विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

आज साउन २८, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अगस्ट १३, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

पाकिस्तानमा चिनियाँ इन्जिनियर बोकेको सवारी लस्करमा आक्रमण, दुई सुरक्षाकर्मी घाइते

पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा आइतबार भएको आक्रमणमा दुई सुरक्षाकर्मी घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यम र अधिकारीहरूले जनाएअनुसार घटना ग्वादर जिल्लामा भएको हो ।

आतंकवादीहरूले चिनियाँ इन्जिनियर सवार लस्करमा आक्रमण गरेको सुरक्षा अधिकारीहरुले जनाएका छन् । सुरक्षाकर्मीको प्रत्याक्रमणमा एक आक्रमणकारी मारिएका छन् ।

७ सवारी साधनमा २३ चिनियाँ इन्जिनियर बोकेर उक्त लस्कर ग्वादर बन्दरगाहतर्फ गइरहेको टाइम्स अफ इन्डियाले जनाएको छ । चीनको सहयोगमा ग्वादर बन्दरगाह निर्माणाधीन रहेको बताइन्छ ।

बलुचिस्तान प्रान्तीय सरकारका प्रवक्ता बाबर युसुफजाईले आतङ्कवादी विरुद्धको अभियान चलिरहेको बताएका छन् । प्रतिबन्धित सशस्त्र समूह बलुचिस्तान लिबरेशन आर्मीले आक्रमणको जिम्मेवारी लिएको छ ।

उड्नै लागेको विमानमा चरा ठोक्किएपछि…

बङ्गलादेशको राजधानी ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा उड्नै लागेका दुई वटा विमानमा चरा ठोक्किएपछि उडान अवरुद्ध भएको छ । तर घटनामा कुनै मानवीय क्षति भने नभएको अधिकारीहरूले बताएका छन् ।

राष्ट्रिय ध्वजावाहक विमान बङ्गलादेश एयरलाइन्सको ब्याङ्कक उड्नलागेको विमानमा चरा ठोक्किएपछि एउटा टायर फुटेर उडान अवरुद्ध भएको उक्त विमानका एक जना वरिष्ठ चालकलाई उद्धृत गर्दै दैनिक समाचारपत्र डेली स्टारले जनाएको छ । यात्रुहरूलाई वैकल्पिक व्यवस्था गरेर ब्याङ्कक पठाइएको थियो ।

दोस्रो घटनामा, रिपोर्ट अनुसार, फ्लाई दुबईको विमान दुबईतर्फ उड्न लागेका बेला विमानको वाया इन्जिनमा चरा ठोक्किएपछि तीन वटा प्रपेलर ब्लेडमा क्षति भएको थियो । विमान उड्न केही सेकेण्ड बाँकी हुँदा अकस्मात रोक्नुपर्दा दुई वटा पाङ्ग्रा पनि पग्लिएका अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै उक्त अखबारले खबर छापेको छ ।

यसअघि गत डिसेम्बरमा पनि सोही विमानस्थलमा अवतरणका क्रममा विमानको इन्जिनमा चरा ठोक्किएर ड्रिमलाइनर विमानमा क्षति भएको थियो ।

पाकिस्तानको कार्यवाहक प्रधानमन्त्रीमा अनवर काकर चयन

पाकिस्तानको कार्यवाहक प्रधानमन्त्रीमा अनवर उल हक काकर चयन भएका छन् ।

निवर्तमान प्रधानमन्त्री शाहबाज सरिफ र विपक्षी नेता राजा रियाजबीचको सहमतिपछि काकरको नाम कार्यबाहक प्रधानमन्त्रीका लागि अनुमोदन गरिएको हो । अब हुने आम निर्वाचन उनकै नेतृत्वमा हुनेछ ।

उनले आइतबार कार्यबाहक प्रधानमन्त्रीको रुपमा शपथ लिने छन् । काकर बलुचिस्तान प्रान्तका हुन् । पाकिस्तानको माथिल्लो सदन सिनेटमा उनलाई स्वतन्त्र सांसद मानिन्छ ।

तर, उनी पाकिस्तानी सेनासँग निकट सम्बन्ध राख्ने बलुचिस्तान अवामी पार्टीसँग आवद्ध रहेको स्थानीय समाचार संस्थाहरूले जनाएका छन् ।

पाकिस्तान सरकारको सिफारिसमा राष्ट्रपति आरिफ अल्बीले गत बुधबार मध्यराति संसद विघटनलाई सदर गरेका थिए । संसद विघटन भएको मितिदेखि ९० दिनभित्र पाकिस्तानमा आम निर्वाचन गराउनुपर्ने छ ।

पाकिस्तानमा सन् २०२२ मा अविश्वासको प्रस्ताव ल्याई प्रधानमन्त्री इमरान खानलाई बर्खास्त गरिएपछि राजनैतिक अस्थिरता बढेको छ ।

कार्यवाहक प्रधानमन्त्री काकरले अब ९० दिनभित्र मुलुकमा नयाँ निर्वाचन गराउनुपर्नेछ ।

पोल्याण्डमा भेटियो विश्वयुद्ध ताकाको २५० केजीको बम

पोल्याण्डको लुब्लिन सहरमा दोस्रो विश्वयुद्ध ताकाको बम फेला परेको छ ।

बम फेला परेपछि सो सहरका करिब १४ हजार मानिसलाई अस्थायी रूपमा आफ्नो घर छोड्न आदेश दिइएको थियो।

मानिसहरूलाई विद्यालय र अन्य भवनहरूमा सारिएको थियो। साथै घरमा रहेका सबै विद्युतीय उपकरण, पानी र ग्यास बन्द गर्न लगाइएको थियो ।

निर्माण स्थलमा भेटिएको यो बमको तौल २५० केजी रहेको छ । लगत्तै बम डिस्पोजल टोलीले बम निकालेर निष्क्रिय पारेको थियो । खतराको चेतावनी सकिए पछि मानिसहरूलाई घर फर्कन अनुमति दिइएको थियो ।

पोल्याण्डमा यसअघि पनि दोस्रो विश्वयुद्धका बम धेरै पटक भेटिएका छन् । केही दिन अघि जर्मनीको डसेलडर्फ सहरमा ५०० किलोको बम भेटिएको थियो । बम फेला परेपछि १३ हजार मानिसलाई अस्थायी रूपमा विद्यालयमा सारिएको थियो ।

गत महिना पनि विद्यालयको जीर्णोद्धारका क्रममा केही तोपका गोला फेला परेका थिए । गत वर्ष पोल्याण्डको राजधानी वार्सामा ५०० किलोको बम फेला परेपछि ३० हजार मानिसले अस्थायी रूपमा आफ्नो घर छाड्नुपरेको थियो ।

साउदीले पहिलोपटक प्यालेस्टाइनमा पठायो राजदूत

साउदी अरबले प्यालेस्टाइनका लागि पहिलो पटक गैरआवासीय राजदूत नियुक्त गरेको छ । सञ्चार माध्यमका अनुसार साउदी अरेबियाका लागि नयाँ राजदूतले जेरुसेलमका लागि कन्सुल जनरलको रूपमा पनि काम गर्नेछन्।

साउदी अरबको विदेश मन्त्रालयले जोर्डनका लागि वर्तमान राजदूत नाइफ अल सुदैरीलाई प्यालेस्टाइनका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेको हो ।

नाइफ अल सुदैरीले त्यसपछि जोर्डनको राजधानी अम्मानमा प्यालेस्टिनी दूतावासमा प्यालेस्टिनी राष्ट्रपतिका कूटनीतिक मामिला सल्लाहकार माजदी अल खालिदीलाई भेटे र आफ्नो ओहोदाको प्रमाणपत्र हस्तान्तरण गरे।

साउदी अरबको विदेश मन्त्रालयले ट्वीट गर्दै सो जानकारी दिएको हो । ‘जोर्डनका दुई पवित्र मस्जिदका संरक्षक राजदूत नायफ अल सुदैरीले डा. माजदी अल खालिदीलाई प्यालेस्टाइनको असाधारण र गैर निवासी राजदूतको रूपमा आफ्नो नियुक्तिको प्रतिलिपि अम्मानमा प्यालेस्टिनी दूतावास र जेरुसेलममा कन्सुलर जनरललाई हस्तान्तरण गरे,’ ट्वीटमा भनिएको छ ।

मिडिया रिपोर्टका अनुसार नायफ अल सुदैरीले आफ्नो राजदूत नियुक्तिको स्वागत गर्दै यसलाई महत्त्वपूर्ण कदम भनेका छन्।

उनले साउदी अरबका राजा सलमान र युवराज मोहम्मद बिन सलमानको प्यालेस्टाइनसँगको सम्बन्धलाई मजबुत बनाउन र यसलाई सबै क्षेत्रमा औपचारिक रूपमा प्रवर्द्धन गर्ने इच्छाको प्रशंसा गरे। माजदी अल खालिदीले यो कदमले दुई देशका जनतालाई जोड्ने बलियो र भाइचारा सम्बन्धलाई बलियो बनाउन योगदान गर्ने बताए ।

रुसले खसाल्यो २० युक्रेनी ड्रोन

रुस र युक्रेनबीच डेढ वर्षदेखि चलिरहेको भीषण युद्ध अझै रोकिएको छैन ।

यसैबीच समाचार एजेन्सी तासले रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै आफ्नो वायु रक्षा प्रणालीले युक्रेनको एस २०० मिसाइल पत्ता लगाएर रोकेको बताएको छ।

रक्षा मन्त्रालयले भन्यो, ‘अगस्ट १२ मा बिहान करिब १ः०० बजे किभ शासनले एस २०० सतह टु एयर निर्देशित हतियारको साथ क्रिमियन पुलमा आतंकवादी हमला गर्ने प्रयास गरेको थियो। युक्रेनी मिसाइल तुरुन्तै पत्ता लगाइएको थियो र रुसको वायु रक्षा प्रणालीले बीचको हावामा रोकेको थियो।’ घटनामा कुनै मानवीय वा क्षति नभएको मन्त्रालयले जनाएको छ ।

यसअघि क्रिमियाका गभर्नर सर्गेई अक्स्योनोभले आफ्नो टेलिग्राम च्यानलमा दुई युक्रेनी क्षेप्यास्त्रहरू केर्च स्ट्रेटको क्षेत्रमा हवाई रक्षा प्रणालीले खसालेको बताएका थिए। उनले भने, ‘एयर डिफेन्स सिस्टमले केर्च स्ट्रेटको क्षेत्रमा दुश्मनका दुईवटा मिसाइललाई खसाल्यो। क्रिमियाको पुल प्रभावित भएको छैन।’

क्रिमिया क्षेत्रमा आक्रमणहरू सामान्य भइसकेका छन्। जुलाईको सुरुमा मस्कोले युक्रेनले क्रिमियातर्फ रातारात १७ ड्रोन प्रक्षेपण गरेको आरोप लगाएको थियो। रुसले यसलाई ‘आतंकवादी हमला’ भनेको छ ।

रुसी वायु रक्षा बलले तीनवटा ड्रोन खसालेको छ भने तीनवटा क्रिमियन प्रायद्वीपमा र ११ वटा ब्ल्याक सीमा खसेका छन् ।

नाइजेरियामा मस्जिद भत्किँदा १० जनाको मृत्यु

उत्तरी नाइजेरियाको कादुना राज्यमा शुक्रबार एक प्राचीन मस्जिद अचानक भत्किँदा कम्तीमा १० जनाको मृत्यु भएको प्रहरीले शनिबार जनाएको छ ।

प्रहरी प्रवक्ता मोहम्मद जलिगेले दिएको जानकारीअनुसार जारिया शहरमा शुक्रबार साँझको प्रार्थनाका क्रममा मस्जिद आंशिक रुपमा भत्किएको थियो ।

प्रवक्ता जलिगेले भने, “मस्जिदको भग्नावशेषबाट १० जनाको शव निकालिएको छ भने २५ जना घाइतेको उद्धार गरिएको छ । घाइतेमध्ये सात जना गम्भीर घाइते भएका छन् ।” उनले भने, “उद्धार कार्य समाप्त भएको छ र घटनाको पूर्ण अनुसन्धान सुरु भएको छ ।”

जारियाका अमिर अहमद बामालीले स्थानीय सञ्चारमाध्यमसँग भने, “हामीले एक दिन अघि मस्जिदको भित्तामा चर्केको देखेका थियौँ र यो दुर्भाग्यपूर्ण घटना हुँदा मर्मतका लागि सिभिल इञ्जिनियरको टोली खटाउने योजना बनाइरहेका थियौं ।”

सन् १८३० को दशकमा निर्माण गरिएको उक्त मस्जिदले दशकौँदेखि विश्वका सबै भागका मुस्लिम धर्मावलम्बीका लागि ढोका खोलेको कादुना राज्यका गभर्नर उबा सानीले बताए ।

नाइजेरियामा भवन भत्किने घटनाहरू असामान्य छैनन् । स्थानीय विशेषज्ञहरूले भवनहरू भत्किनुलाई अति पूराना संरचना, भवन योजना तथा नियमहरूको गैर–अनुपालन र निर्माणको समयमा गुणस्तरहीन सामग्रीहरूको प्रयोगको लागि दोष दिन्छन् ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ८ : ०५ बजे

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि