नीति तथा कार्यक्रम : दुई वर्षभित्र सबै पालिकामा राष्ट्रिय सडक पुर्‍याउने « Khabarhub

नीति तथा कार्यक्रम : दुई वर्षभित्र सबै पालिकामा राष्ट्रिय सडक पुर्‍याउने


५ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वाधार निर्माणका क्षेत्रमा केही महत्वाकांक्षी लक्ष्यसहित सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

सरकारको वार्षिक नीति तथा कार्यक्रममा विकास निर्माणका काम रातमा हुनेगरी दुई सिफ्टमा गरिने उल्लेख छ । “पूर्वाधार निर्माणमा दुई सिफ्टमा काम हुने व्यवस्था मिलाइनेछ । आगामी वर्ष हुम्ला जिल्ला सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालमा जोडिनेछ । महाकाली, कर्णाली लगायतका करिडोरको निर्माणलाई प्राथमिकतामा राखिनेछ”, नीति तथा कार्यक्रममा भनिएको छ, “निर्माणाधीन काठमाडौँ–तराई मधेस द्रूतमार्ग सडक आयोजनाको निर्माण कार्य विसं २०८३ भित्र सम्पन्न गरिनेछ ।”

राष्ट्रिय राजमार्ग छेउमा सार्वजनिक शौचालय र विश्रामस्थल निर्माण गर्ने विषय पनि सरकारको प्राथमिकतामा परेको छ । “शहरी तथा राजमार्ग वरिपरि यात्री, पर्यटक, सेवाग्राहीको अत्याधिक चाप हुने सार्वजनिक स्थानमा निजी तथा सामुदायिक साझेदारीमा कम्तीमा एक हजार सुविधासम्पन्न सार्वजनिक शौचालय र विश्रामस्थल निर्माण गरिनेछ । राजमार्गहरूमा सार्वजनिक–निजी साझेदारीमा स्मार्ट रोडसाइड स्टेशन निर्माण गर्न सुरु गरिनेछ”, नीति तथा कार्यक्रममा भनिएको छ ।

राष्ट्रिय पूर्वाधार गुरुयोजना तयार गरी पूर्वाधार क्षेत्रमा लगानी प्रोत्साहित गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । त्यसका लागि सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐनमा संशोधन गर्ने सरकारको योजना छ । “सडक यातायात, रेल, जलमार्ग र हवाई क्षेत्रलाई समेट्ने गरी एकीकृत राष्ट्रिय यातायात गुरुयोजना तयार गरिनेछ । सार्वजनिक यातायात व्यवस्थापनमा सङ्घ र प्रदेशको भूमिका स्पष्ट हुनेगरी राष्ट्रिय यातायात नीति तथा सङ्घीय यातायात विधेयक तर्जुमा गरिनेछ ।”, नीति तथा कार्यक्रममा उल्लेख छ ।

आगामी तीन वर्षभित्र सबै स्थानीय तहको केन्द्रलाई सम्बन्धित प्रदेशको केन्द्र वा नजिकको राष्ट्रिय राजमार्गसँग पक्की सडकले जोडिसक्ने सरकारको योजना छ । त्यस्तै, आगामी तीन वर्षभित्र बढीमा एक घण्टा हिँडाइको दूरीमा एक झोलुङ्गे पुल निर्माण गर्ने सरकारको लक्ष्य छ । राष्ट्रिय राजमार्गमा पर्ने ठूला नदीहरूमा आवश्यकतानुसार सिग्नेचर ब्रिज निर्माण गरिनेछ ।

आगामी आवको नीति तथा कार्यक्रमअनुसार रेल यातायातसँग सम्बन्धित बोर्ड, कम्पनीलगायतका सबै संरचनालाई एकीकृत गरिनेछ । प्रदेश तथा स्थानीय तहसँगको सहकार्यमा मुख्य शहरहरूमा मेट्रो रेल, मोनोरेल तथा ट्राम निर्माण र सञ्चालनका लागि अध्ययन गरिनेछ ।

त्यसैगरी, कोशी, गण्डकी, कर्णाली, भेरी लगायतका मुख्य नदीमा जलमार्गको विकासका निम्ति आवश्यक योजना तयार पारिने जनाइएको छ । मध्यपहाडी लोकमार्ग आसपासका दशवटा नयाँ शहरलाई पहिचानयुक्त शहरको रूपमा विकास गरिने वार्षिक नीति तथा कार्यक्रममा उल्लेख छ ।

काठमाडौँ उपत्यका लगायतका नदी किनारामा रहेका वास्तविक विपन्न र भूमिहीनलाई उपयुक्त स्थानमा स्थानान्तरण गरी नदी किनाराका अतिक्रमित भूमि खाली गराइने र कर्णाली प्रदेशको भेरी गङ्गा उपत्यकाको नमूना आधुनिक शहरको गुरुयोजना तयार गरी निर्माण कार्य अगाडि बढाइने नीति तथा कार्यक्रममा जनाइएको छ ।

निजी सवारी साधनका रुपमा दर्ता भएर सार्वजनिक यातायात सेवा प्रदान गर्दै आएका राइडर सेवा प्रदायकलाई नियमन गर्नका लागि आवश्यक कानूनी व्यवस्था गरिने पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रकाशित मिति : ५ जेठ २०८०, शुक्रबार  ८ : ३० बजे

गोकर्णेश्वरमा पितृभक्तको घुइँचो

काठमाडौं– काठमाडौँ उपत्यकाको प्रर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर वरपर

जलविद्युत् आयोजनाले बढायो वनको राजस्व

म्याग्दी– जलविद्युत् तथा प्रसारण लाइन आयोजनाले सरकारी वन क्षेत्र प्रयोग

पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’

भोजपुर– पशुपालनमार्फत किसानलाई आत्मनिर्भरसँगै आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको पौवादुङमा

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव

भक्तपुर–  ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा

काठमाडौं- पछिल्लो समय सूचना प्रविधि (आईटी) का परियोजनामा वैदेशिक लगानीकर्ताको