विधिपूर्वक गरियो गोवर्द्धन पूजा « Khabarhub

विधिपूर्वक गरियो गोवर्द्धन पूजा


२८ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन, बलि, गोरु, हली एवं कृषकको पूजा गरी मनाइएको छ ।

आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानेर पूजा आराधना गरिएको हो । द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।

कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ । गोवर्द्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईले जानकारी दिए । भगवान् विष्णुको आज्ञा अनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मर्त्यलोकको शासन गर्ने अधिकार बलिराजाले पाएको पौराणिक मान्यता छ । दानमा कहलिएका राजा बलिले नै भलो होस् भनेर भैलो र ‘देउ शिर रे’ भनी देउसी खेल्ने परम्पराको सुरुवात् गरेको विश्वास छ । यसै आधारमा आज बलिको पनि पूजा आराधना गरिएको छ ।

प्राचीनकालदेखि नै गोरुले कृषिकर्मका लागि खेत, बारी जोतेर महत्वपूर्ण योगदान गर्दै आएको छ । महादेवको वाहनको रुपमा समेत पूजिने गोरु (साँढे) लाई आज पूजा गरी मीठा मीठा खानेकुरा दिए वर्षभर खुसी भएर कृषि कर्ममा सहयोग गर्ने विश्वास छ । यसैगरी गोरु जोत्ने हलिलाई पनि पनि आज घरमा बोलाएर टीका दक्षिणासहित मीठा कुरा खान दिइन्छ । यसैले आजको दिनलाई हल तिहार पनि भनिन्छ ।

वर्षभर कृषि कर्म गर्ने कृषकलाई पनि आज पूजा गरी मीठा मीठा खानेकुरा खान दिइएको छ । तिहारमा काग, कुकुर, गाई, गोरु, हलि, कृषकलाई पूजा गर्नुले कामका आधारमा कसैलाई भेदभाव नगरी सबैको महत्व रहेको सांस्कृतिक रुपमा अर्थ दिने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् । यसरी वैदिक सनातन धर्मले सबैको महत्व भएको दर्शन अङ्गालेको पनि उनले सुनाए ।

प्रकाशित मिति : २८ कार्तिक २०८०, मंगलबार  ६ : १९ बजे

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार