नेताहरू प्रहरी हिरासतमा

नयाँदिल्ली – भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन