बिर्तामोड नगरपालिका : हटियामा बहुतले भवन बनाउन घरटहरा हटाइने « Khabarhub

बिर्तामोड नगरपालिका : हटियामा बहुतले भवन बनाउन घरटहरा हटाइने


७ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

झापा– बिर्तामोड नगरपालिकाले वडा नं ५ स्थित बुधबारे हटियामा बहुतले आधुनिक व्यापारिक भवन बनाउन त्यहाँ रहेका सबै घर टहरा हटाउने भएको छ ।

देवीहाटका नामले परिचित २१ कट्ठा क्षेत्रफलको सो स्थानमा विसं २०७२ यता निर्मित ७२ अस्थायी संरचनामा साना व्यवसाय सञ्चालन भइरहेको छ भने जग्गा अतिक्रमण गरेर थप एक सय टहरा बनेको पाइएको नगरपालिकाले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेका अनुसार नगरपालिकाले अस्थायी संरचना हटाएर सो स्थानमा आधुनिक बहुतले व्यापारिक भवन बनाउने महत्वाकाङ्क्षी विकास योजना अघि बढाएको छ । पूर्वी नेपालकै प्रमुख व्यापारिक केन्द्रका रुपमा उदीयमान बिर्तामोडको केन्द्रभागमा रहेको सो स्थानमा सुविधासम्पन्न व्यापारिक भवनको खाँचो रहेको उनले बताए ।

नगरपालिकाले यही वैशाख ४ गते तेस्रोपटक सार्वजनिक सूचना प्रकाशित गरेर १० दिनभित्र त्यहाँका सम्पूर्ण घरटहरा खाली गर्न सम्बन्धित व्यवसायीलाई अनुरोध गरेको छ । दिइएको म्यादभित्र नहटाइएमा नगरपालिका आफैँले बल प्रयोग गरेर कानुनबमोजिम बुधबारे हटिया खाली गराउने नगरपालिकाले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

‘घरटहरा हटाएर बुधबारे हटिया खाली गरिदिन पटकपटक सूचना जारी गरिसकेका छौँ’, प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले भने, ‘अन्यथा कानुनबमोजिम सम्पूर्ण घरटहरा हटाउनेछौँ र त्यसमा लागेको खर्चसमेत सम्बन्धित व्यक्तिबाटै असुल्नेछौँ’, उनले कानुनबमोजिम हटाउँदा सम्बन्धित व्यक्तिको कुनै धनमालमा क्षति हुन गएमा मालधनी आफैँ जवाफदेही हुनुपर्ने बताए ।

दानवीर देवीप्रसाद प्रसाइको नाममा रहेको सो जग्गा नगरपालिकालाई दानमा प्राप्त भएको अचल सम्पत्ति हो । हाल सो बजारलाई ‘देवीहाट’ भन्ने गरिन्छ । नगरपालिकाले बनाउन लागेको बहुतले व्यापारिक भवनको नाम पनि ‘देवी भवन’ नै राखिएको छ ।

नगरपालिकाले आगामी ५० वर्षसम्मको आवश्यकतालाई दृष्टिगत गरेर आधुनिक व्यापारिक भवन बनाउने योजना अघि सारेको हो । डिपिआरको प्रक्रियामा रहेको सो आधुनिक भवन चार तलाभन्दा अग्लो हुने र भूमिगत दुईतलालाई सुविधायुक्त गाडी पार्किङस्थल बनाइने भनिएको छ ।

नेपाल सरकारको नगर विकास कोषबाट रु एक अर्ब सहुलियत कर्जा तथा अनुदान लिएर बिर्तामोड नगरपालिकाले बहुतले व्यापारिक भवनको योजना अघि बढाएको हो । नगरको कार्यपालिकाबाट नयाँ भवन बनाउने र नगर विकास कोषबाट कर्जा लिनेसम्बन्धी निर्णय भइसकेको छ । तर अस्थायी घरटहरा बनाएर गुजारा चलाइरहेका स्थानीयवासीले भने नगरपालिकाले जबर्जस्ती हटाउन खोजेको भन्दै असहमति जनाएका छन् ।

उनीहरु बहुतले भवनमा ठूला व्यापारी आउने र आफूहरूले व्यवसायबाट हात धुनुपर्ने अवस्था आउने भन्दै नगरको योजनाप्रति असन्तुष्टि प्रकट गरिरहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी बिर्तामोड नगर समितिकी अध्यक्ष रञ्जु प्याकुरेलले हाल व्यवसाय गरिरहेकासँग सहमति नगरी सो स्थान खाली गराउने नहुने बताए । सर्वदलीय बैठकमार्फत नगरपालिका नेतृत्वलाई व्यवसायीलाई अन्यत्र उचित व्यवस्थापन नगरी नहटाउन र कर्जाको साटो अनुदानमा व्यापारिक भवन बनाउन सुझाव दिइएको राप्रपा नगर अध्यक्ष प्याकुरेलले जानकारी दिए ।

बिर्तामोड उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले डोजर लगाएर व्यवसायीलाई उठिबास नलगाउन आग्रह गरे ।  नगरपालिका अभिभावक संस्था भएकाले वर्षौंदेखि त्यस ठाउँमा राज्यलाई कर तिरेर जीविका चलाइरहेका साना व्यवसायीलाई हटाउनुभन्दा पहिले उनीहरुका लागि व्यवसाय गर्ने वैकल्पिक स्थान उपलब्ध गराइनुपर्ने उनको सुझाव छ ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार  ३ : ५२ बजे

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले

बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ

काठमाडौं – बिहे गरेर अमेरिका लैजाने लोभमा पर्नुभएको छ ?

विश्वकपले नै निर्धारण गर्नेछ रोनाल्डोको अन्तिम विरासत !

काठमाडौं । पोर्चुगलका कप्तान तथा विश्व फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो

समूह ‘ए : जित्नैपर्ने दबाबमा चेकिया र दक्षिण अफ्रिका, अर्को खेलमा मेक्सिको र कोरिया भिड्ने

काठमाडौं – चेक रिपलब्लिक र दक्षिण अफ्रिका दुबैले समूह ‘ए’को