आहा डल्फिन उफ्रँदै गरेको हेर्न क्या मज्जा ! « Khabarhub

आहा डल्फिन उफ्रँदै गरेको हेर्न क्या मज्जा !


६ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

टीकापुर- कैलालीको लम्कीचुहाका हरि सुनार डल्फिन हेर्न कैलालीको टीकापुरस्थित वडा नं ७ बैदी ढुङ्गानाटोलमा पुगे । साथीसहित बैदीस्थित मोहना, पथरैया र काँडा नदीको सङ्गममा पुगेका उनले डल्फिन उफ्रेको हेरेर आनन्द लिए । बर्खा लागेपछि कैलालीको टीकापुर–७ स्थित मोहना, पथरैया र काँडा नदीको सङ्गममा दैनिक डल्फिन देखापरिरहेका छन् ।

नदीमा साँझ र बिहानको समयमा साना र ठूला डल्फिन देखिने गरेका छन् । “नदीमा पानीको बहाव बढेको छ । डल्फिन उफ्रँदै रमाइरहेका देख्यौँ”, सुनारले भने, “डल्फिन बडो आनन्दले रमाउने रहेछन्, नदी किनारमा बसेर करिब एक घण्टा बच्चासहित डल्फिन नाचेको हेर्यौँ, आनन्द लाग्यो ।”

बर्खाको यो समयमा ढुङ्गानाटोलमा दैनिक सर्वसाधारण डल्फिन हेर्नकै लागि आउने गरेका छन् । डल्फिन अवलोकन गर्न स्वदेशीदेखि विदेशी नागरिकसमेत आउने गरेका स्थानीय संरक्षणकर्मी बताउँछन् । हरेक वर्ष विदेशी पर्यटक पनि डल्फिन हेर्नका लागि यहाँ आउने गरेका डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गानाले बताए । “विदेशी नागरिकले हप्तौँसम्म बसेर डल्फिनबारे अध्ययन गर्ने गरेका छन्”, उनले भने, “नेपालका विभिन्न जिल्लाबाट समेत सर्वसाधारण आउने गरेका छन् । डल्फिन अवलोकनका लागि यहाँ भ्यूटावर र प्रतिक्षालय बनाइएको छ ।”

डल्फिन अवलोकन क्षेत्रसम्म जाने सडकलगायतका पूर्वाधार स्थानीय सरकारले निर्माण गरिदिएको छ । बर्खामा डल्फिन बढी देखिने भएकाले संरक्षण नेपालले सप्ताहव्यापी प्रचार–प्रसारका लागि कार्यक्रम गर्ने भएको छ । “डल्फिनको संरक्षण, प्रवर्द्धन, प्रचार तथा पर्यापर्यटनसँगै स्थानीय क्षेत्रको विकासका लागि सप्ताहव्यापी कार्यक्रम गर्न थालेका छौँ”, ढुङ्गाना भन्छन्, “स्थानीय समुदायलाई डल्फिन संरक्षणमा उत्प्रेरणासँगै अन्य जलप्राणीबारेमा जानकारी दिन थालेका छौँ । डल्फिनमात्र होइन अन्य जलचरको पनि संरक्षण आवश्यक छ ।”

भदौ दोस्रो सातादेखि सप्ताहव्यापी कार्यक्रम हुँदैछन् । बर्खामा याममा देखापर्दै आएका डल्फिन संरक्षण, प्रवर्द्धन, प्रचार आवश्यक रहेको स्थानीय संरक्षणकर्मी जयप्रसाद ढुङ्गानाको भनाइ छ । “हामीले पछिल्ला केही वर्षयता डल्फिन देखापर्ने यही समयमा संरक्षणका क्षेत्रमा जनचेतना जगाउने गरेका छौँ”, उनले भने, “हामीले डल्फिन क्षेत्रमा माछा मार्न निषेध गरेका छौँ, माछा मारेमा कारबाही गर्ने गरिएको छ ।”

यस वर्ष वर्षात् ढिलो हुँदा असार १६ गते पहिलोपटक चारवटा डलिफन देखापरेका थिए । गत वर्ष जेठ मसान्तमै डल्फिन देखिएका थिए । नदीमा पानीको बहाव बढी भएमा डल्फिन देखिने गरेका स्थानीय बताउँछन् । “कैलालीका मोहना, पथरैया, काँडा, कान्द्रा नदीमा डल्फिन देखिन्छन्, जैविक विविधताको संरक्षण, जलचर संरक्षणका लागि स्थानीय सजग हुन आवश्यक छ”, स्थानीय कृष्णा चौधरी भन्छन्, “यहाँ मगर गोही पनि त्यत्तिकै मात्रामा पाइन्छन्, पर्यापर्यटनका हिसाबले पनि डल्फिनलगायतका जलचर संरक्षण आवश्यक छ ।”

डल्फिन हेर्नका लागि टाढा–टाढाबाट सर्वसाधारण आउने गरेका छन् । विगत लामो समयदेखि टीकापुर र भजनीका स्थानीय डल्फिन संरक्षणमा जुटेका छन् । स्थानीयकै पहलमा दर्जनौँ स्थानमा डल्फिन संरक्षण केन्द्र स्थापना गरिएका छन् । स्थानीयकै पहलमा २०५६ सालदेखि डल्फिन संरक्षण अभियान थालिएको हो । कैलालीका नदीमा ग्याँगेटिक जातको डल्फिन पाइन्छ । यो जातको डल्फिन नेपालका साथै भारत, पाकिस्तान र बङ्गलादेशमा मात्रै पाइने गरेको संरक्षणकर्मी बताउँछन् । यो मांसाहारी प्राणी भएकाले यसले मुख्य आहराका रूपमा माछा, घोँगीलगायत खान्छ ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  १२ : १७ बजे

तनहुँ जिल्ला प्रशासनबाट तीन महिनामा ४३४ गुनासा फर्स्योट

तनहुँ– जिल्ला प्रशासन कार्यालयले तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा

पोखरा महानगरले मुख्य सडक क्षेत्र वरपरका ‘वर्कसप’ हटाउँदै

कास्की– पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेजलगायत संरचना

बाढीले क्षति पुर्‍याएकाे तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

काभ्रे– जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीमा रहेको तीनतले

एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै 

काठमाडौं– नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश देशैभर प्रवाह

दरवाङ–मुना–ढोरपाटन सडक : धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति