लक्ष्यभन्दा बढी राजस्व संकलनको अभियानमा भरतपुर महानगर | Khabarhub Khabarhub

लक्ष्यभन्दा बढी राजस्व संकलनको अभियानमा भरतपुर महानगर


२ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर महानगरपालिकाले राजस्व संकलनलाई आक्रामक रुपमा अघि बढाएको छ । महानगर क्षेत्रभित्रका राजस्वको दायरामा नआएकालाई समेत दायरामा ल्याउने गरी अभियान अघि बढाइएको हो ।

चालु आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजस्व संकलन उद्देश्यसहित अभियान सुरु गरिएको हो । महानगरपालिकाका राजस्व महाशाखाका प्रमुख जगन्नाथ अर्यालका अनुसार गत भदौ २५ गते सूचना जारी गरी १५ दिनभित्र सबैलाई करको दायरामा आउन सार्वजनिक अपिल गरिएको छ । साथै राजस्वको दायरा आउनेलाई स्टिकर प्रदान गरिनेछ । 

महानगरपालिकाले विभिन्न पाँच शीर्षकमा फरक–फरक स्टिकर तयार गरेको छ । व्यवसाय कर, घरबहाल कर, सम्पत्ति कर, मनोरञ्जन कर र सेवा शुल्क दस्तुर गरी पाँचवटा रङ्गका स्टिकर टाँसिने उनले बताए। उनले भने, ‘करदाताले जुन कर तिर्नुहुन्छ, उहाँहरुको फार्ममा सोही स्टिकर टाँस्ने छौँ ।’ त्यसपछि टोल-टोलसम्म पुगेर अनुगमन गरिनेछ । अहिले नै वडा र टोल विकास समितिहरूलाई पत्राचार गरी करको दायरामा आउन सबैलाई आह्वान गर्न लगाइएको छ ।

महानगरपालिकाले कर संकलनका लागि टास्कफोर्समेत बनाउँदै छ । यसले कर संकलनका लागि सहयोग गर्नेछ । सोही समितिमार्फत अनुगमन समेत गरिने छ ।
महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले पहिलो चरणमा व्यापक प्रचारप्रसार गरेर व्यवसाय दर्ता गर्न आग्रह गरिने बताए। उनले भने, ‘महानगर क्षेत्रभित्र दर्ता नगरी व्यवसाय गर्न सम्भव छैन’, उनले थपे, ‘कर तिरौँ र विकास गरौँ भन्ने अभियानका साथ हामी अघि बढेका छौँ ।’

महानगरमा उठ्नुपर्ने करको २० प्रतिशत मात्रै उठेको भन्दै उनले चालु आवमा लक्ष्यभन्दा बढी कर उठाइने बताए । चालु आवमा महानगरले रु एक अर्ब ७५ करोड राजस्व उठाउने लक्ष्य लिएको छ । उनले चालु आवमा रु दुई अर्बभन्दा बढी राजस्व उठाउने योजना बनाइएको बताए । 

गत आवमा रु एक अर्ब २५ करोड हाराहारी मात्रै राजस्व संकलन भएको थियो । अधिकारीले भने, ‘करै नतिरी व्यवसाय गर्छु भन्नु भएन, अटेर गरेर दर्ता नगरेका व्यवसाय बन्द हुनेछन् ।’

अहिलेको अवस्था राम्रो नभएकाले करको दर नबढाइने भन्दै उनले दायरा बढाएर कर संकलन गर्न लागिएको बताए। महानगरले नेपाल टेलिकम, खानेपानी संस्थान, विद्युत् प्राधिकरणलगायतका कार्यालयसँग समन्वय गरेर कर संकलन अभियानलाई अघि बढाएको छ । महानगरमा कर नतिरेसम्म अन्य सुविधाबाट समेत वञ्चित हुने गरी योजना अघि सारिएको हो ।

चालु आवमा हालसम्म रु १२ करोड कर संकलन भएको छ । महानगरपालिकाले आइतबार दैनिक एक सय जनालाई मोबाइलमा म्यासेज पनि पठाउन पनि सुरु गरेको छ । यससँगै सिनेमा हल, सञ्चार माध्यमहरु, माइकिङलगायतका माध्यमबाट प्रचारप्रसार भइरहेको छ । 

महानगर प्रमुख रेनु दाहालले चालु आवमा राजस्व संकलनलाई अभियानकै रुपमा अघि बढाइएको जानकारी दिइन्। विगतका वर्षमा लक्ष्यअनुसार राजस्व संकलन नभएको भन्दै उनले चालु आवमा लक्ष्यभन्दा बढी राजस्व उठाउने बताइन् ।  महानगरभित्रका सबै टोल सुधार संस्थालाई यस अभियानमा सहभागी गराइएको उनको भनाइ छ ।

महानगरमा संकलित करको दुई प्रतिशत सम्बन्धित टोल विकास संस्थालाई दिने गरी नीतिगत निर्णय भइसकेको छ । महानगरभित्र सात सय ४४ वटा टोल विकास संस्था छन् । महानगरले आन्तरिक स्रोतलाई बलियो बनाउन कर संकलनलाई अभियानका रुपमा अघि बढाएको उनले बताइन् । 

विगतका वर्षहरूमा घरबहाल कर आन्तरिक राजस्व कार्यालयमा बुझाउँदै आएकामा गत वर्षबाट यो कर स्थानीय तहमा जम्मा गर्ने व्यवस्था गरिएको छ । वडा कार्यालयमार्फत टोलटोलमा प्रचार अभियान अघि बढाइएकाले सबै करको दायरामा आउनेमा आफू विश्वस्त रहेको उनले बताइन् । उनले विज्ञहरूको सहभागितामा करसम्बन्धी छलफल सञ्चालन गर्न लागिएको बताइन्।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलबार  १ : ३० बजे

नुवाकोटकोटको माझिटारमा शीतभण्डार निर्माण

त्रिशूली– जिल्लाको विदुर नगरपालिका–५ माझिटारमा छ हजार मेट्रिकटन क्षमताको शीतभण्डार

आजको कार्टुन : बाघलाई अनुहार देखाउने ऐना चाहियो

खबरहबका लागि दीपक गौतमले बनाएको कार्टुन यहाँ प्रस्तुत गरेका छौँ

वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरूमा पठाइदिन्छु

धमाधम हटाइँदै जुद्ध शालिक क्षेत्रबाट बिजुलीका पोल (तस्बिरहरू)

काठमाडौं- जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको फुटपाथ विस्तार अभियान अझै जारी छ

कर्जा प्रवाह नबढेपछि फेरि घट्यो वाणिज्य बैंकको ब्याजदर

काठमाडौं – आर्थिक शिथिलताका कारण कर्जा प्रवाह नबढ्दा नेपालका वाणिज्य