रातोमाटो र कमेरोले घर सिँगार्ने चलन हराउँदै  « Khabarhub

रातोमाटो र कमेरोले घर सिँगार्ने चलन हराउँदै 


२ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

बागलुङ– एक दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा जब दसैँ सुरु हुन्थ्यो, तब घर रङ्गाउने चटारो हुन्थ्यो । बारीमा रहेको रातोमाटो र सेतो कमेरो निकाल्न स्थानीयलाई भ्याइनभ्याइ हुन्थ्यो । तर अहिले त्यो चलन हराउँदै गएको छ ।

रातोमाटो र सेतो कमेरोले पोतिने घर आयातित रङले सजिसजाउ हुन थालेका छन् । उतिबेला माटो र कमेरो निकाल्ने ठाउँ झाडीले ढाकिएका छन् । 

गाउँमा खर र ढुङ्गेघर विस्थापित हुँदै गएपछि स्थानीयले रातोमाटो र सेतो कमेरोले घर पोत्न छोडिसके । आधुनिकताले परम्परागत घर विस्थापित हुँदै गएपछि माटो कमेरोले घर पोतिन छोडेका हुन् । घर पोत्न थालेपछि गाउँमा दसैँको रौनक नै बेग्लै हुन्थ्याे । तर अहिले त्यो रौनक निकै कम भएको पाइन्छ ।

पहिलेको तुलनामा अहिले दसैँको रौनक पनि हराउँदै गएको छ । रातोमाटो र कमेरो गाउँ पहिचानसँग जोडिएको छ । गाउँमा ढुङ्गा, माटो, काठ र घरले बनेका घर विस्तारै हराउँदै छन् । अचेल माटो, काठ र ढुङ्गाको सट्टा फलामका रड, जस्तापाता र सिमेन्ट प्रयोग हुने गर्छन् । यसले ग्रामीण क्षेत्रको मौलिकता हराउँदै गएको छ ।

एक दशक अघिसम्म बागलुङका कमै मात्र गाउँ मोटरबाटोले जोडिएका थिए । अहिले सडक नपुगेको गाउँ छैन । गाउँमा सडक पुगेपछि स्थानीयले कङ्क्रिटका आधुनिक घर बनाउन थालेका छन् । इनामेल, चुनालगायतले घरमा रङ प्रयोग गर्ने गरेको पाइन्छ ।

हरेक दिन गाउँमा मौलिक घर विस्थापित हुन थालेपछि बूढापाका चिन्तित बनेका छन् । जिल्लाका पालिकाले पनि धमाधम मौलिकता बोकेका खरको घर विस्थापित गरिरहेका छन् । 

बजारकै जस्ता घर गाउँमा बनेपछि पहिचान गुम्ने जोखिम बढेको छ । स्थानीयले गाउँकै स्रोत साधन प्रयोग गरेर मौलिकतालाई जोगाउनु पर्ने गलकोट नगरपालिका–९ का ७३ वर्षीय जितबहादुर खत्रीले बताए । 

देखासिकी र प्रविधिको विकासले परम्परा जोगाउन नसकिने अवस्था आएको भन्दै सरोकारवाला निकायले यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ । 

पहिले–पहिले गाउँका घर बलियो बनाउनका लागि हरेक दिन गाईको गोबर र रातोमाटोले लिप्ने गरे पनि अहिले त्यो चलन हराएको उनको भनाइ छ ।

‘आजभोलिको दसैँ पहिलेको जस्तो रमाइलो नै हुँदैन, हाम्रो पालामा नवदुर्गा सुरु भएपछि गाउँमा निकै चहलपहल हुन्थ्यो, रातोमाटो र कमेरोले घर लिप्ने गरिन्थ्यो, घरलाई झकिझकाउ बनाउन, टाढाटाढा पुगेर रातोमाटो, कमेरो ल्याइन्थ्यो, बर्खाले बिगारेको बाटाघाटा झारा गरेर मर्मत गर्ने गरिन्थ्यो, तर अहिले त्यो चलन पूरै हरायो’, खत्रीले भने, ‘आजकाल त बजारबाट रङ किनेर ल्याएर घरमा लगाउने गर्छन्, अहिलेको रङभन्दा उतिबेलाको माटो र गोबरले लिप्दा घर बलियो हुन्थ्यो, मान्छेले आफ्नो परम्परा बिर्सिए, अरुको संस्कार सिके ।’

बागलुङको निसीखोला गाउँपालिकाकी तिलकुमारी सुनार रातोमाटो र कमेरो बिक्री हुन छोडेको बताउँछिन् । वर्षौँदेखि माटो र कमेरो बेचेर जीविकोपार्जन गरेको उल्लेख गर्दै उनले गाउँगाउँमा पक्की घर बन्न थालेपछि माटो बिक्री गर्न मुस्किल भएको बताइन् । 

पहिले दसैँको १५ दिन अगाडिदेखि आफूलाई स्थानीयको घरघरमा माटो र कमेरो पुर्‍याउन भ्याइनभ्याइ हुने गरेको स्मरण गर्दै अहिले एक डोको माटो बेच्न पनि गाह्रो पर्ने उनको भनाइ छ । उनले माटो बेचेर मासिक १० हजार कमाएको सुनाउने सुनारले अहिले अर्मपर्म गरेर दैनिकी चलाउनुपरेको बताइन् ।

स्थानीय मीनकुमारी पौडेलले पहिले दसैँ तिहारको बेला धेरै महिला माटो बिक्री गर्न घरघरमा पुग्ने गरेको सुनाउँदै अहिले कोही पनि नहिँड्ने बताइन् । 

दसैँका बेला रातोमाटो र कमेरोले घर लिपपोत गरेपछि मात्रै जमरा राख्ने चलन रहेकामा सो हराउँदै गएको उनले बताइन् । घरको झ्याल ढोकामा काफलको बोक्रा पकाएर लगाउने गरेको स्मरण गर्दै अहिले इनामेलले रङ्ग्याउने गरेको उनको भनाइ छ ।

नयाँ पुस्ताले सबै सजिलो र राम्रो खोज्न थाल्दा पुराना परम्परा हराउँदै गएको पौडेलको भनाइ छ । पहिले विद्यालयका भवन पनि माटो र काठले बनेको हुँदा दसैँका बेला माटो र कमेरोको माग निकै हुने गरेकोमा अहिले सबै भवनहरू पक्की बनेकाले त्यसको आवश्यक नपर्ने पौडेलले बताइन् । 

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार  ९ : २३ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर