बैतडी दुर्घटना : बिसु पर्व मनाउने सपना झौलेक भिरमै बिलायो « Khabarhub

बैतडी दुर्घटना : बिसु पर्व मनाउने सपना झौलेक भिरमै बिलायो


२९ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

बैतडी – मङ्गलबार राति ११ बजे बैतडीमा जिप दुर्घटना हुँदा छ जनाको ज्यान गयो । भारतमा रोजगारी गरेर नयाँ वर्ष अर्थात् बिसु पर्व मनाउन उनीहरु घर फर्किँदै थिए । बझाङको एकै गाउँका छ जना बाटोमै अस्ताए । परिवारका साथ बिसु पर्व मनाउने उनीहरुको सपना बाटोमै बिलायो ।

जयपृथ्वी राजमार्गको खोडपे–बझाङ सडकखण्डअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ को झौलेक मोडमा से१ज ७६४ नंको जिप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी बझाङको केदारस्युँ गाउँपालिका–५ बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय वीरे धामीको ज्यान गयो ।

भारतसितको सीमानाका झुलाघाटबाट बझाङको बागथलातर्फ जाँदै गरेको उक्त जिपमा सवार सोही गाउँका अन्य छ जनाले भने हामफालेर ज्यान जोगाएको प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । “क्षमताभन्दा बढी यात्रु सवार थिए, उकालोमा जिप चढ्न सकेन, ब्रेक फेल भएर दुर्घटना भएको अनुमान छ”, उनले भने ।

भारतको पिथौरागढमा मजदुरी गर्दैआएका एकै गाउँका उनीहरू मङ्गलबार घर फर्किन झुलाघाट पुगेका थिए । झुलाघाटबाट बझाङ¬स्थित गाउँ पुग्न दुई तीनवटा गाडी फेरबदल गर्नुपर्ने झन्झटले सबैले मिलेर बझाङबाटै जिप रिजर्भ गरेर मगाएका थिए । बाह्र जनामध्ये छ जनाको बिसु मनाउने सपना झौलेक भिरमै बिलायो ।

सोही जिपमा सवार जयसिंह बोहराका अनुसार उहाँसहित पाँच जना जिपको पछिल्लो भागमा बसेकाले हाम फालेर बाँच्न सफल भए । “सडक उकालो थियो, जिप ब्याक भएर भिरबाट खस्यो”, उनले भने, “जिप पछाडि पछाडी फर्किन थाल्यो, पछाडि सवार सबैले हामफाल्यौँ, जिप सोझै भिरमा खस्यो ।”

गत मङ्सिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा उनीहरुले गाउँमा भोट खसाले । त्यसपछि रोजगारीका लागि भारतको पिथौरागढ जाने सल्लाह भयो । निर्वाचनको अर्को दिन सबैजना घरबाट हिँडेको जयसिंहले बताए । उनले भने, “बिसु पर्व मनाउन सबै सल्लाह गरेर घर फर्किँदै थियौँ, एकसाथ नयाँ वर्ष मनाउनै पाइएन ।”

राति ११ बजे उनीहरुले खोडपे बजारमा खाना खाएका थिए । खाना खाएर अगाडि बढेको केही समयमै जिप मध्यरातमा झौलेक भिरमा दुर्घटनामा पर्‍यो । “खाना खाएपछि खोडपेमै आराम गर्न चालकलाई आग्रह गरेका थियौँ, चालकले बागथला पुगेर आराम गरौँला भन्यो”, जयसिंहले भने, “राति यतै आराम गरौँ, नयाँ वर्ष आउन एक दिन बाँकी छ, बरु बिहान झिसमिसेमै जाउँला भन्दा चालकले मानेनन ।”

दुर्घटनामा एकै गाउँका छ जनाको ज्यान गएपछि बझाङको बाँझगाउँ शोकमा डुबेको छ । पर्वको मुखमै भएको दुःखद् घटनाले बिसु खल्लो बनाएको केदारस्युँ गाउँपालिका–५ का वडाध्यक्ष मोहनसिंह ठगुन्नाले बताए । सुदूरपश्चिममा नयाँ वर्षलाई बिसु पर्वका रूपमा मनाउने गरिन्छ ।

यतिबेला घर बाहिर हुनेहरु पर्व मनाउन फर्किन्छन् । जिप सडकबाट पाँच सय मिटर तल खसेको छ । जिप चालक मृतककै गाउँका २७ वर्षीय अर्जुन बोहरा फरार छन् । दुर्घटनालगत्तै प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीलगायतको टोली घटनास्थलमा पुगेको छ । शव भिरबाट निकाल्ने काम भइरहेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ११ : १० बजे

पैसा नभएकै कारण गर्भवतीलाई अस्पतालबाट फर्काइएको घटनाले बुबाको सम्झना आयो : सांसद अधिकारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती

प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

 काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्म सुझाव

भक्तपुर –राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्यभन्दा बढी

दमौली- बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

काठमाडौं- भोटेकोशी बाढीबाट प्रभावितको स्वास्थ्य उपचार तथा आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापनका