बूढीगण्डकी आयोजना अघि बढाउन द्विविधा छैन : प्रधानमन्त्री  | Khabarhub Khabarhub

बूढीगण्डकी आयोजना अघि बढाउन द्विविधा छैन : प्रधानमन्त्री 


३ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

गोरखा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लामो समयसम्म अघि बढ्न नसकेको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढ्नेमा अब कुनै द्विविधा बाँकी नरहेको बताएका छन् । उनले उक्त आयोजनालाई प्राथमिकताका साथ अघि बढाइने बताए ।

राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनाको ‘फिल्ड अफिस’ को उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले यसको निर्माण कार्यलाई उच्च प्राथमिकता दिन सम्बद्ध सबैलाई निर्देशनसमेत दिए । प्रधानमन्त्री दाहालले आज गोरखाको सिउरेनीटारमा उक्त आयोजनाको फिल्ड अफिस उद्घाटन गरेका हुन् । 

‘बूढीगण्डकी जलविद्युत् आयोजना अगाडि बढ्छ, हरहालतमा अगाडि बढाइन्छ । यस आयोजनाका निम्ति कम्पनी खडा गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भई काम अगाडि बढाउने तयारी भइरहेको छ । जग्गा अधिग्रहणको मूल हिस्सा सम्पन्न भएको छ’, प्रधानमन्त्री दाहालले भने, ‘सरकारको नीति तथा कार्यक्रममा पनि यसलाई उच्च प्राथमिकतामा राखिएको छ ।’

आयोजना निर्माणका लागि सबै अध्ययन प्रतिवेदनहरू तयार गर्ने कार्य सम्पन्न भइसकेका छन् । बूढीगण्डकी परियोजना निर्माणका लागि चाहिने लगानी व्यवस्थापनका लागि सरकारले आवश्यक गृहकार्य गरी तयारी गरिरहेको प्रधानमन्त्री दाहालले बताए । 

‘यो आयोजना ‘रेडी टू गो’ आयोजना हो । आयोजनालाई जतिसक्दो छिटो अगाडि बढाउन हामीले तयारी गरिरहेका छौँ । अब कुनै पनि तर्क वा बहानामा काम ढिलाइ गर्न हामीलाई छुट छैन’, उनले भने, ‘आयोजना निर्माणको काम अगाडि बढाउन ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडलगायत आयोजनासँग सम्वद्ध सबैलाई यसै कार्यक्रममार्फत् निर्देशितसमेत गर्दछु ।’

मुलुकमा ऊर्जा क्षेत्रको विकासका लागि यस आयोजना कोशेढुङ्गा सावित हुने प्रधानमन्त्री दाहालको भनाइ छ । एक हजार दुई सय मेगावाट उत्पादन क्षमता रहेको उक्त जलविद्युत् आयोजना गोरखा र धादिङ जिल्लाको मात्र नभएर सिङ्गो देशको विकास र समृद्धिमा गुणात्मक योगदान गर्ने राष्ट्रिय गौरवको बहुआयामिक आयोजना रहेको उनले उल्लेख गरे।

‘हालसम्म नेपालभित्र निर्माण भएका आयोजनामध्ये यो सबैभन्दा धेरै क्षमताको विद्युत् उत्पादन गर्ने आयोजना हो । जलविद्युत्का साथै पर्यटनको विकास, माछापालन, तल्लो तटीय क्षेत्रको समग्र विकासका दृष्टिले समेत यो आयोजना महत्वपूर्ण छ’, उनले भने ।

यस आयोजनाले हिउँदमा हुने विद्युत् संकटबाट देशलाई मुक्त गर्ने, उर्जा तथा पर्यटन विकासलाई सुदृढ गर्ने, रोजगारी सिर्जना गर्ने, वस्तु तथा सेवा क्षेत्र उत्पादनमा वृद्धि गरी देशको आर्थिक गतिविधि बढाउने, माछापालन लगायतका बहुआयमिक व्यवसाय जोडेर राष्ट्रिय आय वृद्धि गर्ने तथा देशको मध्यभागको आयोजना भएकाले राष्ट्रिय प्रसारण लाइनका लागि कम लगानी लाग्ने लगायतका सम्भावना बोकेको प्रधानमन्त्री दाहालको भनाइ छ ।

बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि सरकारले बूढीगण्डकी जलविद्युत् कम्पनी स्थापना गरिसकेको छ । काठमाडौँस्थित कम्पनीको प्रधान कार्यालय गत असार ३१ गते ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरेका थिए । 

सरकारले विसं २०७९ असारमा आयोजना निर्माणका लागि कम्पनी स्थापना गर्ने निर्णय गरेको थियो । नेपालको ऊर्जा सुरक्षाका लागि महत्वपूर्ण मानिएको उक्त आयोजना निर्माणका लागि सरकारले रू ६० अर्ब अधिकृत पुँजी रहने गरी कम्पनी स्थापना गरेको थियो ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ३ : ५९ बजे

आज नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

काठमाडौं – बडादशैं एवं नवरात्रको तेस्रो दिन आज दशैं घर

घेराबन्दीमा रहे पनि आफ्नो कर्तव्य भुलेको छैन : रवि लामिछाने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले घेराबन्दीमा

कोशी प्रदेशले आउँदो माघमा लगानी सम्मेलन गर्ने

विराटनगर । कोशी प्रदेश सरकारले आगामी माघ ११, १२ र

पहिरो गएपछि मेची राजमार्ग अवरुद्ध, यातायात ठप्प

इलाम – मेची राजमार्गको इलाम नगरपालिका–९ स्थित माईखोला छेउमा पहिरो

दाउन्नेमा सडक भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी – पश्चिम नवलपरासीको दाउन्नेमा आज साँझ सडक भासिएपछि पूर्व–पश्चिम