प्रहरी र प्रशासनकै सेटिङमा सीमा नाकाबाट खुलेआम तस्करी   | Khabarhub Khabarhub

प्रहरी र प्रशासनकै सेटिङमा सीमा नाकाबाट खुलेआम तस्करी  


७ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सिराहा– भारतीय बजारसँगै जोडिएको हुनाले सिराहाका सीमानाकाहरूबाट पछिल्लो समय तस्करी निकै मौलाउँदै गएको छ । जिल्लास्थितका सीमानाकामा तैनाथ गरिएका सशस्त्र प्रहरी बल, सीमा सुरक्षामा खटाइएको प्रहरी र प्रशासनहरूकै सेटिङमा तस्करी बढिरहेको छ ।

पूर्वीनाकाहरू ठाडी, झाझपट्टी, बरहरी, वरियारपटी, औरही र खैरटोका (माडर)मा गरि सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र भन्सारका कर्मचारीहरूकै आर्थिक सेटिङमा तस्करहरूले चौबिसैघण्टा खुलेआम रूपमा तस्करी गरिरहेको स्थानीहरू आरोप लगाउँछन् ।

सशस्त्र प्रहरीवलको ७ वटा बिओपी र नेपाल प्रहरीको सोही सीमानाका क्षेत्रमा ७ वटा इलाका प्रहरी कार्यालय रहे पनि तस्करहरूले लाइन क्लियर गर्न इलाका प्रमुखदेखि जिल्ला प्रमुख समेतलाई मोटो रकम तिरेर तस्करको राज चलेको आरोप छ ।

बुधबार मात्र माडरकोबीच बाटोबाटै सशस्त्र प्रहरी बलले यात्रुवाहक सवारीसाधन विङ्गरमा चोहर्वा तर्फ ल्याइरहेको अवस्थामा २० बोरा चिनी नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल न:७ गण हेक्का सिराहाका प्रमुख प्रमोद भारतीले जानकारी दिए ।

माडरबाट चोहर्वातर्फ आइरहेको विङ्गरमा ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरीले ५० केजी दरको २० वटा बोरा बरामद गरेको हो । यात्रुवाहक गाडीमा लोड गरी ल्याएको चिनीको जिम्मा कसैले नलिएको भन्दै सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा बरामद गरेको जनाएको छ । नियन्त्रणमा लिएको चिनी र आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय माडरमा बुझाएको सशस्त्र प्रहरी बल प्रमुख भारतीले जानकारी दिए ।

तस्करीमा प्रयोग भएको सवारीसाधन नियन्त्रणमा नलिनुको कारणबारे जिज्ञासा राख्दा उनले यो आन्तरिक मामिला भएकोले तत्काल बताउन नसकिने बताए । उनले ‘अहिले तत्कालै सबै कुरा बताउन सकिन्नँ थप सूचना चाहिए हेडक्वाटरमा सम्पर्क गर्नुस्’ भन्दै गैर जिम्मेवार जवाफ दिएर फोन काटे । प्रहरीले बेवारिसे भनेको चिनी र चिनी बोकेको सवारीसाधन गोलजार नगरपालिका ८ चोहर्वाका लाल नाम गरेको व्यवसायीको रहेको स्रोतको दाबी छ ।

मंगलबार तस्करी भइरहेको गुनासोपछि सिराहा नगरपालिका ९ गुलरियाबाट  भन्सार छली ल्याएका १५ बोरा मैदा प्रहरीले नियन्त्रणमा लियो । मडरबाट चोहर्वातर्फ ज १ ज ३१५ नम्बरको म्याजिकमा ल्याइरहेको सूचनाको आधारमा प्रहरीले मैदा नियन्त्रणमा लिएको हो ।

