पानामा रोग देखिएपछि केरा आयातमा कडाइ « Khabarhub

पानामा रोग देखिएपछि केरा आयातमा कडाइ


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

भैरहवा- भारतबाट आयात हुने केरासँगै रोग भित्रिन नदिन अहिले सीमा नाकामा विशेष सतर्कता अपनाउने गरिएको छ । कैलालीको टीकापुरमा पानामा रोगको सङ्क्रमण ट्रोपिकल रेस ४ देखिएसँगै नेपालभरका नाकामा रहेका ‘प्लाण्ट क्वारेन्टाइन’ ले उच्च सतर्कता अपनाएका हुन् ।

टीकापुरका केही बगैँचामा केराको बोट ओइल्याउने रोग टिआर–४ देखिएकाले सावधानी अपनाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सूचना जारी गरेको छ । करिब १४ वर्ष अघि नेपालमा पानामा रोगको रेस–१ भारतबाट भित्रिएको अनुमान गरिएको कृषि ज्ञान केन्द्र भैरहवाका प्रमुख शिवलाल अर्यालले बताए । उनका अनुसार चितवनमा यो रोग सात वर्षदेखि व्यापक रूपमा फैलिँदै गएको छ ।

“रेस–१ ले मालभोगलगायतका स्थानीय जातलाई निकै नोक्सान पुर्‍याउँछ । नयाँ जात जी–नाइन, विलयम हाइब्रिड, चिनयाँ चम्पालगायत जातले रेस–१ लाई पूर्णतया सहन सक्छन्”, प्रमुख अर्यालले भने, “नयाँ प्रजाति पानामा टिआर–४ ले भने नेपालमा खेतीका लागि उपलब्ध सबै केराका जातलाई पूर्णतया नष्ट गर्नसक्ने क्षमता राख्दछ ।”

रोग लागेमा सुरूमा पुराना पातको फेद पहेँलो हुने भन्दै, पछि पातको किनारा पहेँलिन थाल्ने र पात सुकेर डाँठ भाँचिने उनले बताए । “यो रोगको ढुसीले आक्रमण गरेको चारदेखि पाँच महिनापछि बिरुवामा लक्षण देखाउँछ । रोग सङ्क्रमित बिरुवा रोपण गरेमा रोग लागेको दुई महिनाभित्र लक्षण देखिन सक्छन्”, उनले भने ।

पनामा रोग माटोमा बस्ने ढुसी भएका कारण सर्ने प्लाण्ट क्वारेन्टाइन कार्यालयका भैरहवाका प्रमुख कुलदीप घिमिरेले बताए । उनका अनुसार एक ठाउँबाट अर्को ठाउँसम्म सङ्क्रमित बिरुवा, माटो, पानी र कृषि औजारबाट सङ्क्रमण फैलने गर्दछ । यसका साथै केरा बोक्ने गाडीको टायर, जुत्ता, चप्पलमा टाँसिएको माटोमार्फत एक खेतबाट अर्को खेतमा रोगको सङ्क्रमण सर्ने सम्भावना रहेको घिमिरेले बताए ।

सङ्क्रमित माटो, पानी र औजार रोगका प्रमुख स्रोत रहेको उनको भनाइ थियो । भारतबाट आउने केराका गाडी रोग सार्ने प्रमुख स्रोत रहेकाले अहिले भन्सार विन्दुमै कडाइ गरिएको प्रमुख घिमिरेले बताए । “हामीले केराका कोसाबाहेक अन्य कुनै पनि वस्तु केराका गाडीमा ल्याउन दिँदैनौँ”, उनले भने, “टिआर–४ केराका कोसाबाट सर्दैन, कोसा सुरक्षित गरी ल्याएकालाई मात्रै क्वारेन्टाइन गर्ने गरेका छौँ ।”

केरा लोड गरी आएका गाडीलाई भन्सार परिसरमै उनीहरुको टायर सफा गर्ने र कतै माटो नरहेको सुनिश्चित गरेपछि पठाउने गरिएको घिमिरेले बताए । “यो सबै काम प्लाण्ट क्वारेन्टाइन कार्यालयले गर्ने गरेको छ”, उनले भने, “भारतबाट कुनै पनि प्रकारको केराको बेर्ना ल्याउन निषेध गरिएको छ ।” भैरहवा भन्सार नाका भारतीय केरा आयात गर्ने मुख्य भन्सारको रुपमा रहेको छ । यस नाको हुँदै भारतका अधिकांश स्थानबाट केरा नेपाल आउने गरेको छ ।

आव २०७९/८० मा भैरहवा भन्सार हुँदै रू एक अर्ब पाँच करोड ९७ लाख ३३ हजार मूल्य बराबरको ३७ हजार छ सय ३८ मेट्रिक टन केरा आयात भएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी नारायणदत्त जोशीले जानकारी दिए । उनका अनुसार चालु आवको भदौ महिनाभित्र रू १९ करोड ४६ लाख ३५ हजार मूल्य बराबरको चार हजार छ सय १९ मेट्रिक टन केरा आयात भएको छ ।

रुपन्देही र नवलपरासी पश्चिममा केरा खेती ठूलो मात्रामा गरिएकाले पनि रोग भित्रिन नदिन सिमामा कडाइ गरिएको जोशीले बताए । नवलपरासी पश्चिममा केरा खेतीको लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले केरा जोन निर्धारण गरेको छ । परियोजना कार्यान्वयन एकाइ भैरहवाका प्रमुख नारायण काफ्लेका अनुसार नवलपरासीमा मात्र एक हजार एक सय ५० हेक्टरमा केरा खेती गरिएको छ । रुपन्देहीमा दुई सय ८० हेक्टरमा केरा खेती गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख अर्यालले जानकारी दिए ।

“अहिले खेती गरिएका सबै जी–नाइन प्रजातीका केरा हुन्, यिनीहरु टिआर–४ सँग लड्न सक्दैनन्”, उनले भने, “लुम्बिनी प्रदेश पानामा सङ्क्रमणको अत्याधिक जोखिममा देखिएकाले सतर्कता अपनाउन आवश्यक छ ।” केरा जोन नवलपरासी पश्चिमको प्रतापपुरमा यही रोगसँग मिल्दोजुल्दो लक्षणका केराका बोट देखिएका काफ्लेले बताए ।

उनले उक्त रोग टिआर–४ वा अन्य भएको विषयमा अनुसन्धानका लागि राष्ट्रिय बाली रोग अनुसन्धान प्रयोगशालामा नमूना पठाइएको जानकारी दिए । प्रयोगशालाबाट नतिजा आई नसकेकाले परियोजना सतर्क अवस्थामा रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ४ : १७ बजे

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा