राजश्व संकलनमा लापरबाही नगर्न अर्थमन्त्री महतको निर्देशन « Khabarhub

राजश्व संकलनमा लापरबाही नगर्न अर्थमन्त्री महतको निर्देशन


७ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले राजस्व संकलन गर्ने जिम्मेवारी लिएका कर्मचारीले तदारुकता, इमान्दारिता र अनुशासन देखाउन आग्रह गरेका छन् । आन्तरिक राजश्व विभागका प्रमुखको समीक्षा बैठकलाई आज सम्बोधन गर्दै अर्थमन्त्रीले राजश्व संकलनमा कुनै पनि लापरबाही गर्न नहुने बताएका हुन् । 

बैठकमा उनले भने, ‘नेपाल सरकारको विभिन्न मन्त्रालय खर्चका लागि जिम्मेवार हुन् । सम्बन्धित मन्त्रालयमा विनियोजन भएको रकम प्रभावकारी ढंगले खर्च होस् भन्ने अर्थ मन्त्रालयको अपेक्षा रहन्छ । राजस्व संकलनमा अर्थ मन्त्रालयको अहम् भूमिका रहेकोले सबै राजस्व संकलनको जिम्मा अर्थ मन्त्रालयको हो ।’

‘विभिन्न परिस्थितिजन्य अवस्थाले यस पटक राजस्व निक्कै कम संकलन हुन गएको हो । गतवर्ष संकलन भएको राजस्वसँग अहिले संकलन भएको राजस्व दाँज्दा पनि हाम्रो प्रगति निकै कम देखियो’  मन्त्री डा महतले भने । 

उनको यसको सम्पूर्ण दोष राजस्वका कर्मचारीको हो भनेर आफूले नभनेको र राष्ट्रिय अर्थतन्त्रमा आएको सङ्कुचन, केही वस्तुको आयातमा लगाएको प्रतिबन्ध, पुँजीगत खर्चमा आएको ह्रास, चोरी पैठारीका कारणले राजश्वमा कमी आएको स्पष्ट पारे। 

बैठकमा डा महतले भने, ‘तमाम पावन्दी र समस्याका बाबजुद हाम्रो प्रयासमा अवश्य पनि कमी कतै छ भन्ने निष्कर्ष निकाल्न सकिन्छ । हामी सबैले इमान्दारिताका साथ आ–आफ्नो जिम्मेवारी पूरा गर्ने बाहेक मसँग अर्को कुनै एजेन्डा छैन । तपाईँहरूको कार्य प्रगतिबाट नै तपाईँहरूको मूल्यांकन हुन्छ भन्ने कुरामा तपाईंहरू निश्चिन्त हुनुहोस् ।’

काठमाडौँ लगायत राज्यका विभिन्न स्थानमा राजस्व संकलन गर्न स्थापित आन्तरिक राजस्व कार्यालयले राम्रोसँग आफ्नो जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी राख्नु नहुने उनको भनाइ छ । बजारको प्रभावकारी अनुगमन, कारोबारको यथार्थ बिल लिनेदिने कार्यको विकास, कर्मचारीमा नैतिकता र इमान्दारिता तथा महालेखा परीक्षकको कार्यालयले प्रतिवेदनमा देखाएका कुरालाई गम्भीरतापूर्वक लिन जरुरी रहेको अर्थमन्त्रीको भनाइ छ । 

‘झन्डै ४४ प्रतिशत राजस्व ठूला करदाताबाट आउँछ । गत वर्षको तुलनामा अहिले ठूला करदाताबाट पनि राजस्व कम संकलन भएको छ । यहाँ पनि समस्या देखियो । यसमा कहाँ त्रुटी भयो, त्यसको समीक्षा हुन जरुरी छ । तथ्यांकलाई तुलना गरेर व्याख्यात्मक विश्लेषण हुन जरुरी छ’ उनले भने, ‘समस्या पहिचान हुनुपर्‍यो, समस्या आउने कारण यी हुन् भनेर विश्लेषणपछि आउने कार्यदिशा तय गर्न जरुरी छ ।’

‘पछिल्लो समयमा ठूला व्यावसायिक घराना त्यत्ति धेरै प्रभावित भएका छैनन्, अहिले साना व्यवसायी धेरै प्रभावित भएका छन् । त्यत्ति हुँदा पनि काठमाडौँ उपत्यकामा किन राजस्व संकलनले लक्ष्यभन्दा कम उठ्छ ? ‘ उनले प्रश्न गर्दै भने ‘भ्याटमा नक्कली बिलको समस्या आइरहेको छ भनिएको छ, यदि हो भने यो अपराध नै हो’ यसलाई गम्भीररुपमा लिन म आग्रह गर्दछु ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार  ६ : ०५ बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले