महेश बस्नेत र दुर्गा प्रसाईंको शक्ति : तीनकुनेमा २ हजार, बल्खुमा कति ? | Khabarhub Khabarhub

महेश बस्नेत र दुर्गा प्रसाईंको शक्ति : तीनकुनेमा २ हजार, बल्खुमा कति ?


७ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


20.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विहीबार राजधानीमा आयोजित प्रदर्शनमा महेश बस्नेतले धेरै मानिस जम्मा पार्लान् या दुर्गा प्रसाईंले ? यो प्रश्न धेरैको मनमा थियो । यही हिसाब निकाल्न खबरहबको टोली दिउँसो १ बजेतिर काठमाडौंको तीनकुने पुग्यो । जहाँ युवा संघका नेताहरु चर्को भाषण गरिरहेका थिए । भाषणमा उनीहरुले दुर्गा प्रसाईँलाई गाली गरिरहेका थिए ।

प्रहरीले बानेश्वरबाट तीनकुनेतर्फ गाडी अगाडि बढ्न नदेला कि भन्ने डर थियो । तर, त्यहाँ गाडी र मोटरसाइकल निर्वाध चलिरहेका भेटिए । कोटेश्वरबाट बानेश्वरतिर आवत–जावत गर्ने बाटो खाली थियो । कोटेश्वरबाट एयरपोर्टतिर जाने रिङरोड पनि खाली नै थियो । भीडका कारण गाडीको आवागमन रोकिएको होला भन्ने हाम्रो अनुमान फेल खायो । तीनकुनेको एउटा कुनो मात्रै युवासंघले ‘अकुपाई’ गरेको थियो ।

यहाँ कति मानिस होलान् ? हामीले केही सहभागीलाई प्रश्न गर्‍यौं । उनीहरुले १५ सयदेखि २ हजारसम्म हुन सक्ने हिसाब सुनाए । कसै–कसैले ४-५ हजार त होलान् भने । नेताहरुचाहिँ बीसौं हजारको उपस्थिति रहेको भन्दै मिडियालाई अन्तरवार्ता दिँदै गरेका देखिन्थे । हामीले घरको छतबाट पनि तस्बिर खिच्यौं । तीनकुनेको एउटा कुनामा सीमित युवा संघको प्रदर्शनमा २ हजारको हाराहारीमा उपस्थिति थियो भन्दा अन्याय नहुने धेरै प्रत्यक्षदर्शीको विश्लेषण सुनियो ।

हुन त यसअघि खबरहबसँगैको अन्तरवार्तामा एमाले नेता महेश बस्नेतले आफ्नो कार्यक्रममा कम्तिमा १५ हजारको उपस्थिति रहने दाबी गरेका थिए । उनले दुर्गा प्रसाईको कार्यक्रममा मुस्किलले २ हजारको उपस्थिति रहने विश्लेषण सुनाएका थिए । ५० हजार नागरिक उपस्थित गराउँछु भन्ने दुर्गा प्रसाईको बेलुन मंसिर ७ गतेदेखि फुट्ने एमाले नेता बस्नेतले बताएका थिए । तर, विहीबार तीनकुनेको उपस्थिति हेर्दा बस्नेत आफैंले २ हजारभन्दा बढीको उपस्थिति गराउन नसकेको देखियो ।

एमालेको प्रदर्शनस्थलमा शान्ति सुरक्षाको स्थिति राम्रो थियो । प्रहरीले एमालेका नेता कार्यकर्तालाई पानीका फोहोरा हानेन । लाठी चार्ज पनि गरेन र अश्रुग्यासका सेलहरु पनि प्रहार गरेन । प्रशासनले तोकेको ठाउँमा भेला हुन आउने एमाले कार्यकर्तालाई प्रहरीले गौंडा–गौंडामा रोकेर राखेन । सडकमा डिभाइडरहरु राखेर, सशस्त्र प्रहरीको बार लगाएर छेकेन । तीनकुनेमा शान्ति थियो । गाडीहरु पनि चलिरहेका थिए । भाषण पनि चलिरहेको थियो । प्रहरी पनि थोरै परिचालन गरिएको थियो । तर, बल्खुमा राजावादीहरुको कार्यक्रममा भने गृह प्रशासनले फरक व्यवहार गरेको देखियो ।