सिराहा प्रहरीले मैदासहितको सवारीसाधन नियन्त्रणमा लिए पनि केही बेरमै तस्करी गरी लाइएका सवारीसाधन भाडाको रहेको भन्दै छोडेको थियो । सीमावर्ती क्षेत्र माडरबाट नगर प्रहरी, जिल्ला प्रहरी कार्यालय अगाडिबाटै ज १ ज ३१५ नम्बरको म्याजिकमा चालकसहित दुई जना सवारलाई नियन्त्रणमा लिए पनि प्रहरीले मोटो रकमको चलखेलगरी पक्राउ गरिएको केही बेरमै सवार व्यक्ति र म्याजिकलाई छोडिएको स्रोतको दाबी छ । स्थानीयको गुनासोपछि म्याजिकसहित नियन्त्रणमा लिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

तर, जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता रवीन्द्रराज पाण्डेका अनुसार ३० हजार मूल्य बरावरको १५ बोरा मैदा बेवारिसे रहेको अवस्थामा प्रहरीले बरामद गरेको उनले बताए । बरामद गरेको मैदा भन्सार कार्यालय बुझाएको प्रहरीले जनाएको छ । प्रहरी प्रशासनकै निरीहताका कारण जिल्लाको माडर, औरही, बरियारपट्टी नरगी, कुसन्डी, झाझपट्टी, चतरी, कल्याणपुर, पटेर्वा लगायतका नाका तथा चोरबाटो प्रयोग गरी यस क्षेत्रमा व्यापक चोरी तस्करी बढेपछि भन्सार कार्यालय माडरको राजश्व असुली अवस्था निरन्तर खस्किँदै गइरहेको तथ्याङ्कले देखाउँछ ।

भन्सार कार्यालय माडर खैरटोकाले ९ महिनामा लिएको वार्षिक लक्ष्य जम्मा १९ करोड ९५ लाख ४६ हजारमा कुल रकमको ३१ प्रतिशत अर्थात् ६ करोड २४ लाख ३४ हजार रुपैयाँ राजस्व मात्र असुली भएको सिराहा भन्सार कार्यालय माडर खैरटोकाका सूचना अधिकारी नायब सुब्बा गोपाल महतोले जनाएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि चैत्र मसान्तसम्मको नौ महिनाको तथ्याङ्कले नै सिराहा जिल्लामा तस्करी भइरहेको पुष्टि गर्छ। तस्करहरूले सिमानाकामा बस्ने प्रहरी जवानदेखि सशस्त्र एसपी, नेपाल प्रहरीका एसपी, भन्सार प्रमुख लगायतका कर्मचारीहरूलाई एकमुष्ठ रूपमा मोटो रकम तिरेर नाकाहरूको वरिपरि राखिएको गोदाममा भण्डारण गर्ने र रात भरी निर्धक्क रूपमा प्रहरी प्रशासनकै आँखा अगाडिबाट तस्करी गर्ने गरेको स्थानीयहरू बताउँछन् ।

सीमानाका तस्करीको विशेष निगरानी गर्न खटाइएका सशस्त्र प्रहरी, नेपाल प्रहरीहरूले नै नजराना लिएर आफूहरूको संरक्षण गर्ने गरेका नाम उल्लेख नगर्ने सर्तमा एक जना तस्करले बताए । उनले भने, ‘प्रहरी प्रशासनलाई मासिक रूपमा आफूहरूले लाखौं रुपैयाँ बुझाएर मात्र माल समान ओसार पसार गर्ने गरेका छौँ ।’

भारतीय बजारबाट भन्सार छली गरी ल्याइएका सामान भण्डारण गरिने लहान, सिराहा, मिर्चैया र गोलबजारका गोदामबारे स्थानीयवासी जानकार रहे पनि  प्रहरी प्रशासन  बेखबर झैँ गुमनाम भएर बसेका छन् । राज्यले नै आर्थिक सङ्कट झेलिरहेको अवस्थामा राजश्व छली गरी भारतीय बजारसँगै जोडिएका सीमानाकामा विगत लामो समयदेखि तस्करी भइरहँदा र सुरक्षा निकायका प्रमुखदेखि भन्सार कर्मचारीले मोटो रकम असुली गरिरहँदा पनि सरोकारवाला निकाय मौन भएर बसेका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार  १ : ४५ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको