दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दिनभर आज प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री भट्टराईविरूद्ध ‘युद्ध अपराध’ सम्बन्धी रिट दर्ता गर्न सर्वोच्चको आदेश, जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता लिनेबारे आयोग र १२ दलबीच समझदारी,  राष्ट्रपति पौडेल र स्विस राजदूतबीच भेटवार्ता, मूल्यवृद्धि करका दर वैज्ञानिक रुपमा प्रस्ताव गरिएको अर्थमन्त्रीको प्रष्टोक्ति, यथास्थितिमा बजेट पास हुन नदिने माधव नेपालको चेतावनीलगायतले प्रमुख स्थान पाए ।

नागरिकता विधेयक प्रमाणीकरणको फाइल र मन्त्रिपरिषद्को निर्णय झिकाउन आदेश

नागिरकता विधेयक प्रमाणीकरणबारेको रिटमा सर्वोच्च अदालतले मन्त्रिपरिषदको निर्णय र राष्ट्रपतिबाट प्रमाणीकरण भएको फाइल झिकाउन आदेश दिएको छ ।

शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र सुस्मालता माथेमाका संयुक्त इजलासले नागरिकता विधेयक प्रमाणीकरणबारे मन्त्रिपरिषदको निर्णय र राष्ट्रपतिबाट भएको प्रमाणीकरणको फाइल झिकाउन आदेश दिएको हो ।

यस रिटको अर्को पेशी आगामी मंगलबारका लागि तोकिएको छ ।

जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता लिनेबारे आयोग र १२ दलबीच समझदारी
निर्वाचन आयोग र विभिन्न राजनीतिक दलहरुबीच जिल्ला निर्वाचन कार्यालय खारेज गरि प्रशासन कार्यालयमा निर्वाचन इकाइ खडा गर्ने निर्णय फिर्ता लिनुपर्ने समझदारी भएको छ ।

शुक्रबार आयोगले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत विभिन्न १२ राजनीतिक दलहरुसँग गरेको छलफलमा जिल्ला निर्वाचन कार्यालय खारेज गरी इकाइ खडा गर्ने काम नेपालको संविधान र प्रचलित कानूनविपरित हुने भएकाले यसलाई फिर्ता लिनुपर्ने समझदारी भएको हो ।

पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही हुन्छ : गृहमन्त्री
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पहिचानको नाममा अराजकता मच्चाउनेलाई सरकारले छुट नदिने बताएका छन् ।

आज प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दलले कोशी प्रदेशमा आफ्ना नेताहरूलाई पहिचान पक्षधर भनिनेहरूबाट आक्रमण बढेको भन्दै गृहमन्त्रीको जवाफ मागेपछि उनले सो घटनामा संलग्नहरूलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् ।

‘प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री भट्टराईविरूद्ध ‘युद्ध अपराध’ सम्बन्धी रिट दर्ता गर्नू’
सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायतविरुद्ध ‘युद्ध अपराध’ सम्बन्धी रिट निवेदन दरपिठ गर्ने आफ्नै प्रशासनको निर्णय खारेज गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजालासले शुक्रबार उक्त रिट निवेदन दरपिठ गर्ने सर्वोच्च अदालत प्रशासनको निर्णय खारेज गरेको निवेदक लेनिन बिष्टले जानकारी दिए । योसँगै तत्कालीन विद्रोही नेता प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री भट्टराईविरूद्ध ‘युद्ध अपराध’ सम्बन्धी रिट दर्ताको बाटो खुलेको हो ।

‘बाल सेना प्रयोग गरेर युद्ध अपराध गरेको भन्ने हामीले दायर गर्न खोजेको रिट निवेदन दरपिठ गर्ने निर्णय खारेज भएको छ’ उनले भने, ‘अब आइतबारसम्ममा रिट निवेदन हाल्नेछौं ।’

बाल सेना प्रयोग गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले युद्ध अपराध गरेकाले तुरुन्तै प्रचण्डलाई प्रधानमन्त्री पदबाट मुक्त गर्नुपर्ने माग राख्दै सर्वोच्चमा रिट निवेदन दिइएको थियो ।

करका दर वैज्ञानिक रुपमा प्रस्ताव गरिएको अर्थमन्त्रीको प्रष्टोक्ति

अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमा राजस्वका दर वैज्ञानिक रुपमा प्रस्ताव गरिएको बताएका छन् ।

राष्ट्रियसभाको आजको दोस्रो बैठकमा आर्थिक वर्ष २०८०-८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले विद्युतीय सवारी साधनमा कर तथा दैनिक उपभोग्य वस्तुमा मूल्य अभिवृद्धि कर (भ्याट)लगाउँदा आमनागरिकलाई असर नगर्ने बताए ।

यथास्थितिमा बजेट पास हुन नदिने माधव नेपालको चेतावनी

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा बजेट पास हुन नदिने बताएका छन् ।

शुक्रबार काठमाडौंमा समाजवादी प्रेस सङ्गठन नेपालको पहिलो केन्द्रीय अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले आफूहरू सत्ता पक्षकै भए पनि यथास्थितिमा बजेट पास हुन नदिने बताएका हुन् ।

भौतिक पूर्वाधारको धेरै बजेट शीर्ष नेताहरू र अर्थमन्त्रीको जिल्लामा छुट्याइएको भन्दै बजेट पक्षपातपूर्ण भएको उनको ठहर छ। सरकार छोड्न परे पनि अन्यायको विरुद्ध लड्ने उनले बताए ।

राष्ट्रपति पौडेल र स्विस राजदूतबीच भेटवार्ता
राष्ट्रपति रामचन्द्र पौडेलसँग स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले आज बिदाइ भेट गरेकी छिन् । राजदूत क्यापलर आफ्नो साढे पाँच वर्षे कार्यकाल समाप्त गरेर स्वदेश फर्कंदै छिन् ।

राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा राष्ट्रपति पौडेलले स्विस सरकारले नेपालको विकास र नेपालीप्रति देखाएको सद्भाव उदाहरणीय रहेको बताएको उनका परराष्ट्र विज्ञ डा सुरेशचन्द्र चालिसेले जानकारी दिए ।

सो अवसरमा राष्ट्रपति पौडेलले दुई देशबीचको सम्बन्ध आगामी दिनमा अझै प्रगाढ हुँदै जाने विश्वास समेत व्यक्त गरे । राजदूत क्यापलरले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्ध प्रगाढ र बलियो बनाउन खेलेको योगदानको समेत राष्ट्रपति पौडेलले सो अवसरमा प्रशंसा गरेका थिए ।

प्रधानमन्त्री प्रचण्ड र विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्षबीच भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डसँग विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजरले आज शिष्टाचार भेट गरेका छन् ।

भेटमा प्रधानमन्त्री दाहालले विश्व बैंकसँगको नेपालको छ दशक लामो सहकार्यको स्मरण गर्दै नेपालले विकास प्रक्रियामा भोग्नुपरेका जलवायुजन्य चुनौती र हरित विकासका सम्भावनाबारे छलफल गरे ।

विश्व बैंकले नेपालको आर्थिक तथा सामाजिक विकासमा खेलेको भूमिकाप्रति धन्यवाद दिँदै उनले मुख्यतः जलविद्युतको विकासका लागि वित्त व्यवस्थापनमा विश्व बैंकले खेलेको समन्वयकारी भूमिकाका लागि धन्यवाद दिए ।

किसानको हातमै अनुदान दिने नीति लिएका छौँ : प्रधानमन्त्री
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतका अनुभवबाट शिक्षा लिएर यसपटक सिधै किसानको हातमा अनुदान दिने नीति लिएको बताएका छन् ।

शुक्रबार दिउँसो काठमाडौँमा आयोजित रिटर्नी सेन्टर नेपालको प्रथम राष्ट्रिय भेलामा प्रधानमन्त्री प्रचण्डले भने, ‘विगतमा अर्बौं, अरबका अनुदानका कार्यक्रम बने। तर, तिनीहरूको सही सदुपयोग हुन सकेन। जसले उत्पादन गर्छ, उसले अनुदान नपाउने स्थिति रह्यो। त्यो एक प्रकारले बालुवामा पानी हालेजस्तै भयो । विगतका अनुभवबाट शिक्षा लिएर सरकारले यसपटक सिधै किसानको हातमा पुग्ने गरी अनुदान दिने नीति लिएको छ ।’

पहाडी क्षेत्र र काठमाडौँ उपत्यकामा चर्को मूल्यवृद्धि
तराई र हिमाली जिल्लाको तुलनामा पहाडी क्षेत्र र काठमाडौँ उपत्यकाभित्रका जिल्लामा मूल्यवृद्धि बढी देखिएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति वाञ्छित सीमा नाघेर सात दशमलव ४१ प्रतिशत पुगेको छ ।

दश महिनामा १० खर्ब बढी विप्रेषण भित्रियो
चालु आर्थिक वर्षको १० महिनामा कूल १० खर्ब पाँच अर्ब विप्रेषण मुलुकभित्र भित्रिएको छ ।

वैदेशिक रोजगारीमा जाने कामदारको सङ्ख्यामा बढोत्तरी भएको तथा वैधानिक तवरबाटै विप्रेषण भित्रन थालेकाले आप्रवाहमा सुधार देखिएको हो । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनासम्मको विवरणअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २३ दशमलव चार प्रतिशतले वृद्धि भएको छ ।

यसपाली तापक्रमले धेरै ठाउँमा ‘रेकर्ड ब्रेक’ गर्दै

यसपालि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको छ । केही स्थानमा रेकर्ड ब्रेक भइसकेको र अझै तातो हावाको लहर ९लू० जारी रहने देखिएकाले थप रेकर्ड ब्रेक हुने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताइन् ।

उनका अनुसार यस वर्ष यही जेठ २४ गतेसम्मको तथ्याङ्कमा सबैभन्दा बढी ४३ दशमलव आठ डिग्री तापक्रम रेकर्ड भएको छ ।

लुम्बिनी सरकारले ल्यायो नीति तथा कार्यक्रम
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०र०८१ को नीति तथा कार्यक्रम ल्याएको छ । शुक्रबार प्रदेश सभामा प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

५१ पृष्ठ लामो नीति तथा कार्यक्रममा रोजगारी सिर्जनालाई प्रमुख प्राथमिकता दिइएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सपथ ग्रहणकै क्रममा रोजगारी सिर्जनालाई प्रमुख प्राथमिकता दिने भनी गरेको घोषणाअनुसार नीति तथा कार्यक्रममा पनि जोड दिइएको छ ।

सुदूरपश्चिममा आइतबार आमहड्तालको घोषणा

सुदूरपश्चिम प्रदेशमा आइतबार आमहड्तालको घोषणा गरिएको छ । कैलालीस्थित गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै आइतबार सुदूरपश्चिम बन्दको घोषणा गरिएको हो ।

स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले शुक्रबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नयाँ विरोधका कार्यक्रम सार्वजनिक गर्दै सुदूरपश्चिम बन्दको घोषणा गरेको छ ।

‘हवाई टिकटमा भ्याट लगाउने नीतिले पर्यटन व्यवसायी मारमा’
पर्यटन व्यवसायसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले सरकारले आर्थिक वर्ष २०८०र८१ को बजेट वक्तव्यमा हवाई टिकटमा भ्याट लगाउने निर्णयले व्यवसायी मारमा परेको बताएका छन् ।

पर्यटन व्यवसायसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले आज संयुक्त पत्रकार सम्मेलन गरी अर्थमन्त्री डा प्रकाशशरण महतले जेठ १५ गते सङ्घीय संसद्का दुवै सदनमा प्रस्तुत गरेको बजेट वक्तव्यमा हवाई टिकटमा भ्याट लगाउने नीति सार्वजनिक गरेको भन्दै उक्त नीतिले पर्यटन व्यवसायी मारमा पर्ने बताएका हुन् ।

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  ९ : ०० बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर