प्याजमा चरम कालोबजारी | Khabarhub Khabarhub

प्याजमा चरम कालोबजारी


४ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतले प्याजको निर्यातमा भन्सार बढाएको भोलिपल्टै नेपाली बजारमा प्याजमा कालोबजारी र चर्को मूल्यवृद्धि भएको देखिएको छ । एक दिनमै प्याजको मूल्य प्रतिकिलो रु २० सम्मले बढेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमनबाट देखिएको छ । भारतले निर्यातमा कर बढाउनुअगावै नेपाल भित्रिसकेको र मौज्दात रहेको प्याजमा चर्को मूल्यवृद्धि भएपछि वाणिज्य विभागले अनुगमन थालेको छ ।

विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरका अनुसार सोमबार विभागले तीन वटा अनुगमन टोली खटाएर कालीमाटी, बल्खु, एकान्तकुनालगायत प्रमुख तरकारी बजार र खुद्रा पसलमा अनुगमन गरेको छ । भारतले भन्सार बढाएको बहानामा व्यापारीले पहिल्यै आयात गरिसकेको प्याजमासमेत मूल्य बढाएर कालोबजारी गरेपछि अनुगमन गरिएको र केही व्यापारीलाई कारबाहीसमेत भएको उनले जानकारी दिए ।

“प्याजमा कालो बजारी र चर्को मूल्यवृद्धिको सूचना पाउने वित्तिकै विभागले आज दिनभरि तीन वटा टोली परिचालन गरेर बजार मूल्य अनुगमन गरेको छ । तीन वटा व्यापारीलाई जनही रू २० हजार, दुई वटा व्यापारीलाई जनही रू ५० हजारका दरले कारबाही गरिएको छ भने चार वटा आयातकर्ता र व्यापारीलाई थप अनुसन्धानका लागि कागजात माग भएको छ”, महानिर्देशक ठाकुरले भने ।

कालीमाटी फलफूल तथा तरकारी बजारमा आइतबार प्रतिकिलो रू ६० का दरले बिक्री भइरहेको प्याज सोमबार प्रतिकिलो रू २० सम्म बढेर रू ८० पुगेको थियो । तर विभागले अनुगमन गरेपछि आज कालीमाटी तरकारी बजारमा प्याजको मूल्य प्रतिकिलो रू १० ले घटेको उनको भनाइ छ । वाणिज्य विभागले गर्ने नियमित अनुगमन सोमबार प्याजको मूल्य वृद्धिमा केन्द्रित भएर गरिएको थियो ।

उपत्यकाका विभिन्न २१ स्थानमा भएको अनुगमनमा पाँच वटालाई तत्काल कारबाही, चार वटालाई थप अनुसन्धानका लागि कागजात माग, एउटालाई २४ घण्टाभित्र विभागमा उपस्थित हुन निर्देशन र बाँकीलाई सामान्य निर्देशन दिइएको विभागले जनाएको छ । फरक मूल्य राखेर भ्याटबिल बनाएको तथा आयातकर्ता व्यापारीले अरु खुद्रा व्यापारीलाई कति रकममा बिक्री गरेका छन् भन्नेबारे विभागले विस्तृ अध्ययन गरिरहेको पनि महानिर्देशक ठाकुरले जानकारी दिए ।

भारतको वित्त मन्त्रालयले शनिबार प्याजको निर्यातमा ४० प्रतिशतसम्म भन्सार कर बढाउने निर्णय गरेको थियो । भारतको आन्तरिक बजारमा प्याजको मूल्य बढेपछि भन्सार कर बढाइएको भारतीय वित्त मन्त्रालयले जनाएको छ । आगामी डिसेम्बर ३१ सम्म यस्तो कर लाग्नेछ । यसअघि भारतले बासमतीबाहेकका चामल निर्यातमा बन्देज लगाएपछि चामलमा पनि कालोबजारी बढेको थियो । वाणिज्य विभागको अनुगमन पछि केही हदसम्म मूल्य वृद्धि नियन्त्रण भएको महानिर्देशक ठाकुरको भनाइ छ ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  ७ : २९ बजे

कोलम्बियामा विद्रोहीको आक्रमणमा परी ६० जनाको मृत्यु

कोलम्बिया– कोलम्बियामा नेशनल लिबरेसन आर्मी (इएलएन) विद्रोहीको आक्रमणमा परी कम्तीमा

पत्रकार गजेन्द्र बुढाथोकीले सार्वजनिक गरे ‘जङ्गबहादुर इन इङ्गल्यान्ड’

काठमाडौं- पत्रकार गजेन्द्र बुढाथोकीद्वारा लिखित ‘जङ्गबहादुर इन इङ्गल्यान्ड’ किताब शनिबार

अपेक्षित वैदेशिक सहायता प्राप्तिमा सरकार विफल

काठमाडौं – सरकारले चालु आर्थिक वर्षमा लक्ष्य अनुसारको वैदेशिक सहायता

वार्षिक प्रतिवेदन छलफलमा प्रधानमन्त्री गएनन्, सरकारको ध्यानाकर्षण

काठमाडौं– नेपाल सरकारको वार्षिक प्रतिवेदन छलफल गर्ने क्रममा प्रधानमन्त्री उपस्थित

मदन भण्डारी राजमार्गको पूर्वी खण्डमा ४२ किलोमिटर सडक कालोपत्र

झापा– मदन भण्डारी राजमार्गको पूर्वी खण्डअन्तर्गत झापाको बाहुनडाँगीदेखि सुनसरीको धरानसम्म