फेरिए बाबुराम ! माओवादी-नेसपा एकता वैशाखमा « Khabarhub

फेरिए बाबुराम ! माओवादी-नेसपा एकता वैशाखमा


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पार्टीभित्रको दबाव थेग्न नसकेपछि नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई अन्ततः माओवादी केन्द्रसँग पार्टी एकता गर्न सहमत भएका छन् । लामो समयदेखि पार्टी एकतालाई टार्दै आएका भट्टराईले वार्ता समिति भंग गर्नुका साथै केन्द्रीय समिति भंग गरेर महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव कार्यकारिणी बैठकमा समेत राखेका थिए ।

तर, अर्का अध्यक्ष महिन्द्रराय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठलगायतका नेताहरु एकता गर्ने पक्षमा उभिएपछि भट्टराई दबाबमा परेका हुन् । बुधबार बसेको नेसपाको केन्द्रीय समिति बैठकले अध्यक्ष भट्टराईको नेतृत्वमा एकता संयोजन समिति समेत गठन गरेको छ ।

बैठकले अध्यक्ष भट्टराईको संयोजकत्वमा अर्का अध्यक्ष महिन्द्र राय यादव, सहध्यक्ष गंगानारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव, महासचिव रमेशप्रसाद यादव, कार्यकारिणी सदस्य जनकराज शाह रहने समिति बनाउने निर्णय गरेको हो ।

किन फेरिए भट्टराई ?

प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार डा. भट्टराईलाई बोलाएर आफूहरुकै नेतृत्वमा पार्टी एकता समायोजन समिति बनाउन प्रस्ताव गरेका थिए । लामो समय संवादहीनतामा रहेका दाहाल र भट्टराईको सो भेटले एकताका लागि जोडबल गर्न दुबै पार्टीका नेताहरुलाई सहयोग पुगेको थियो ।

चुनावपछि चिस्सिएको सम्बन्ध सुधार हुन नसक्दा माओवादी अध्यक्ष दाहाल भट्टराईबिनै पनि नेसपासँग एकता गर्ने मनसायमा थिए । भट्टराईबाहेक नेसपासँग एकता गर्दा पार्टीभित्रको शक्ति सन्तुलन मिलाउन पनि सहज हुने भएकाले दाहाल उनलाई रोकेरै भए पनि एकता गर्ने मुडमा देखिन्थे ।

नेसपा स्रोतका अनुसार माओवादीको दोस्रो तहका नेताहरु भट्टराईलाई पार्टीमा उचित स्थान दिएर एकता गर्ने गरी गृहकार्यमा लागेका थिए । तर, भट्टराईको आगमनले अन्य नेताहरुको व्यवस्थापनमा समस्या देखिने भएपछि अध्यक्ष दाहालले भट्टराई बाहेकको एकता गर्न रुची देखाएका थिए ।

भट्टराईसहितको एकताले माओवादीलाई पुरानै स्थितीमा पुर्याउन सकिने आशा बोकेका माओवादी दोस्रो तहका नेता भने जसरी पनि उनलाई माओवादीमा ल्याउनुपर्ने पक्षमा देखिए ।

माओवादी केन्द्रका एक नेताका अनुसार बाबुराम माओवादीमा फर्किँदा आम कार्यकर्तामा माओवादीप्रतिको विश्वास कायम राख्न सकिने भए पनि पार्टीभित्रको सन्तुलन बिग्रिने भयका कारण अध्यक्ष दाहालले यसमा रुची देखाएका थिएनन् ।

नेसपाको पनि अर्का अध्यक्ष महिन्द्र राय यादव, सहध्यक्ष गंगानारायण श्रेष्ठ माओवादीसँग एकता गर्न सहमत भए पनि तत्काल बाबुरामलाई छोडेर एकता गर्न नसक्ने बताउँदै आएका थिए ।

शान्ति सम्झौता भएको १७ वर्ष पुगेको अवसरमा पार्टी एकता गरेर सन्देश दिन खोजेका माओवादी अध्यक्ष दाहालले अन्तिमसम्म प्रयास गर्दा पनि बाबुराम बाहेक नेसपाका नेतालाई माओवादी भित्र्याउने प्रयासमा असफल भएपछि आफैं अग्रसर भएर बाबुरामसँग छलफलमा जुटेको नेताहरुको भनाइ छ ।

बालुवाटारमा भएको भेटमा दाहालले आफूहरुकै नेतृत्वमा समायोजन समिति बनाउने प्रस्ताव गरेका थिए । दाहालको प्रस्तावमा तत्काल सहमति नजनाएका बाबुरामले पार्टीभित्र एकता पक्षधर नेताहरुको समायोजन समिति बनाउने निर्णय नगर्ने भए केन्द्रीय समितिमै नआउने चेतावनीपछि सो समिति बनाउन तयार देखिएका हुन् ।

बाबुरामलाई समायोजन समिति बनाउने निर्णय गराउन नेसपाका नेताहरु सोमबारदेखि निरन्तर छलफल र संवादमा जुटेका थिए ।

अब के हुन्छ ?

अब माओवादीले पनि अध्यक्ष दाहालको नेतृत्वमा पार्टी एकता समायोजन समिति बनाउने छ । समायोजन समितिबीच वैचारिक तथा नीतिगत विषयमा छलफल हुनेछ । माओवादीले विशेष महाधिवेशन गरेर पार्टीको नाम परिर्वतन गरेपछि मात्रै दुई पार्टीको एकता हुने बताइएको छ ।

यता, नेसपाले पनि संगठन निर्माण तथा बिस्तार अभियानको समयावधि २ महिना थप गरी फागुन मसान्तसम्म पुर्‍याउने निर्णय गरेको छ । अभियानका क्रममा सबै स्थानीय तहहरूको बैठक, समिति गठन र पुनर्गठन पुस मसान्तसम्म गरिसक्ने निर्णय गरेको छ ।

त्यसअघि मङ्सिर-पुसमा वडा र पालिकाहरूको भेला, सम्मेलन सम्पन्न गर्ने उसले जनाएको छ । माघ-फागुनमा प्रदेशको सम्मेलन सम्पन्न गर्ने र बैशाखमा राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने नेसपाको तयारी छ ।

नेताहरुका अनुसार आउँदो बैशाखसम्म माओवादीको विशेष महाधिवेशन र नेसपाको राष्ट्रिय सम्मेलन हुनेछ । त्यसपछि दुई पार्टीबिच एकता हुनेछ । त्यसअघि दुबै पार्टीको एकता समायोजन समिति बैठक बस्ने र आवश्यक निर्णय गर्ने तयारी रहेको नेसपाका नेताको भनाइ छ ।

यो पनि…..

 

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ७ : ५७ बजे

रास्वपा महाधिवेशन : हातमा चिट बोक्न नपाइने, नत्र उम्मेदवारी खारेज हुने

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा कुनै पनि उम्मेदवारको नामको

रास्वपा महाधिवेशन : प्रधानमन्त्रीसहित सरकारका मन्त्रीहरू चितवनमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाहसहित सरकारका

रास्वपा महाधिवेशन : डा. तोशिमाको संयोजकमा स्वास्थ्य डेक्स स्थापना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा डाक्टर तोशिमा कार्कीको संयोजकत्वमा

रास्वपा महाधिवेशन : उद्घाटन कार्यक्रम अघि सेना र पुलिसको बम स्क्वाडबाट चेकजाँच

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा तालिम प्राप्त कुकुरहरूबाट महाधिवेशनको

रास्वपा महाधिवेशनमा मोही बाँड्दा कार्यकर्ताको हरालुछ तस्बिरहरू)

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनस्थलमा