विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


८ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

आज  चैत ८ २०७९, अंग्रेजी क्यालेन्डर अनुसार मार्च २२, २०२३ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार छन्:

अफगानिस्तान र पाकिस्तानमा भूकम्प, १३ जनाको मृत्यु

अफगानिस्तान र पाकिस्तानका विभिन्न क्षेत्रमा मङ्गबार राति ६.५ म्याग्निच्युडको भूकम्प जाँदा १३ जनाको मृत्यु भएको छ । भूकम्पमा परी अरु सयौँ घाइते भएका छन् ।

अफगानिस्तानमा चार र पाकिस्तानमा नौ जनाले ज्यान गुमाएको ती मुलुकका सरकारी अधिकारीहरूले बताएका छन् । अफगानिस्तानको जनस्वास्थ्य मन्त्रालयका लागि तालिबान सरकारका प्रवक्ता शराफत जमान अमरले भूकम्पबारे जानकारी दिएका हुन् ।

भूकम्पको केन्द्रबिन्दु पाकिस्तान र ताजिकिस्तान नजिकै पर्ने अफगानिस्तानको जुर्म शहरबाट ४० किलोमिटर दक्षिणपूर्वमा रहेको अमेरिकाको भूगर्भ सर्वेक्षणले जनाएको छ । भारतको राजधानी नयाँ दिल्लीसम्म भूकम्पको धक्का महसुस गरिएको थियो ।

उत्तरपश्चिम पाकिस्तानका विभिन्न भागमा घरको छाना खस्दा नौ जनाको मृत्यु भएको तथा अफगातिस्तानको स्वातमा एक १० वर्षीया बालिका र लोयर दिरमा एक २४ वर्षीय पुरुषकोे घरको पर्खाल भत्किँदा मृत्यु भएको छ । भूकम्पपछि दुवै देशका विभिन्न भागमा भूस्खलन भएको छ ।

भूकम्पको झट्काका कारण २० भन्दा बढी भवनमा क्षति पुगेको छ भने धेरै स्थानीय घाइते भएका छन् । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्वात उपत्यकाका अस्पतालमा दुई सय ५० जना घाइतेको उपचार गरिएकामा १५ जनालाई सामान्य चोटपटक लागेको अस्पताल प्रशासनले बताएको छ ।

उपचारार्थ अस्पस्ताल ल्याइएकामध्ये दुई सयभन्दा बढी बेहोस थिए । प्रान्तका अन्य भागमा ५२ जना घाइते भएका अधिकारीहरूले बताएका छन् ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भूकम्पपछि देशका विपद् व्यवस्थापन अधिकारीहरूलाई सतर्क रहन आग्रह गरेका छन् ।

उत्तर कोरियाद्वारा पुनः ‘क्रुज मिसाइल’ प्रक्षेपण

उत्तर कोरियाले आज फेरि ‘क्रुज मिसाइल’ प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले बताएको छ । उत्तर कोरियाले पूर्वी सागरमा प्रक्षेपण गरेका धेरै क्रुज मिसाइल प्रक्षेपण गरेको पहिचान गरिएको दक्षिण कोरियाले जनाएको हो ।

मिसाइल परीक्षणसम्बन्धी विस्तृत विवरणलाई दक्षिण कोरियाली र अमेरिकी गुप्तचर अधिकारीहरूले विश्लेषण गरिरहेका दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले आज एक विज्ञप्ति निकालेर बताएका छन् ।

दक्षिण कोरिया र अमेरिकाले पाँच वर्षयता गरेका सबैभन्दा ठूलो संयुक्त सैन्य अभ्यासको विरोधमा उत्तर कोरियाले शक्तिशाली क्षेप्यास्त्र प्रक्षेपण गरेको ठानिएको छ । अमेरिका र दक्षिण कोरियाले गरेको संयुक्त सैन्य अभ्यासलाई उत्तरले आफूमाथि हुने आक्रमणको पूर्वाभ्यासका रूपमा लिने गरेको छ । यो संयुक्त सैन्य अभ्यास भोलिसम्म जारी रहनेछ ।

पछिल्लो समयमा अमेरिका र दक्षिण कोरियाले उत्तरबाट बढ्दो सैन्य र आणविक जोखिमलाई दृष्टिगत गरी पारस्परिक सहयोगलाई घनीभूत बनाउँदै आएका छन् । उत्तर कोरियाले पनि नियमितरूपमा प्रतिबन्धित हतियार परीक्षणको शृङ्खलालाई जारी राखेको छ ।

यसैबीच, दक्षिण कोरियाले पूर्वनिर्धारित योजनाअनुसार संयुक्त सैन्य अभ्यासलाई सफलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

चीनले युक्रेन युद्धमा निष्पक्ष मध्यस्थता गर्न सक्दैन : अमेरिका

अमेरिकाले युक्रेनमा जारी युद्धमा चीनले निष्पक्ष मध्यस्थता गर्न नसक्ने बताएको छ । अमेरिकाले युक्रेन र रुसबीच निष्पक्ष रूपमा मध्यस्थता गर्न चीन सक्षम नरहेको टिप्पणी पनि गरेको छ ।

मङ्गलबार चिनियाँ राष्ट्रपति सी जिन्पिङ र उनका रुसी समकक्षी भ्लादिमिर पुटनबीच भएको वार्तामा युक्रेनमा जारी युद्ध अन्त्यका निम्ति चीन मध्यस्थता गर्न तत्पर रहेको बताएपछि अमेरिकाले चीनको आलोचना गरेको हो ।

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले युक्रेन युद्धको अन्त्यका निम्ति हुने मध्यस्थतामा चीनलाई निष्पक्षरूपमा हेर्न नसकिने बताएका छन् । उनले युक्रेनमाथि भएको रुसी आक्रमणको आलोचना नगरेर चीनले रुसबाट इन्धन आयात जारी राखेको तथा पश्चिमा मुलुकले रुसमाथि प्रतिबन्ध लगाएपनि बेइजिङ मौन रहेकाले चीनको निष्पक्षतामाथि प्रश्न उठ्ने तर्क गरेका छन् ।

युक्रेन युद्ध अन्त्य गर्नेसम्बन्धमा चीनले १२ बुँदे मार्गचित्र प्रस्तुत गरेको छ । मार्गचित्रमा सबै देशको क्षेत्रीय सार्वभौमसत्ताको सम्मान तथा सबै समस्याको समाधान संवादको माध्यमबाट खोजिनुपर्नेमा जोड दिइएको छ ।

वार्ताका क्रममा राष्ट्रपति सीले युक्रेनको मुद्दामा शान्ति र न्यायका निम्ति आवाज उठिरहेको बतएका थिए । विश्वका अधिकांश देशले तनाव कम गर्ने, शान्ति वार्ताको पक्षमा उभिने अभिमत जाहेर गरेका जनाउँदै उनले वार्ताको माध्यमबाट समस्याको समाधान खोजिनुपर्ने बताएका थिए ।

राष्ट्रपति पुटिनले वार्ताका लागि आफू तयार रहेको बताउँदै चीनले प्रस्तुत गरेको मार्गचित्रको प्रशंसा गरेका छन् ।

दिल्लीमा प्रधानमन्त्री मोदीविरुद्ध अपमानजनक पोस्टर टाँस्ने ६ जना पक्राउ

भारतको राजधानी नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध अपमानजनक टिप्पणीसहित आपत्तिजनक पोस्टर टाँसेको अभियोगमा ६ जनालाई पक्राउ गरिएको छ ।

प्रधानमन्त्री मोदीका कट्टर आलोचकहरूले आपत्तिजनक पोष्टर टाँसेकाले उनीहरूलाई कानूनको दायरमा ल्याउन एक सयभन्दा बढीले स्थानीय प्रहरीमा उजुरी दर्ता गराएका छन् ।

दिल्लीका केही भागमा ‘मोदी हटाओ, देश बचाओ’ लेखिएका पोस्टर टाँसिएका छन् । उजुरीका आधारमा छ जनालाई पक्राउ गरिएको दिल्ली प्रहरी प्रमुखले बताएका छन् । पोस्टरमा छापाखाना वा प्रकाशकको नाम उल्लेख गरिएको छैन । दिल्ली प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

आम आदमी पार्टी (आप) को कार्यालयबाट बाहिरिनेबित्तिकै एउटा भ्यान रोकिएको थियो । त्यसबाट आपत्तिजनक पोस्टरसहित उनीहरूलाई अपहेलना ऐनअन्तर्गत गिरफ्तार गरेर थप अनुसन्धान थालिएको प्रहरी प्रमुखले भारतीय समाचार संस्था एएनआईलाई बताएका छन् ।

आईएमएफको सहयोगपछि अन्तर्राष्ट्रिय मान्यता पुनः स्थापित हुन्छ : श्रीलङ्काली राष्ट्रपति

श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) विस्तारित कोष सुविधा (ईएफएफ) ले श्रीलङ्काले अन्तर्राष्ट्रिय मान्यता पुनः स्थापित गर्ने, देशको अर्थतन्त्र कमजोर नहुने र बैङ्कहरूलाई अन्तर्राष्ट्रिय विश्वास पुनः प्राप्त गर्न मद्दत गर्ने बताएका छन् ।

आईएमएफको सुविधा प्राप्त हुनु युवाको राम्रो भविष्य निर्माण र देशको उत्थानको दिशामा एक सही कदम भएको उनले बताएका छन् ।

‘ऋण सुविधा चार वर्षमा लगभग तीन अर्ब अमेरिकी डलरको बराबर छ, जसमा ३३ करोड ३० लाख अमेरिकी डलरको पहिलो किस्ता प्राप्त हुनेछ,’ उनले भने ।

यसका अतिरिक्त, श्रीलङ्का अन्य पक्षहरूबाट द्रुत ऋण सहायताको रूपमा लगभग सात अर्ब डलरको अपेक्षा गरेको छ, विक्रमासिङ्घेले संसदमा गरेको सम्बोधनमा भने ।

उनले भने, ‘आईएमएफ अन्तर्गतको ईएफएफले कम ब्याजको ऋणको लागि अवसरहरू सिर्जना गर्नेछ । विदेशी लगानीकर्ताहरूको विश्वास पुनः स्थापित गर्नेछ र बलियो नयाँ अर्थव्यवस्थाको जग बसाल्नेछ ।’

‘अब हामी नयाँ यात्रा सुरु गर्दै छौँ । हामीले यस प्रक्रियामा धेरै आर्थिक सुधारहरू ल्याउनुपर्छ,’ सम्बोधनमा उनले भने ।

सन् २०२२ को अन्तरिम बजेट र सन् २०२३ को बजेटमार्फत यी मध्ये केही सुधारको प्रस्ताव र कार्यान्वयन भइसकेको उनको दाबी थियो ।

सरकारले सन् २०२५ सम्ममा प्राथमिक घाटालाई कुल गार्हस्थ्य उत्पादनको २.३ प्रतिशतमा झार्ने र सन् २०२६ सम्ममा राजस्वलाई कुल गार्हस्थ्य उत्पादनको १४ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ ।

सरकारले सन् २०२३ को मध्यसम्ममा मुद्रास्फीतिलाई चार देखि छ प्रतिशत प्रतिशतमा झार्ने र यसलाई एकल अङ्कमा झार्ने लक्ष्य राखेको राष्ट्रपतिले संसदलाई बताए ।

बजेट घाटा कम गर्ने र पैसा छाप्नबाट रोक्ने सरकारको योजना छ । विदेशी मुद्रा बजार थ्रेसहोल्ड र दिशानिर्देशहरू खुकुलो पारिनेछ जबकि बजार मापदण्डलाई यसको गतिविधिहरू निर्धारण गर्न अनुमति दिइनेछ।

उनले सुशासनका सन्दर्भमा आईएमएफले श्रीलङ्काको शासकीय ढाँचा र भ्रष्टाचारको मूल्याङ्कन गर्न प्रतिवेदन तयार गरिरहेको बताए ।

सरकारले संयुक्त राष्ट्रसङ्घको महासन्धिअनुसार भ्रष्टाचारविरुद्धको कानूनको मस्यौदा गरिरहेको र विदेशी ऋणसम्बन्धी बलियो वित्तीय नीति र कानून ल्याउन नयाँ सार्वजनिक वित्त व्यवस्थापन विधेयक प्रस्तुत गर्ने उनले बताए ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ८ : ०२ बजे

जनमतसँग छिटै पार्टी एकता हुन्छ : रञ्जिता श्रेष्ठ

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले जनमत पार्टीसँग छिटै

भारत र पाकिस्तानका नेपालीको आवश्यक सुरक्षा अपनाउन सभामुखको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले भारत र पाकिस्तानमा बस्ने नेपालीहरूको

भारतमा समाचार पोर्टल ‘द वायर’ बन्द

काठमाडौं– भारत सरकारले समाचार पोर्टल द वायरको पहुँचमा प्रतिबन्ध लगाएको

रौतहटकाे चन्द्रपुरमा हात्तीको विध्वंश

रौतहट– जङ्गली हात्तीले गत मङ्गलबार रौतहटको चन्द्रपुर–२ जोगिटोलकी एकल महिला

नीति तथा कार्यक्रम पास गर्न एमालेले लगायो ह्विप

काठमाडौं– सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले आफ्ना सांसदहरूलाई सरकारको नीति