बेनी-जोमसोम सडक खण्डमा वैकल्पिक मार्गको माग « Khabarhub

बेनी-जोमसोम सडक खण्डमा वैकल्पिक मार्गको माग


५ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

बेनीबेनी–जोमसोम सडक खण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना खण्डमा पहिराले सडक क्षतविक्षत भएपछि यहाँका सरोकारवालाहरुले वैकल्पिक सडकको माग गरेका छन् । अविरल वर्षासँगै आएको बाढी र पहिराले अन्नपूर्ण गाउँपालिकाको नारच्याङ पुलदेखि दानासम्म करिब ५५ बढी ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । 

पहिरोग्रस्त क्षेत्रको विकल्पमा नारच्याङको गाडपार र दानाको ठाँटीटोल जोड्ने गरी कालीगण्डकी नदीमा बेलिब्रिज बनाएर वैकल्पिक मार्ग सञ्चालनमा ल्याउन स्थानीय र सरोकारवालाले माग गरेका हुन् । अहिले बेनी-जोमसोम सडकका सवारी साधन बेनीबाट नारच्याङ गाउँ हुँदै घरापमा पुगेर रोकिने गरेका छन् । 

यसअघि नै घरापदेखि गाडपार हुँदै कोप्चेपानीसम्म सडकको ट्रयाक खनिएकाले सडकको मर्मत गरी कालीगण्डकी नदीमा बेलिब्रिज बनाउन सकेमा दानाको पहिरोग्रस्त जोखिमयुक्त ठाउँको वैकल्पिक मार्ग तयार हुने जिल्ला समन्वय समितिका निवर्तमान सदस्यसमेत रहेका गाडपारका अगुवा मेखबहादुर गर्वुजाले जानकारी दिए । 

दानाको गुइँठे, सुकेबगर, जलथले, खामभिक्ता लगायतका क्षेत्रमा पहिरोले कालीगण्डकीको नदी तीरबाटै बेससमेत बगाउन थालेपछि बेनी-जोमसोम सडकमा एक सातादेखि सिधा यातायात अवरुद्ध बनेको छ । दानाको ठाँटीटोलगाडपार जोड्ने बेलिब्रिजका लागि दुवैतर्फका भूगोलसमेत पक्की रहेकाले पहिरोको दीर्घकालीन रोकथाम नहुँदासम्म वैकल्पिक सडकले राहत दिने गर्बुजाले बताए । 

‘हामीले पटक–पटक बेलिब्रिज बनाउन माग गर्दै आएका छौँ, गाउँपालिका र बेनी–जोमसोम–कोरला सडक आयोजनालाई पनि ध्यानाकर्षण गराएका छौँ, कम्तीमा बेनी–जोमसोम सडक खण्डका विभिन्न ठाउँमा रहेका बेलिब्रिजलाई यहाँ स्थानान्तरण गर्न सके अहिले यात्रुहरूले भोग्दै आएको सास्ती हट्ने थियो’, गर्वुजाले भने । 

दाना क्षेत्रका विभिन्न ठाउँमा खसेको पहिरोले सडकमा ठूलो क्षति भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिएका छन् । यस सडक आयोजनाअन्तर्गत अहिले बेनीदेखि नारच्याङपुलसम्म र दानादेखि जोमसोम खण्डको सडक मात्रै सञ्चालनमा रहेको छ । 

सडक अवरुद्ध भएपछि घाँसादेखि नारच्याङको घरापसम्म नै सर्वसाधारण र पर्यटकहरूले पैदल हिँडेर आवतजावत गर्नुपरेको छ । विदेशी पर्यटक र तीर्थयात्रीले हिलोमा जोखिम मोलेर कष्टकर यात्रा गर्नुपर्ने बाध्यता छ । सडक खण्डका बीचमा पर्ने दाना क्षेत्रमा मात्रै दर्जनौँ ठाउँमा पहिरोले सडक अवरुद्ध बनेको र मर्मत गरी सञ्चालन गराउने प्रयास जारी रहेको सुपरभाइजर शेरचनले बताए । 

कालीगण्डकीको तीरदेखि नै सडकको बेस भत्किएकाले सडक मर्मत गरी सञ्चालन गराउन समस्या भएको छ । सडक अवरुद्ध भएपछि  मुस्ताङ र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको दानामा खाद्यान्न, इन्धन लगायतका अत्यावश्यक सामग्रीको ढुवानीमा समेत समस्या भएको छ भने बिरामीलाई अस्पताल जान पनि सकस भएको छ ।  

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  २ : ४२ बजे

अरनिको राजमार्ग विस्तार : सामग्रीको मूल्यवृद्धिले निर्माण सुस्त

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा

आज देशभर बीसौँ लोकतन्त्र दिवस मनाइँदै

काठमाडौं– बीसौँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर

इजरायल-लेबनान युद्धविराम तीन साता थपिएको ट्रम्पको घोषणा

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबीचको कमजोर

नयाँ नियमावलीमा सांसदको विशेषाधिकार प्रस्ताव

काठमाडौं– प्रतिनिधिसभा नियमावली सांसदको विशेषाधिकारको रूपमा अघि बढाउन प्रस्ताव गरिएको

जुम्लाका स्थानीय तहले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

जुम्ला– जुम्लाका आठवटा स्थानीय तहमध्ये तीनवटा स्थानीय तहले आइतबार पनि