सप्तरी- सप्तरीको तिरुहुत गाउँपालिका ५ स्थित लोहजरामा शुक्रबार भीषण आगलागी हुँदा ६ परिवारको १६ घर जलेर नष्ट भएको छ ।
आगलागीमा सत्यनारायण ठाकुरको ४ वटा, रामकिसुन मरैताको ४ वटा, हरिनारायण ठाकुरको ३ वटा, देवनारायण ठाकुरको २ वटा, उपेन्द्र ठाकुरको २ वटा र गोसाई अरगरियाको १ गरी १६ वटा घर जलेर नष्ट भएको तिरुहुत गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष रमानन्द चौधरीले जानकारी दिएका छन् ।
साँझ साढे ४ बजे रामकिसुन मरैताको घरबाट सल्केको आगलागी डेढ घण्टापछि नियन्त्रणमा आएको स्थानीयले बताए । राजविराज, हनुमाननगर, कञ्चनपुर र शम्भुनाथ नगरपालिकाबाट आएको ४ वटा बारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो ।
आगलागीमा मानवीय क्षति नभए पनि नगद, गरगहना, भाँडाकुँडा, अन्नपात, लत्ताकपडा गरी ठुलो परिणाममा धन सम्पत्ति जलेर नष्ट भएको छ ।
आगलागीमा क्षतिको विवरण सङ्कलन कार्य भइरहेकोले के–कति क्षति भएको भन्ने यकिन हुन नसकेको वडा अध्यक्ष चौधरीले जानकारी दिए । आगलागीमा ५० लाख भन्दा बढीको धन सम्पत्ति जलेर नष्ट भएको हुन सक्ने स्थानीयको अनुमान छ ।
प्रतिक्रिया