विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

आज साउन ३०, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अगस्ट १५, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

भारतको हिमाचल प्रदेशमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ५५ पुग्यो

भारतको हिमाचल प्रदेशमा विगत दुई दिनदेखि परेको भीषण वर्षाका कारण उत्पन्न प्राकृतिक प्रकोपमा परी मृत्यु हुनेको सङ्ख्या ५५ पुगेको छ ।

अहिलेसम्म राज्यमा करिब ५५ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेको सङ्ख्या बढ्न सक्छ’ हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले भनेका छन् ।

हिमाचल प्रदेशमा जुन २४ मा मनसुन सुरु भएदेखि नै भारी वर्षा भइरहेको छ । जसले पहिरो, चट्याङका कारण ठूलो विनाश निम्त्याएको छ ।

सोमबार समर हिलमा रहेको एउटा मन्दिर पहिरोमा परेर भत्किएको थियो । घटनामा ३० देखि ३५ जना भित्र फसेको राष्ट्रिय प्रकोप प्रतिक्रिया बलका अधिकारी नफीस खानले आशंका व्यक्त गरेका छन् ।

घटनास्थलबाट ११ जनाको शव निकालिएको छ भने खोजी कार्य जारी छ । सरकारले उपलब्ध गराएको विवरणअनुसार सोमबार साँझसम्म राज्यभर २८३ जनाको ज्यान गएको छ । प्रकोपमा अरु ३०४ जना घाइते भएका छन् भने ३३ जना बेपत्ता भएका छन् ।

राज्य आपतकालीन सञ्चालन केन्द्रले विपद्का कारण राज्यमा ८५७ सडक बन्द गरिएको जनाएको छ । भारतको मौसम विभागले मङ्गलबार हिमाचल प्रदेशमा आगामी दुई दिनसम्म भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

अन्तर्राष्ट्रिय मामिलामा भारतले रचनात्मक भूमिका निर्वाह गर्नसक्छ : पुटिन

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तर्राष्ट्रिय मामिलामा भारतले रचनात्मक भूमिका निर्वाह गर्नसक्ने बताएका छन् ।

भारतको ७७ औँ स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीलाई बेग्लाबेग्लै पठाएको शुभकामना सन्देशमा रुसी राष्ट्रपतिले अन्तर्राष्ट्रिय जगतमा प्रभाव र प्रतिष्ठा कमाएको भारतले विश्व मामिलामा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने उल्लेख गरेका छन् । ‘भारतले आर्थिक, वैज्ञानिक, प्राविधिक, सामाजिक र अन्य क्षेत्रमा विश्वव्यापी रूपमा मान्यता एवम् सफलता हासिल गरेको छ, विश्व मञ्चमा सम्मान प्राप्त भारतले साझा चासोका वैश्विक मामिलामा रचनात्मक भूमिका निर्वाह गर्नसक्छ’ पुटिनको सन्देशमा उल्लेख गरिएको छ ।

रुस र भारतको संयुक्त प्रयासबाट सबै क्षेत्रमा फलदायी द्विपक्षीय सहयोग विस्तारका साथै क्षेत्रीय एवं विश्वव्यापी मुद्दाहरू समाधान गर्न रचनात्मक साझेदारीलाई अझ सुदृढ बनाउन आफू तत्पर रहेको बताउँदै रुसी राष्ट्रपतिले मित्र राष्ट्रहरूको हित प्रवद्र्धनमा सक्दो योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसैगरी, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले ७७औँ स्वतन्त्रता दिवसको अवसरमा बधाई ज्ञापन गर्दैै भारत फ्रान्सको ‘विश्वसनीय मित्र’ भएको बताएका छन् । उनले गत महिना भएको प्रधानमन्त्री मोदीको फ्रान्स भ्रमणको स्मरण गर्दै भविष्यमा द्विपक्षीय सम्बन्ध अझ घनीभूत हुने विश्वास व्यक्त गरेका छन् ।

अमेरिकामा डढेलोबाट ९६ जनाको मृत्यु, १३ सय जना सम्पर्कविहीन
अमेरिकाको हवाईमा लागेको डढेलोमा जलेका घरहरू र सवारी साधनहरू अत्याधिक भएपछि त्यहाँको स्थिति थप चिन्ताजनक देखिएको छ।

उद्धार टोलीहरूले प्रतिदिन १० देखि २० थप पीडितहरू फेला पार्न सक्ने सम्भावना रहेको त्यहाँको गभर्नरले चेतावनी दिएका छन्। यसलाई बितेको एक शताब्दीमा अमेरिकाको सबैभन्दा घातक डढेलोको रुपमा लिइएको छ ।

अहिलेसम्म मृत्यु हुनेको संख्या बढेर ९६ पुगेको छ । हवाईका गभर्नर जोस ग्रीनले सीबीएस न्यूजलाई दिएको जानकारीअनुसार मृत्युको पूर्ण संख्या जान्न अझै १० दिन लाग्ने छ । उनले डढेलोमा परेर बेपत्ता हुनेको संख्या करिब १ हजार ३ सय पुगेको बताए । उनले भने, ‘आगलागीबाट लहैना सहर पूरै जलेर नष्ट भएको छ । विनाश बाहेक हेर्नका लागि केही छैन ।’

उनका अनुसार लाहाइनाका सबै १३ हजार मानिसहरूको घर जलेपछि सम्भवतः आगोबाट बच्न भागेका वा मरेका हुन सक्छन् ।

संघीय आपतकालीन व्यवस्थापन एजेन्सीको खोज र उद्धार टोलीले १० खोज कुकुरहरू तैनाथ गरेर खोजी सुरु गरेको सीएनएनले जनाएको छ । आगोमा जलेका शवहरू पत्ता लगाउन मुस्किल रहे पनि हवाई सरकारले त्यसका लागि निरन्तर प्रयास गरिरहेको जनाइएको छ ।

भारतले आज ७७औँ स्वतन्त्रता दिवस मनाउँदै, सुरक्षा व्यवस्था कडा

भारतले आज आफ्नो ७७औँ स्वतन्त्रता दिवस मनाउँदै छ ।भारतले सन् १९४७ मा अंग्रेज शासनबाट मुक्त भएको दिनको स्मरणमा हरेक वर्ष अगस्ट १५ का दिन स्वतन्त्रता दिवस मनाउने गरेको छ ।

दिवसका अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी नयाँदिल्लीको लालकिल्लाबाट सम्बोधन गर्ने कार्यक्रम छ। सन् २०१४ मा सत्तामा आएका मोदीको स्वतन्त्रता दिवसको अवसरमा लालकिल्लामा हुने सम्बोधन यसपालि १०औँ हो।

प्रधानमन्त्री मोदीले ७७औं स्वतन्त्रता दिवसको अवसरमा देशवासीलाई बधाई दिएका छन् । उनले ट्विटरमा लेखेका छन्, ‘तपाई सबैलाई स्वतन्त्रता दिवसको धेरै धेरै शुभकामना । यस ऐतिहासिक अवसरमा अमृतकलमा विकसित भारतको संकल्पलाई बलियो बनाउनुहोस् । जय हिन्द १’

स्वतन्त्रता दिवसको कार्यक्रमका लागि सुरक्षा व्यवस्था कडा पारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । स्वतन्त्रता दिवसमा १० हजार भन्दा बढी सुरक्षाकर्मीहरु शहरभर खटाइएको छ ।

आइतबार मध्यरातदेखि नै ठूला सवारी साधनलाई राजधानी प्रवेश गर्न रोक लगाइएको छ । सिमानाको निगरानी र गुप्तचर संकलनका लागि जवान तैनाथ गरिएको छ ।

रुसको एक पेट्रोल पम्पमा विष्फोट, १२ जनाको मृत्यु, ६० भन्दा बढी घाइते
रुसको एक पेट्रोल पम्पमा विस्फोट हुँदा कम्तिमा १२ जनाको मृत्यु भएको छ । घटनामा ६० भन्दा बढी घाइते भएका छन् ।

रुसी अधिकारीहरूका अनुसार गएराति दक्षिणी क्षेत्र दागेस्तानमा रहेको पेट्रोल पम्पमा भएको विस्फोटमा ज्यान गुमाउनेमा केही बालबालिका समेत रहेका छन् ।

ज्यान गुमाउनेको सङ्ख्या २५ जनाभन्दा धेरै हुन सक्ने अनुमान गरिएको छ । तर आधिकारिक पुष्टि हुन नसकेको बीबीसीले जनाएको छ । आगोमा जलेर गम्भीर घाइते भएकाहरूलाई उपचारका लागि राजधानी मस्को लगिएको छ ।

विस्फोटबाट पेट्रोल पम्प ध्वस्त भएको छ भने विष्फोटको कारण खुलाइएको छैन । विष्फोट भएको क्षेत्र राजधानी मस्कोबाट १६ सय किलोमिटर टाढा पर्दछ । विस्फोट लगत्तै भएको आगलागीबाट सयौँ सवारी साधन पनि नष्ट भएका छन् ।

दागेस्तानका गभर्नर सर्गेइ मेलिकोभले घटनाको अनुसन्धान भइरहेको भन्दै सर्वसाधारणलाई धैर्य रहन अपील गरेका छन् ।

इथियोपियामा सुरक्षा बल र मिलिसियाबिच भिडन्त, २६ जनाको मृत्यु

इथियोपियामा सुरक्षा बल र मिलिशिया समूहबीच भिडन्त भइरहेको छ । इथियोपियाको मानवअधिकार आयोगले दुई समूहबीच जारी झडपलाई लिएर गम्भीर चिन्ता व्यक्त गरेको छ ।

भिडन्तका क्रममा इथियोपियाको फिनोट सेलममा विस्फोट समेत भएको छ । विस्फोटमा कम्तिमा २६ जनाको मृत्यु भएको छ ।

विदेशी सञ्चारमाध्यमका अनुसार फिनोट सलेम जनरल अस्पतालका सीईओ मनय टेनावले उक्त क्षेत्रमा विस्फोट भएको बताए । विस्फोटमा परी अहिलेसम्म २६ जनाको मृत्यु भइसकेको छ । ५० जना घाइते भएका छन् । घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।

गत अगस्ट ३ मा पनि अम्हारा सरकारी सेना र फानो नामक स्थानीय मिलिसियाबीच लडार्इँ भएको थियो । दुई समूहबीच केही समयदेखि तनाव जारी छ । इथियोपियाली सरकारले अम्हारामा छ महिनाको आपतकाल घोषणा गरिएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ७ : ५९ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः