दिनभर आजमा नागरिकता विधेयक कार्यान्वयन गर्न बाटो खुल्यो, माओवादीले बोलायो केन्द्रीय समिति बैठक, अनिलकेशरी शाह रास्वपामा प्रवेश, सभामुख घिमिरे र उत्तर कोरियाली राजदूतबीच भेटलगायतका समाचारले प्रमुख स्थान पाए ।
यी हुन् आज दिनभरका मुख्य समाचारहरू:
नागरिकता विधेयक कार्यान्वयन गर्न बाटो खुल्यो
सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै नागरिकता विधेयक कार्यान्वयन हुने भएको छ ।
सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले यसअघि न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले दिएको अल्पकालीन अन्तरिम आदेशको निरन्तरता नहुने आदेश दिएको हो ।
माओवादीले बोलायो केन्द्रीय समिति बैठक
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । यही असार २३ गतेदेखि राजधानीको प्रज्ञा-प्रतिष्ठानमा बस्ने गरी बैठक बोलाइएको छ ।
बैठकमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, आयोगका सदस्य र प्रदेशका पदाधिकारी गरी करिब सात सय सहभागी हुने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए।
प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा महासचिव नेत्र विक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा भर्खरै घोषणा गरिएको समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको बताइएको छ ।
बजेट कार्यान्वयनका लागि पूर्वतयारी सुरु
अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०(८१ को बजेट कार्यान्वयनका लागि पूर्वतयारी सुरु गरेको छ ।
चालु आर्थिक वर्षको बाँकी अवधिमा गर्नुपर्ने सार्वजनिक खर्चको व्यवस्थापन र आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि गर्नुपर्ने पूर्वतयारीका सम्बन्धमा अर्थ मन्त्रालयले आज अरू विषयगत मन्त्रालयका सचिवहरूसँग छलफल गरेको छ ।
यथास्थितिमा बजेट पारित गर्न सहयोग नगर्ने नेकपा एसको निष्कर्ष
नेकपा एकीकृत समाजवादीले यथास्थितिमा बजेट पारित गर्न नहुने जनाएको छ । सिंहदरबारमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकपछि उपाध्यक्ष राजेन्द्र पाण्डेले सबैजसो सांसदहरूले यथास्थितिमा बजेट पारित गर्न नहुने धारणा राखेको बताए ।
अनिलकेशरी शाह रास्वपामा प्रवेश, प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बैंकर अनिल केशरी शाहलाई पार्टीको प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।
उनलाई आज बसेको रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको हो ।
रास्वपाको पहिलो वर्ष ऊर्जाशील र सौहार्द्रपूर्ण : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको पहिलो वर्ष सकारात्मक, ऊर्जाशील र सौहार्द्रपूर्ण रहेको बताएका छन् ।
पार्टी स्थापना दिवसका अवसरमा आज केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीको एकवर्षे यात्राको समीक्षा गर्दै भने, ‘यो एक वर्ष अत्यन्त सकारात्मक, ऊर्जाशील र सौहार्द्रपूर्ण रह्यो ।
सभामुख घिमिरे र उत्तर कोरियाली राजदूतबीच भेट
सभामुख देवराज घिमिरेसँग नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले बिहीबार शिष्टाचार भेटवार्ता गरेका छन् ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा नेपाल–उत्तर कोरिया द्विपक्षीय सम्बन्ध विस्तार, संसदीय आदान प्रदान लगायतका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।
नेपाल ट्रेड युनियन कांग्रेसको अध्यक्षमा कुँवर निर्वाचित
नेपाल ट्रेड युनियन कांग्रेसको अध्यक्षमा योगेन्द्रबहादुर कुँवर निर्वाचित भएका छन् ।
बिहीबार दिउँसो सकिएको मतगणनाअनुसार उनी ४४१ मत प्राप्त गरेर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी महेन्द्र यादवले ३७६ मत पाए ।
खोजी र उद्धार गर्न प्रभावकारी संयन्त्र तयार : गृहमन्त्री
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढीपहिरोलगायत विपद्का घटनापछिको खोजी, उद्धार र राहतकार्य तत्काल प्रभावकारी हुने गरी संयन्त्र तयार गरिएको बताएका छन् ।
राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा उनले आवश्यक पूर्वतयारी गरेका कारण विपद्पछि उद्धार, खोजी र राहत कार्यलाई अव्यवस्थितरूपमा सम्बोधन गर्न सकिएको जानकारी दिए ।
उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता नलिन अन्तरिम आदेश
सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
आफूमाथि आक्रमण गर्नेको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध चलाउनेले दायर गरेको रिटमा बिहीबार सर्वोच्च अदालतका न्यायाधीश डा।मनोज कुमार शर्माको एकल इजलासले सरकारको निर्णय कार्यान्वयन नगर्न विपक्षीमा नाममा अन्तरिम आदेश जारी गरेको हो ।
भारतीय चलचित्र प्रदर्शन नरोक्न अदालतले दिएको आदेश मान्दिनँ: मेयर शाह
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उच्च अदालतले दिएको आदेश नमान्ने बताएका छन् ।
उच्च अदालत पाटनले बिहीबार भारतीय चलचित्र लगायत सेन्सर बोर्डले स्वीकृत गरेका चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
नयाँ आवधिक योजनाका लागि सुझाव संकलन थालियो
राष्ट्रिय योजना आयोगले १६औँ आवधिक योजनाको अवधारणापत्र तयार पार्नका लागि सुझाव संकलन थालेको छ ।
आयोगले बुधबारदेखि विभिन्न क्षेत्रका विषय विज्ञसँगको छलफल गरी सुझाव लिइरहेको छ ।
आज पनि चलेको छलफलमा योजना आयोगका पूर्वउपाध्यक्ष, पूर्वसदस्य, अर्थविद्हरू, नेपाल सरकारका बहालवाला तथा पूर्वसचिव तथा विभिन्न विषय विज्ञ सहभागी छन् ।
बुटवल उपमहानगरमा शिक्षा, स्वास्थ्य, पर्यटन क्षेत्रको प्रवर्द्धन प्राथमिकतामा
बुटवल उपमहानगरपालिकाले शिक्षा, स्वास्थ्य, रोजगारी र पर्यटन क्षेत्रलाई प्राथमिकताका साथ प्रवर्द्धन गर्ने नीतिलाई अवलम्बन गर्ने भएको छ ।
यसका साथै उद्यमशीलता, सामाजिक विकास, युवा तथा खेलकुद, भौतिक पूर्वाधार विकास, सार्वजनिक यातायात, खानेपानी तथा सरसफाइ, विपद् व्यवस्थापन र मानवअधिकार तथा न्यायजस्ता विषयगत क्षेत्रहरूका लागि विशेष नीति तथा कार्यक्रम प्रस्ताव गरेको छ ।
नेपाल एयरलाइन्सका दुई पाइलट निलम्बनमा
नेपाल नागरिक उड्यन प्राधिकरणले नेपाल एयरलाइन्सका दुई पाइलटलाई निलम्बन गरेको छ ।
उनीहरूले फ्लाइट सेफ्टीको नियम पालना नगरेको भन्दै प्राधिकरणले कारबाही स्वरुप निलम्बन गरेको हो ।
प्रतिक्रिया