फाइल फोटो

राजनीति

विद्यालय बन्द नगर्न आन्दोलनरत शिक्षकलाई महामन्त्री थापाको आग्रह  

By खबरहब

September 21, 2023

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले विद्यालय बन्द नगर्न आन्दोलनरत शिक्षकहरुलाई आग्रह गरेका छन् ।

सरकारले हालै संसद्मा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको मस्यौदामा थुप्रै सुधार आवश्यक रहेको उल्लेख गर्दै उनले विद्यालय बन्दजस्ता अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरुप बदल्न शिक्षकहरुलाई आह्वान गरेका हुन् ।

उनले भने,  ‘आन्दोलनरत शिक्षक, स्थानीय सरकारलगायतका असहमत पक्ष र चिन्तित अभिभावक एवं विद्यार्थी सबैका जायज माग र चिन्ताको सम्बोधन हुनुपर्छ र त्यसका निम्ति हाम्रो सतत प्रयास र पहलकदमी रहने छ’ । 

उनले शिक्षकको न्याय र सम्मान अनि विद्यार्थीको भविष्यलाई केन्द्रमा राखेर कानुन बनाउन संसद्हरू प्रतिबद्ध रहेको पनि बताएका छन् । 

देशभरबाट हजारौंको संख्यामा उपस्थीत भएका शिक्षकहरुले काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेका छन्  ।

‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’मा रहेका केहि प्रावधानहरु शिक्षकहरूको हकहितविपरीत भएको भन्दै नेपाल शिक्षक महासंघको अगुवाईमा दोस्रो दिन पनि प्रदर्शन गरिएको हो ।