आज दिनभर विनियोजन विधेयक बहुमतबाट स्वीकृत, जिल्ला निर्वाचन कार्यालय खारेज नहुने अर्थमन्त्री महतको भनाइ, प्यूठानमा कार दुर्घटना हुँदा ८ जनाको मृत्यु, १८ उपसचिवको सरुवा, गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने सरकारको निर्णय, मौसम फेरिँदा केही राहत, शेयर बजार बढ्योलगायतका समाचारले प्रमुख स्थान पाए ।
विनियोजन विधेयक बहुमतबाट स्वीकृत
प्रतिनिधिसभामा ‘विनियोजन विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट स्वीकृत भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सभासमक्ष उक्त प्रस्ताव पेस गरेका हुन् ।
विनियोजन बजेटका विभिन्न मन्त्रालय र सचिवालय शीर्षकमाथि यही जेठ ३२ देखि असार १२ गतेसम्म छलफलका लागि दिन तोकिएको सभामुख देवराज घिमिरेले सदनलाई जानकारी गराए ।
जिल्ला निर्वाचन कार्यालय खारेज नहुने अर्थमन्त्री महतको भनाइ
अर्थमन्त्री डा. प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने बताएका छन् ।
आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नको सोमबार प्रतिनिधिसभा बैठकमा जवाफ दिने क्रममा अर्थमन्त्री महतले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने बताएका हुन् ।
सांसदहरुले जिल्ला निर्वाचन कार्यालय खारेज गर्न लागेको भनेर आपत्ति जनाएका थिए ।
प्यूठानमा कार दुर्घटना हुँदा ८ जनाको मृत्यु
प्यूठानमा कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
स्वर्गद्वारी मन्दिरबाट फर्किँदै गरेका तीर्थयात्री बोकेको लु १ च ६३४५ नम्बरको कार भिङ्ग्रीमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उक्त कारमा चार बालबालिका, दुई पुरुष र दुई महिला सवार थिए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अतिरिक्त समूहमा रहेका १८ जना उपसचिवको सरुवा गरेको छ ।
अतिरिक्तमा रहेका १८ जना उपसचिवमध्ये ५ जनाको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको मन्त्रालयले जनाएको छ । अन्य उपसचिवको जिल्लास्थित जिल्ला समन्वय समितिमा सरुवा गरिएको छ ।
गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने सरकारको निर्णय
नेपाल सरकारले कैलालीको गेटामा मेडिकल कलेज सञ्चालनका लागि निर्माण गरिएको भौतिक संरचनामा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाउने भएको छ ।
आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि बजेट विनियोजन गरिएको भए पनि सरकारले स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाउने भएको हो ।
परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका नेता एनपी साउदले गेटामा प्रतिष्ठान नभएर शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाइने जानकारी दिए ।
शिक्षा ऐन र विश्वविद्यालय छाता ऐन ल्याउने प्रक्रिया अघि बढेको शिक्षामन्त्री राईको भनाइ
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सरकारले माध्यमिक शिक्षा ऐन र विश्वविद्यालय छाता ऐन ल्याउने प्रक्रिया अघि बढाएको बताएका छन् ।
प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री राईले त्रिभुवन विश्वविद्यालयभित्र हुने दलीय राजनीतिक गतिविधिले सुरक्षित वातावरणमा पढ्न पाउने अधिकारबाट विद्यार्थी वञ्चित हुनुपरेकाले विश्वविद्यालय छाता ऐन ल्याउने प्रक्रिया अघि बढेको बताए ।
चिसो बतास चलेर ठाउँठाउँमा पानी परेपछि हालै बढेको गर्मीबाट केही राहत मिलेको महोत्तरीका स्थानीय बताउँछन् । जेठ लागेयता पानी नपरेर लगातार बढ्दो तापमानले प्रभावित भएको जनजीवनमा आइतबार साँझदेखि चिसो बतास चल्नुका साथै ठाउँठाउँमा पानी परेपछि केही राहत भएको हो । महोत्तरीमा पूर्व–पश्चिम राजमार्ग वारिपारी क्षेत्रमा केहीबेर मेघगर्जनसहित पानी परेपछि शीतल महसुस गरिएको छ ।
“खेतीपातीलाई साथ मिल्ने र सुकेका पानीका मुहान रसाउने गरी त पानी पर्न सकेन, तर चिसो बतास चलेपछि मौसम शीतल भएको छ”, बर्दिबास–२ बारनचौडीका उमेश आचार्यले भने, “पानी परेर चिसो भएपछि हिँड्डुल गर्न सहज भएको छ ।” उनका अनुसार मौसममा सामान्य फेरबदल हुँदा पनि यहाँका स्थानीयले निकै राहत महसुस गरेका छन् ।
जेठ मध्ययता एकाबिहानैदेखि लाग्ने टड्कारो घाम आज मलिन भएको छ । आकाशमा काला बादलका टुक्रा देखिँदा र चिसो बतास चलिरहँदा अब राम्ररी पानीपर्ने आश जागेको यहाँका स्थानीय बताउँछन् ।
प्रधानमन्त्री प्रचण्ड पत्नी सीताको स्वास्थ्य परीक्षण
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको नर्भिक अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गरिएको छ ।
प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले उनको थापाथलीस्थित नर्भिक अस्पतालमा निजी चिकित्सक प्राडा. युवराज शर्मालगायतको टोलीले स्वास्थ्य परीक्षण गरेको हो ।
नीति तथा कार्यक्रमभन्दा फरक बजेट आयो : अध्यक्ष नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सरकारले ल्याएको बजेट नीति तथा कार्यक्रमभन्दा फरक आएको बताएका छन् ।
समाजवादी प्रेस संगठनका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिन सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले बजेट नीति तथा कार्यक्रमभन्दा फरक आएको र यस विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीलाई समेत जानकारी गराइएको बताए ।
जवाफमा प्रधानमन्त्रीले समयको अभावमा बजेटबारे छलफल अन्तक्रिया गर्न नपाएको र आगामी बजेटमा यसलाई ध्यान दिने भन्दै आश्वस्त तुल्याएको नेपालले बताए । उनले दलहरुबीच केही मतभेद हुनसक्ने भएपनि अहिले गठबन्धनको विकल्प नरहेको जिकिर गरे ।
विदेशी हस्तक्षेप र प्रभाव बढ्यो : कमल थापा
राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक यथास्थितिबाट अघि बढे दुर्घटनामा पर्ने बताएका छन् ।
राष्ट्रियता कमजोर भएको र विदेशी हस्तक्षेप तथा प्रभाव बढेर गएको उनको भनाइ छ । ‘इतिहासकै डरलाग्दो आर्थिक मन्दि छ । भ्रष्टाचार संस्थागत भएको छ । बेरोजगारी र महङ्गिले आकाश छोएको छ,’ थापाले भने ।
यही क्रम जारी रहे यथास्थिति मै मुलुक रहिरहने र दुर्घटनातर्फ देश धकेलिने उनले चिन्ता व्यक्त गरे । काठमाडौंका अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै थापाले बजेटले कुनै आशाको किरण दिन नसकेको भन्दै मुलुकको जर्जर आर्थिक अवस्थालाई बजेटले सम्बोधन गर्न नसकेकोमा तीब्र आलोचना गरे ।
मुलुकमा बलियो राजनीतिक शक्तिको आवश्यकता रहेको एमाले महासचिव पोखरेलको भनाइ
नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मुलुकमा बलियो राजनीतिक शक्तिको आवश्यकता रहेको बताएका छन् । एमाले प्रचार विभागले आज पार्टी मुख्यालयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले मुलुकको राष्ट्रिय समस्या समाधानका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताए ।
नेपालमा बलियो राष्ट्रिय शक्ति निर्माण हुन नदिनका लागि राजनीतिक अस्थिरता सिर्जना गर्ने प्रयास हुने गरेको उनको भनाइ छ । उनले बलियो राष्ट्रिय राजनीतिक शक्ति स्पष्ट नीति, उद्देश्य, लक्ष्य गन्तव्यमा भएको एमालेमात्र बन्ने बताए ।
२१ जिल्ला पहिरोको उच्च जोखिममा
नेपालका कतिपय जिल्ला बढीबाट बढी प्रभावित छन् भने कतिपय जिल्ला पहिरोबाट बढी प्रभावित छन् । यस्तै केही जिल्ला बढी र पहिरो दुवैको जोखिममा छन् । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष मनसुनको समयमा कुन जिल्लामा कस्तो जोखिम पर्न सक्छ भनी अध्ययन गरेर विभिन्न आँकलन सार्वजनिक गरेको छ ।
यस वर्ष विभिन्न जिल्ला उच्च जोखिम, जोखिम र बारम्बार भइरहेको जोखिमको सूचिमा राखेर विवरण सार्वजनिक गरिएको प्राधिकरणले जनाएको छ ।
विगतको तथ्याङ्क, मौसम प्रणाली, यस वर्षको मनसुन पूर्वानुमानलगायत विभिन्न सूचकको विश्लेषणका आधारमा आउँदो मनसुनका समयमा नेपालका २१ जिल्ला पहिरोको उच्च जोखिममा छन् भने अन्य ३३ जिल्ला पहिरोको मध्यम जोखिममा छन् ।
माग पूरा नभए असार २ गतेदेखि विद्यालय बन्द गर्न आन्दोलनरत कर्मचारीको चेतावनी
विभिन्न माग राख्दै आन्दोलनरत सामुदायिक विद्यालयका कर्मचारीले आफ्ना माग पूरा नभए असार २ गतेदेखि विद्यालय नै बन्द गर्ने चेतावनी दिएका छन् ।
काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका कर्मचारीले असार १ गतेसम्ममा आफूहरुको माग पूरा नभए असार २ गतेदेखि विद्यालय नै बन्द गर्ने चेतावनी दिएका हुन् ।
न्यूनतम पारिश्रमिकसहित संघीय शिक्षा ऐन जारी गर्नुपर्ने र शिक्षकहरूको सेवा सुविधा बढाउनुपर्ने माग राखेर रिले अनशन थालेका कर्मचारीले सरकारलाई विद्यालय नै बन्द गर्ने चेतावनी दिएका हुन् ।
निजामती कर्मचारीले टिकटक बनाए कारबाही हुने
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीले कार्यालय समयमा टिकटक बनाए कारबाही गर्ने भएको छ ।
मन्त्रालयले एक सूचना प्रकाशित गरी कार्यालय समयमा टिकटक नबनाउन निर्देशनसमेत दिएको छ ।
कार्यालय समयमा कार्यालयको पोसाक लगाएर, कार्यालयको सवारीसाधन प्रयोग गरेर र कार्यालय हाताभित्र टिकटक बनाउन रोक लगाइएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता कमलप्रसाद भट्टराईले बताए ।
महानगरद्वारा दर्ता नवीकरणबिना सञ्चालित दुई अस्पताल सिल
काठमाडौं महानगरपालिकाले दर्ता नवीकरणबिना सञ्चालित दुई अस्पताल सिल गरेको छ ।
महागरपालिकाको टोलीले दर्ताबिना सञ्चालन हुँदै आएका बौद्धको चाइना पिपुल्स हस्पिटल र कोटेश्वरको हाम्रो सहयात्री अस्पताल एवम् बर्थिङ सेन्टरमा सिल गरेको हो ।
अनुगमन टोलीले दुवै अस्पताल दर्ता नवीकरणबिना सञ्चालन भइरहेको पाएको थियो ।
राष्ट्र बैंकका गभर्नर र धितोपत्र बोर्डका अध्यक्षलाई छलफलका लागि बोलाउने अर्थ समितिको निर्णय
संसदको अर्थ समितिले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई छलफलमा बोलाउने निर्णय गरेको छ ।
सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले राष्ट बैंक र धितोपत्र बोर्डका विषयमा प्रश्न उठेकाले छलफलका लागि गभर्नर अधिकारी र बोर्ड अध्यक्ष हमाललाई बोलाउने निर्णय गरेको हो ।
६ किलो चरेससहित त्रिभुवन विमानस्थलबाट जर्मन नागरिक पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना जर्मन नागरिक ६ किलोभन्दा बढी लागूऔैषध चरेससहित पक्राउ परेका छन् ।
सोमबार टर्किस एयरलाइन्सबाट इस्तनाबुल हुँदै स्टुटगार्ट जान लागेका ६३ वर्षीय जर्मन नागरिक पल रिस्टलाई विमानस्थलमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
उनले सुटकेसमा कार्बन पेपरले बेरेर चरेस लुकाएका थिए । विमानस्थल प्रहरीले जाँच गर्ने क्रममा उनको सुटकेसमा कार्बन पेपरले बेरेर चरेस लुकाएको पत्ता लागेको हो ।
तीव्र उतार चढावबीच सोमबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा सात दशमलव ७९ अङ्कको वृद्धि देखिएको छ । नेप्से परिसूचक शून्य दशमलव ३९ प्रतिशतले बढेर एक हजार नौ सय ८७ दशमलव ८७ अङ्क पुगेको छ ।
आज दुई सय ८५ कम्पनीको ७४ लाख ५४ हजार सात कित्ता शेयर दुई अर्ब ८८ करोड ६५ लाख नौ हजार चार सय १५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक सय रुपैयाँ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ रहेको थियो ।
तेजाबी सुनको मूल्य पनि एक सय रुपैयाँले घटेर १ लाख ११ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुनको मूल्य एक लाख ११ हजार ९ सय ५० रुपैयाँ रहेको थियो ।
प्रतिक्रिया