घरेलु सीप बजारमा नबिक्दा चिन्तित | Khabarhub Khabarhub

घरेलु सीप बजारमा नबिक्दा चिन्तित


११ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

गलेश्वर– बागलुङको अमलाचौरका टीका सुदारा काठको काम गर्ने सीपका धनी छन् । साठी वसन्त पार गरिसक्दा पनि उनले दारका ठेका–ठेकीलगायत अन्य घरायसी सामान बनाउँछन् । आफूले बनाएका कलात्मक ठेका-ठेकी बिक्री गर्न उनी माघेसङ्क्रान्ति मेला एवं सातौँं म्याग्दी महोत्सव बेनीमा पुगेका थिए । केहीदिनसम्म मेलामा बस्दा दुई जोडी ठेकाठेकी मात्र बिक्री भएपछि उनी गाउँ फर्किए ।

त्यस्तै, म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लीका सम्मरबहादुर बिक बाँस र निगालाको चोयाँबाट कृषि घरेलु सामग्री बनाउछन् । ६५ वर्षसम्म डोका, डाला, थुन्से, भकारी, मान्द्रलगायतका सामग्री बनाएर छ जनाको परिवारको खर्च चलेको थियो । तर अहिले रैथाने सीपबाट बनेका सामाग्री बजारमा खपत हुन छाडेका छन् । प्लास्टिकका आयातित सामाग्री सस्तोमा उपलब्ध हुने भएपछि हस्तकलाबाट निर्मित सामाग्रीको बिक्री रोकिएको हो ।

‘हामीसँग सीप छ, तर सीपको सम्मान छैन् । सीप प्रयोग गरेर बनाइएका सामग्री बिक्री गर्ने ठाउँ छैन’, सम्मरबहादुरले भने । पहिले घरखर्च गर्न समस्या नभएको तर अहिले आम्दानीको स्रोत नभएपछि ऋण गरेर खर्च गर्नुपर्ने उनले बताए । प्लास्टिकका सामग्रीको प्रयोग बढेपछि आफ्नो सीप थला परेको उनको भनाइ छ ।

गलमा खेर गइरहेका काठ र बाँसको चोया आफ्नो सीपको प्रयोग गरी कृषि र घरायसी सामाग्रीहरू बनाउँदै आएका कैयौँ व्यक्तिहरूको पेशा संकटमा परेको बेनी नगरपालिका-२ का वडाअध्यक्ष यामबहादुर कार्कीले बताए । स्थानीय तहले स्थानीय उत्पादन र सीपलाई प्रोत्साहन गर्ने बताएपनि व्यवहारमा लागू हुन नसकेको स्थानीयको गुनासो छ ।

‘काम गर भनेर रकम सहयोग गरेर मात्र हुँदैन, हामीले उत्पादन गरेका कृषि उपज र सामाग्रीहरूको बजारीकरणको जिम्मा स्थानीय सरकारले लिनुपर्छ’ तरकारी खेतीसँगै चोयाँका सामाग्री बनाउँदै आएका मालिका गाउँपालिका-५ का सुनबहादुर बूढाले भने । हातमा अन्य काम गर्ने  सीप नभएका र उमेर बढी भएका जेष्ठ नागरिक आफ्नो सीप उपेक्षित हुन थालेपछि चिन्तित छन् । 

‘आफूले जानेको सीपबाट गुजारा चलेको थियो, तर अहिले सीप पनि हेंला हुन थाल्यो, बुढ्यौली पनि लाग्यो’, भकिम्लीका ६४ वर्षीय तेजबहादुर पुनले भने । पाँच वर्ष अघिसम्म दिनमा २ वटासम्म डोका बुन्ने गरेका पुन अहिले एक सातामा दुई-तीनवटा मात्र बुन्छन्। 

केही वर्ष अघिसम्म हस्तकलाका सामाग्री बेचेर मासिक १० देखि १५ हजारसम्म आम्दानी गर्ने यहाँका पाका उमेरका केही व्यक्तिहरू अहिले आफूले बुनेका सामाग्री सिकुवा वा गोठमा थन्किएका बताउँछन् । सीप पुस्तान्तरण भएन भनेर चिन्ता भन्दा अहिलेको अवस्थामा सीप प्रयोगहीन भएकामा चिन्ता छ उनीहरूलाई ।

‘हामीले जानेको सीप छोरा नातिले सिकेर के गर्नु रु सामान  नै विक्री नभएपछि सीप छ भनेर मात्रै खान पाइँदैन, छोरा नातिलाई खाडीतिरै पठाउनुको विकल्प छैन्’, बेनी नगरपालिका-२ का भीमबहादुर विकले भने ।

प्लाष्टिकका सामाग्रीको बढ्दो प्रयोग र परम्परागत सीपबाट सामग्री बनाउने पेसा अँगाल्ने जनशक्तिको कमीका कारणले पनि यो व्यवसाय संकटमा परेको स्थानीय बताउँछन् ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ६ : २४ बजे

संविधानले सबै समुदायको उत्थानमा जोड दिएको छ : मुख्यमन्त्री महरा

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको

दक्षिण अफ्रिकाको राष्ट्रपतिमा रामाफोसा पुनः निर्वाचित

काठमाडौं– दक्षिण अफ्रिकाको राष्ट्रपतिमा सिरिल रामाफोसा पुनः निर्वाचित भएका छन्

‘पार्टीको नीतिगत स्पष्टताका लागि काम सुरु गरौँ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य एवं युवा तथा खेलकुद

एमसीसी : रातमाटे सबस्टेसन निर्माणको ठेक्का सम्झौता

काठमाडौं– मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए–नेपाल)ले मिलेनियम च्यालेञ्ज

बागलुङमा दुई वर्षमा ४१ झोलुङ्गे पुल

बागलुङ– बागलुङमा पछिल्लो दुई वर्षमा ४१ वटा झोलुङ्गे पुल निर्माण