बल्खु चोकमा कार्यक्रम गर्न दिने भनिए पनि प्रहरीले सानेपा र कलंकी साइडबाट आउने प्रदर्शनकारीलाई बीचमै रोकेर एकै ठाउँ भेला हुन दिएन । कालीमाटीतिरबाट गएको भीडलाई पनि कार्यक्रमस्थलमा जान नदिई प्रहरीले गौंडा-गौंडामा छेकेर राखेको देखियो । तोकिएको कार्यक्रमस्थलमा एकत्रित हुन खोज्दा प्रहरीले राजावादीहरुलाई पानीको फोहोरा प्रहार गर्‍यो । अश्रुग्यास हान्यो । लाठीचार्ज गरेर घाइते बनायो । प्रदर्शनकारीहरुले पनि जवाफमा ईंटा र ढुंगा प्रहार गर्दा बल्खु क्षेत्र दिउँसो केहीबेर तनावग्रस्त बन्यो ।

कार्यक्रमको सुरुमै बल्खुमा केहीबेर झडप भएको थियो, जसमा ढुंगा प्रहार गर्नेहरुका साथमा युवा संघको झण्डा र टोपी देखिन्थ्यो । केही मोडरसाइकलहरु सडकमा लडेका देखिन्थे । युवा संघ र प्रसाईका कार्यकर्ता दुबैतर्फबाट झडप र हानाहान भएको थियो ।

प्रहरीले तीनवटा घेरामा प्रदर्शनकारीहरुलाई छेकेका कारण दुई बजेदेखि ४ बजेसम्म दुर्गा प्रसाईं गाडीभित्रै बसे । ४ बजेपछि कारबाट निस्किए र मिनी ट्रकमाथि चढे । अनि छोटो भाषण गरेर बालकोटस्थित निवासमा पत्रकार सम्मेलन गरिने जानकारी गराए । प्रसाई बोल्ने बेलासम्म अधिकांश प्रदर्शनकारीहरु फर्किन थालिसकेका थिए । कतिपय चाहिँ सडकमै बसेर काँक्रा र बदाम खाइरहेका थिए ।

प्रसाईको कार्यक्रममा कति मानिस सहभागी थिए भनेर ठ्याक्कै अनुमान लगाउन गाह्रो छ । भीड एकै ठाउँमा जम्मा हुन पाएन । तर, महेश बस्नेतको भन्दा दुर्गा प्रसाईंको कार्यक्रममा चौबर बढी उपस्थिति देखिएको प्रत्यक्षदर्शीहरुको आँकलन छ । सरकारले अकारण प्रदर्शनकारीलाई तितर–वितर नबनाई एकै ठाउँमा भेला भएर कार्यक्रम गर्न दिएको भए शायद उपस्थितिको यकिन संख्या अनुमान गर्न सकिन्थ्यो ।

प्रसाईको कार्यक्रममा मानिसहरु स्वतस्फूर्तः सहभागी भएको जस्तो देखिन्थ्यो भने बस्नेतको कार्यक्रममा रातोटोपी लगाउने कार्यकर्ता तहको उपस्थिति थियो ।

प्रसाईको कार्यक्रममा किशोर, युवा र वृद्ध सबै पुस्ताको उपस्थिति देखिएको थियो । गाउँले र शहरी दुबै ठाउँका मानिसहरु छासमिस देखिन्थे । तर, कार्यक्रमका नाराहरु भने उत्तेजक थिए । ‘प्रचण्डलाई छप्काइदे’ भन्ने सम्मका नाराहरु सुनिएका थिए ।

सडकमा उपस्थिति ठुलै देखिए पनि ४ बजेसम्म प्रसाईका आयोजकहरुसँग भाषण गर्नका लागि साउण्ड बक्स र माइक थिएन । सडकमा उत्रेर प्रदर्शनकारीलाई हौसला दिनुको साटो दुर्गा प्रसाई कालो सिसा भएको गाडीभित्र लुकेर बसेका थिए । जतिबेला सडकमा निस्केर भाषण गर्नुपथ्र्यो, उनी गाडीभित्रै बसे । जतिखेर ट्रकमा चढेर बोल्न थाले, अधिकांश मानिस हिँडिसकेका थिए । भाषणमा पनि प्रसाईले जनसमूहलाई खासै अपील गरेनन् । सिंहदरबार र संसद कब्जा गर्नेजस्ता पुरानै कुरा सुनाएर पठाए ।

प्रसाईंको प्रस्तुतीले सडकलाई भन्दा आफ्नै निवासको पत्रकार सम्मेलनलाई बढी महत्व दिएजस्तो देखियो । एक प्रकारले भन्ने हो भने उनी डराएजसरी प्रस्तुत भए । आफ्ना समर्थकसमक्ष निस्कनुको साटो उनी राजा महाराजा जसरी कालो गगल्स लगाएका ‘बाउन्सर’ जस्ता लाग्ने युवाहरुबाट घेरिएर प्रस्तुत भएका थिए । उनी आफैंले पनि मञ्चमा उक्लने बेला कालो चश्मा लगाएका थिए ।

प्रसाईको कार्यक्रमसँगै उनको पक्षमा केही न केही जनमत बढेको देखाएको छ । तर, उनले अहिलेसम्म कुनै पार्टी गठन गरेका छैनन् । राजा फर्काउने अभियान भनिए पनि आन्दोलनको नेतृत्व सामहिक नभएर व्यक्ति आफैंलाई देवत्वकरण गर्ने किसिमको मात्रै छ । राजतन्त्रवादी राप्रपासँग कस्तो सम्बन्ध रहने ? प्रसाईले यसबारे प्रष्ट पारेका छैनन् । विहीबारको कार्यक्रममा पनि उनले यी विषयलाई प्रष्ट्याएनन् ।

त्यसैगरी महेश बस्नेतको फितलो प्रदर्शनले एमालेलाई प्रसाईभन्दा कमजोरजस्तो देखाइदिएको छ । सात गतेपछि दुर्गा प्रसाईंको बेलुन फुट्ने बताएका बस्नेतको आफ्नै बेलुन फुटेको त होइन ? यसबारे विश्लेषण हुँदै जाला । तर, बस्नेतको कार्यक्रममा भन्दा प्रसाईको कार्यक्रममा चौबर बढी उपस्थिति रहेको चाहिँ विहीबार प्रष्टै देखियो ।

प्रसाईंको कार्यक्रममा सहभागीहरुमाथि अनावश्यक बल प्रयोग गरेर सरकारले पनि आफ्नो अलोकतान्त्रिक चरित्रलाई उदांगो बनाएको छ । सरकारले तीनकुने र बल्खुमा पूर्वाग्रही व्यवहार देखाएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार  ७ : २० बजे

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक बस्दैछ। बैठक दिउँसो सवा १

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं- नेपाली कांग्रेसले आज बिहान बस्ने गरि संसदीय कार्यसमिति र

जबरजस्ती करणीको जाहेरी परेपछि फरार एमाले नेता विदुर शर्मा

काठमाडौं– नेकपा एमाले दोलखाका नेता विदुर शर्मा फरार भएका छन्।

विश्वकपअघि नेपालले अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने

काठमाडौं– नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग अभ्यास खेल

देशका केही स्थानमा हावा हुरीसहित वर्षाको सम्भावना

काठमाडौं–  हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव