मुगुमकार्मारोङमा यार्सा संकलनका लागि आजदेखि वन प्रवेश खुला « Khabarhub

मुगुमकार्मारोङमा यार्सा संकलनका लागि आजदेखि वन प्रवेश खुला


५ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

मुगु– मुगु जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुमकार्मारोङ गाउँपालिकाका विभिन्न वन क्षेत्रमा पाइने बहुमुल्य जडीबुटी यार्सागुम्बा संकलनका लागि शुक्रबारदेखि वन प्रवेश खुला गरिएको छ । 

यार्सागुम्बा संकलनका लागि जिल्लावासी र बाहिरी जिल्लाबाट आउने सर्वसाधारणलाई वन प्रवेश खुलाइएको हो । वन क्षेत्रमा प्रवेशका लागि गाउँपालिकाले कर उठाउने र कर बुझाएका संकलनकर्ताले मात्र वन प्रवेश अनुमति पाउने प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र रावलले बताए । 

यार्सागुम्बा संकलनका लागि पाटन क्षेत्रमा प्रवेश गर्न आउनेमध्ये जिल्लाभित्रका संकलनलाई प्रतिव्यक्ति दुई हजार र बाहिरी जिल्लाका प्रतिव्यक्ति दुई हजार पाँच सयका दरले कर गाउँपालिकाले तोकेको छ । 

गाउँपालिका–१ र २ मा पर्ने वन तथा पाटन क्षेत्र रिमाड, ठूलो कुइकी, सानो कुइकी, च्यार्खुलेख, छापाखोला र टाँकेमा बढी यार्सागुम्बा पाइन्छ । यार्सागुम्बा सङ्कलनका लागि जिल्लाभरिका बासिन्दाका साथै छिमेकी जिल्ला जुम्ला, कालीकोट, बाजुरा, हुम्लाबाट पनि सयौँ मानिस आउने गरेका छन् । 

विगत दुई वर्षयता कोरानाले गर्दा कर्णालीवासीलगायत मुगालीको बर्सेनि खर्चको स्रोतका रूपमा रहेको यार्सागुम्बा संकलन तथा बिक्री बन्द भएकाले स्थानीयवासीले आर्थिक समस्या झेल्दै आएका थिए । चीनसँग जोडिएको नाक्चेलाग्ना नाका नेपाल सरकारले पूर्णरुपमा खोल्न प्रयास नगर्दा संकलक तथा व्यापारीले समयमै यार्साको उचित मूल्य पाउन सकिरहेका छैनन् । एक महिनासम्म यार्सा संकलन गरे पनि संकलक तथा व्यापारीले साउन महिनाको अन्तिम सातादेखि  चीनबाट ह्याजिमारमा लाग्ने हाटबजार नखोल्दासम्म पर्खनुपर्ने बाध्यता छ । 

उच्च हिमाली क्षेत्रमा अक्सिजनको कमी, छिनछिनमा परिरहने हिउँ र चिसोका कारण बर्सेनि पाटन क्षेत्रमा दर्जन बढीको मृत्यु हुने भएकाले यो वर्षदेखि गाँउपालिकाले कर तिरेर वनक्षेत्रमा प्रवेश गर्ने संकलक दुर्घटनामा परे उपचार र मुत्यु भए परिवारलाई राहत पुगोस् भनेर यार्सा बीमा गरिदिएको छ भने पाटन क्षेत्रमा कुनै दुर्घटना भए समय मै उद्धार, आपराधिक समूहलाई नियन्त्रण गर्न विगत वर्षभन्दा बढी सुरक्षाकर्मी खटाइएको छ । 

यो याममा मुगुका गाउँगाउँबाट तन्नेरी उमेरदेखि ६० वर्षसम्मका सबै यार्सागुम्बा टिप्न पाटन क्षेत्रतिर जाँदा गाउँघरमा बालबालिका र ज्येष्ठ नागरिक मात्र देखिने गर्दछन् । पाटनमा पाइने यार्सागुम्बा तीन गुणस्तरका हुने भएकाले तिनलाई छुट्याउन एक, दुई र तीन नम्बरका भन्ने गरिन्छ ।

 यो वर्ष पाटनमा एक नम्बरका लागि रू सात सय, दुई नम्बरका लागि चार सय र तीन नम्बरका लागि दुई सय मूल्य तोकिएको स्थानीय यार्सा व्यापारी र्छोतेन लामाले बताए । उनले भने, ‘यो मूल्य पाटनमा यार्सा संकलकबाट खरिद गर्दा पर्ने मूल्य हो, यहाँबाट व्यापारीले काठमाडौँ, पोखरा, नेपालगञ्ज र दोस्रो देशतिर पुर्‍याउँदा कति मूल्यमा बिक्री गर्छन् त्यो आफूहरूलाई थाहा हुँदैन ।’

पाटनमा यार्सा संकलन गर्न पुगेका संकलकले संकलन अवधि भित्र यार्सा संकलनबाट न्यूनतम रु एक लाखदेखि पाँच लाखसम्म कमाउने गरेका छन् । 

प्रकाशित मिति : ५ जेठ २०८०, शुक्रबार  ४ : ०९ बजे

इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार सुरुवात

काठमाडौँ– इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा साविक विजेता आर्सनलले सानदार

राष्ट्रपति पौडेलबाट बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा